इदको लागि किनेको सामग्री जल्यो, बिचल्लीमा परे मनिफ

पर्सा । पर्साको धोबिनी गाउँपालिका– ३ ठूलो गुलरियामा गए राति भएको आगलगीमा मुस्लिमहरुको इद पर्वको लागि खरिद गरिएको सामग्री जलेर नष्ट भएको छ । इद पर्वमा लगाउने कपडा र प्रयोग हुने सामानहरु जलेर नष्ट भएको अग्नी पीडित मनिफ मियाँले दुखेसो पोखेका छन् ।

‘अल्लाह भगवानले मेरो सबै छिनेर मलाई घरको न घाटको बनाउनु भएको छ’, उनले भने । उक्त आगलगीमा परेर आफ्नो घरसहित अन्न, लत्ताकपडा, भाँडाकुँडा, गरगहना, नगद र इद पर्वको लागि खरिद गरिएको सामानहरु जलेर नष्ट भएको पीडित मनिफले सुनाए । ‘अहिले मेरो हातमा इद मनाउनको लागि केही छैन, भगवानको के बिगारेको थिएँ र एकै रातमा मेरो सपना चकनाचुर गरिदिनुभएको छ’, उनले भने ।

अग्नी पीडित मियाँकी श्रीमती फुलगेनिया खातुनले भनिन्, ‘इद हाम्रो मुस्लिम समुदायमा ठूलो पर्वको रुपमा मानिन्छ, त्यही इदको लागि श्रीमानले हिजो गएर आफूसहित दुई जना छोरा, दुई छोरी, मेरा लागि र सासुससुराको लागि लत्ताकपडा खरिद गरेर ल्याउनुभएको थियो, अरु इद पर्वमा लाग्ने सामग्रीहरु खरिद गरिएको थिइयो, तर अल्लाह भगवानले रातभरिमा मेरो घरपरिवारलाई बिचल्ली बनाइदिनु भएको छ ।’

उनले अहिले आफूहरुसँग इद मनाउन एक रुपैयाँ पनि नभएको भन्दै दुखेसो पोखिन् । खातुनले अहिले आफ्नो घरसहित पुरै सम्पती जलेर खरानी भएपछि विभिन्न निकायहरुमा सहयोगको अपेक्षा गरेकी छन् ।

प्रतिक्रिया