सर्वाधिक प्रदुषित सहर काठमाडौं

विगत तीन दिनदेखि राजधानी काठमाडौं उपत्यकाका अस्पताल क्लिनिक तथा औषधि पसलहरूमा भिड बढ्न थालेको छ । आँखा पोल्ने, टाउको दुख्ने, स्वास फेर्न गारो हुने, दम बढ्ने, रिंगटा लाग्ने, खोकी लाग्ने लगायतका समस्या लिएर बिरामी आउन थालेको चिकित्सकले जनाएका छन् । काठमाडौंको वायुमा अत्यधिक मात्रामा धुँवा, धुलो तथा कार्बन बढ्न थालेको र अक्सिजनको कमी भएकोले यो समस्या देखिएको चिकित्सकको भनाइ छ ।

अमेरिकी वैज्ञानिकको संस्था नासाको वातावरण अध्ययन इकाइले घना मानववस्ती भएका क्षेत्रमा सेटलाइटमार्फत निरन्तर वायुको गुणस्तर मापन गर्ने गरेको छ । गत आइतबार यता नेपालको राजधानी सहर काठमाडौंको वायु विश्वका अन्य सहरहरूको तुलनामा सबैभन्दा बढी प्रदुषित रहेको नासाको वातावरण अध्ययन विभागले जनाएको छ । काठमाडौं उपत्यकाका केही क्षेत्रको वायुको गुणस्तरले खतराको सीमा रेखा पार गरेको विज्ञहरूले जनाएका छन् । अहिले काठमाडौं उपत्यकाको वायु प्रदुषणले केही प्रतिशत जनसंख्यालाई मात्रै नभएर सबैलाई असर पु¥याएको विज्ञहरूले जनाएका छन् ।

विज्ञहरूका अनुसार घरबाहिर निस्कँदा आँखा पोल्ने, रिंगटा लाग्ने, थकान महसुस हुने समस्या आमकाठमाडौंबासीलाई छ । वायुमा अत्यधिक धुँवा मिसिएका कारण आँखा पोल्ने, खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने समस्या देखिएको हो । अत्यधिक धुँवा तथा धुलो मिसिएकोले काठमाडौंको हावामा अक्सिजनको मात्रा कमी भएको छ । हावामा अक्सिजनको मात्रा काम हुनासाथ टाउको दुख्ने, रिंगटा लाग्ने, थकान महसुस हुने समस्या बढ्छ ।

कचौरा आकारको भौगोलिक अवस्थिति, घनाआवादी, अत्यधिक यातायातका साधनले गर्दा राजधानी काठमाडौंको वायु प्रदुषित रहेको भन्दै वातावरणविदहरूले दशकौँदेखि सचेत गराउँदै आएका थिए । आकासबाट पानी परिरहने सिजनमा सहज हुने तर लगातार एक महिनाभन्दा लामो खडेरी पर्नासाथ समस्या उत्पन्न हुने अवस्था राजधानी काठमाडौंले विगतदेखि नै बेहोर्दै आएको हो । तर, पछिल्ला वर्षहरूमा भने धुलो तथा धुँवाको समस्यासमेत देखिएको छ । सडक तथा अन्य भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा जमिन खोतल्ने तर काम सम्पन्न नगर्ने विकृति बढेको छ ।

वर्षा याममा हिलो र हिउँद याममा धुलोको समस्या बेहोर्नुपर्नाको मख्य कारण यही हो । उदाहरणका लागि चक्रपथको कलंकीदेखि महाराजगन्ज सम्मको क्षेत्र बिस्तारका नाममा भत्काइएको छ । यो धुलोलाई यातायातका साधनहरूले सबैका घरघरमा पु¥याएका छन् । अर्को समस्या हो, ‘जंगलमा लागेको डँडेलो ।’ यतिबेला देशका करिब आठ सय वनजंगलमा डँडेलो लागिरहेको छ । त्यो धुँवाको असर राजधानी काठमाडौंमासमेत परेको छ । किनकी राजधानी काठमाडौंको भौगोलिक अवस्था यस्तो छ कि धुलो तथा धुँवा बोकेको हावा सजिलै प्रवेश गर्छ तर त्यस्तो हावा बाहिर जान सक्दैन ।

पछिल्लो समयमा विकराल बने पनि यो समस्या बर्षौंदेखिको हो । तर, समाधानको उपाय अहिलेसम्म अवलम्वन गरिएको छैन । पानी नपर्दासम्म यस्तै भइरहने र पानी परेपछि समस्या स्वतः समाधान हुने तर्क दिएर सरकारमा रहनेहरू उम्कने गरेका छन् । जंगलमा लागेको डँडेलोबाट आउने धुँवाको समस्या समाधान सहज नभए पनि यातायातका साधनबाट निस्कने धुँवाको समस्या समाधान गर्न सकिन्छ । धुलोको समस्या समाधान गर्न गारो छैन । तर, हाम्रो देशका नीति निर्माणतहमा रहनेहरूसँग इच्छाशक्ति देखिन्न ।

वर्षका १२ महिनामध्ये सबैभन्दा धेरै विदेशी पर्यटक भित्रिने भनेको फागुन–चैत महिनामा हो । तर, यी महिनामा काठमाडौंको वायुप्रदुषण खतराको तहभन्दा पनि माथि हुने गरेको भन्दै अन्तर्राष्ट्रिय निकायहरूले सूचना प्रवाह गर्ने गरेका छन् । जसका कारण पर्यटन व्यवसायमा चौपट हुने संभावना बढेको छ । किनकी शरीरमा रोग प्रवेश गराउन कोही पनि नेपाल आउँदैन । वायु प्रदुषणका कारण उत्पन्न समस्याले रोग निम्त्याउने र रोगको उपचारका लागि ठूलो धनराशि खर्च हुने अवस्था छ । प्रदुषण नियन्त्रणमा लागि आवश्यक बजेट विनियोजन गर्नु जरुरी छ ।

प्रतिक्रिया