प्रदेश सांसद र गाउँपालिका अध्यक्षलाई सफाइ

हातहतियार वन्यजन्तु चोरी सिकारी प्रकरण

बारा । हातहतियारसहित वन्यजन्तु चोरी सिकारी घटनामा पर्सा राष्ट्रिय निकुञ्जले दुई जना प्रदेश सांसद र गाउँपालिका पूर्वअध्यक्षलाई सफाइ दिएको छ । २०७९ पुस ४ गते पर्सा राष्ट्रिय निकुञ्जबाट हातहतियारसहित वन्यजन्तु चोरी सिकारी घटनामा पाँच जनालाई नियन्त्रणमा लिएर निकुञ्जले सार्वजनिक गरेको थियो । हातहतियारसहित वन्यजन्तु चोरी सिकारी घटनामा दुई जना प्रदेश सांसदको संग्लनता रहेको देखिए पनि निकुञ्जले प्रदेश सांसद र गाउँपालिका अध्यक्षलाई के आधारमा सफाइ दियो भन्ने प्रश्न उठेको छ । पर्सा राष्ट्रिय निकुञ्जले पहुँच भएका मान्छेलाई सफाइ दिएर अन्य प्रतिवादीलाई कैद तथा जरिवानाको सजाय तोकेको स्थानीयको आरोप छ ।

पुस १७ गते निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाको एकल इजलासले बागमती प्रदेशका सांसद श्यामबहादुर खड्का, मधेस प्रदेशका सांसद एवं वर्तमान शिक्षामन्त्री प्रमोद जैसवाल र उनका भाइ सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जैसवाललाई सफाइ दिएको थियो ।
४८ जना प्रतिवादी भएको सो मुद्दामा निकुञ्जले दुई जना प्रदेश सांसद र पूर्वगाउँपालिका अध्यक्षलाई सफाइ दिएको समाचार बाहिरेसँगै ‘सानालाई ऐन ठूलालाई चैन’ भन्ने उखान सही सावित भएको देखिएको छ ।

पर्सा निकुञ्जभित्र हातहतियार र बन्दोबस्तीका सामानसहित गाडीको प्रयोग गरेर मध्यरातमा वन्यजन्तुको चोरी सिकारी भएको सो मुद्दामा तत्कालीन समयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले समेत अनुसन्धान गरेको थियो । सिआइबीले समेत अनुसन्धान गरेको मुद्दामा निकुञ्जले कुन ऐन र नियमको आधारमा प्रदेश सांसद र पूर्वगाउँपालिका अध्यक्षलाई मात्र सफाइ दियो भन्ने प्रश्नमा निकुञ्ज कार्यालयले जवाफ दिन सकेको छैन ।
२०७९ पुस ४ गते सो घटनामा निकुञ्जका सेना र वन्यजन्तु सिकारीबीच रातभर दोहोरो झडपसमेत भएको थियो । झडपको क्रममा वन्यजन्तु सिकारीहरू भागेर प्रदेश सांसद प्रमोदकुमार जैसवालको फार्म हाउसमा लुकेका थिए । पछि उनको फार्म हाउसमा खोजतलास गर्दा मारेर राखिएको अवस्थामा जरायो, नगद रकम र अन्य बन्दोबस्तीको सामान सेनाले बरामद गरेको थियो ।

यसका साथै वन्यजन्तु चोरी सिकारीमा प्रयोग भएको प्र २–०२–०३–००१ च ३०९० नम्बरको गाडी जैसवाल इन्टरप्राइजेजको नाममा रहेको निकुञ्जले जनाएको थियो । वन्यजन्तु मार्न प्रयोग भएको हतियार बागमती प्रदेशसभा सदस्य श्यामबहादुर खड्काको नाममा भेटिएको थियो । भेटिएका प्रमाणमा आधारमा प्रदेश सांसदको संलनता यस घटनामा देखिए पनि निकुञ्जले के का आधारमा सफाइ दियो भन्ने प्रश्न चारैतिर उठेको छ ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले दुई प्रदेश सांसद र गाउँपालिका पूर्वअध्यक्षको हकमा प्रमाण नपुगेकाले सफाइ दिएको बताएको छ । वन्यजन्तु चोरी तस्करीमा पर्सा ३ (क) का प्रदेशसभा सदस्य प्रमोद जैसवाल र उनका भाइ प्रदीप जैसवालको नाममा रहेको फार्म हाउस र गाडी प्रयोग भएको र उनको फार्म हाउसबाट जफत भएको जरायोको मासुसहित अन्य बन्दोबस्ती सामग्रीको हकमा प्रमाण नपुगेकाले सफाइ दिएको खतिवडाको भनाइ छ ।

प्रतिक्रिया