बारा । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१२ फत्तेपुरमा वैशाख १५ गते उपमहानगरले डोजर चलाउने भएको छ । जितपुरसिमरा उपमहानगरपालिकाले तीनपटक सूचना निकालेर फत्तेपुर बजारको सार्वजनिक जग्गामा बनाइएको घर, टहरा तथा पसल खाली गर्न अनुरोध गरेको थियो । तर, स्थानीयको अटेरीको कारण अहिलेसम्म बजारमा बनाइएका संरचना खाली गरिएको छैन ।
मंगलबार फत्तेपुर बजारमा भएको बैठकले वैशाख १५ गतेभित्र आआफ्नो घर, टहरा, पसल नहटाएमा उपमहानगरले डोजर चलाएर ती संरचना भत्काउने निर्णय गरिएको वडाध्यक्ष श्यामबाबु खाँले बताए । उनले भने, ‘हामीले पटकपटक वडाबाट सूचना जारी गरेर बजारको जग्गा खाली गर्न भनेका छौँ । तर, केही व्यक्तिले खाली गर्न नमानेपछि बजार व्यवस्थापनको काममा अवरुद्ध आएको हो’, उनले भने, ‘मंगलबार जितपुरसिमरा उपमहानगरपालिकाको नगरउपप्रमुख भोलाप्रसाद अधिकारीको रोहवरमा भएको छलफलमा स्थानीयले टहरा हटाउने सहमति गरेका छन् ।’
कृषि बजार (हाटबजार) लाई व्यवस्थित गर्ने र वडा कार्यालय भवन निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक जग्गामा बनाइएको टहरा हटाउन उपमहानगरले पहिलो चरणमा चैत १८ गते जीर्ण अवस्थामा रहेको घर र टहरामाथि डोजर चालाएको थियो । उपमहानगरले डोजर लगाएर घर र टहरा भत्काइरहेको बेला केही स्थानीयले विरोध गरेका थिए । साविक फत्तेपुर गाविस–३ हाल जितपुरसिमरा–१२ अन्तर्गत पर्ने कित्ता नं १७ को १८ कट्टा सार्वजनिक जग्गा २०२२ सालको नापीमा फिल्डबुकमा हाटबजार भनी उल्लेख छ ।
सो १८ कट्टा सार्वजनिक जग्गा मध्ये ६ कट्टा बजारमा प्रयोग भएको र बाँकी रहेको १२ कट्टा जग्गा व्यक्तिले घरटहरा बनाएर लामो समयदेखि भोगचलन गर्दै आइरहेका छन् । सो क्षेत्रलाई स्थानीय कृषि बजार सञ्चालन गर्ने गत आर्थिक वर्षमा उपमहानगरले ३५ लाख बजेट विनियोजन गरेको थियो । तर, सार्वजनिक जग्गा खाली गर्न नसकेपछि बजेट फिर्ता भयो ।
उपमहानगरले चालु आर्थिक वर्षका लागि पनि कृषि हाटबजार र वडा कार्यालयको भवन निमार्ण गर्न ९० लाख बजेट विनियोजन गरेको छ । मंगलबार भएको छलफलमा स्थानीयले एकैपटक सबै घर, टहरा र पसल हटाउन सहमति गरेका छन् । यदि वैशाख १४ सम्म आआफ्नो घरटहरा र पसल खाली नगरेमा उपमहानगरले सिधै डोजर लगाएर भत्काउने सहमति भएको उपमहानगर उपप्रमुख भोलाप्रसाद अधिकारीले बताए ।
उनले भने, ‘स्थानीयले सहमति गरेका छन्, सबै आआफ्नो सरसमान आफँै हटाउँछौँ भनेर । हामीले आश पनि गरेका छाँै, यदि आफैँले हटाउन अस्वीकार गरेमा र डोजर लगाएर संरचना हटाउने क्रममा कसैले अवरोध गरेमा प्रहरीको सहयोग लिएर वैशाख १५ गते डोजर लगाउनेछौँ ।’
फत्तेपुरका अधिकांश स्थानीय हाट बजार र वडा कार्यालय बनाउनुपर्ने अडानमा छ भने केही विकास विरोधी फत्तेपुरमा हाट बजार बन्न नदिने पक्षमा रहेका छन् । उपमहानगरले तीनपटक सूचना जारी गरेर सूचनाको म्याद सक्दासमेत डोजर लगाएर भत्काउन नसकेको संरचनामाथि के साँच्चिकै वैशाख १५ गते उपमहानगरले डोजर लगाएर संरचना भत्काउला त ! भन्ने प्रतीक्षामा स्थानीय बसेका छन् ।
बारा
प्रतिक्रिया