युट्युब र सामाजिक सञ्जालले चिनाएको ‘सिङ्जेमा’

काठमाडौं । जैविक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण ताप्लेजुङको सिङ्जेमा ताल पर्यटकीय गन्तव्य बनेको छ । तालको बारेमा इन्टरनेटको माध्यमबाट प्रचार हुन थालेपछि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो ।

आगामी नयाँ वर्षको अवसरमा सिङ्जेमा ताल घुम्न आउने पर्यटकको संख्या गत वर्षको तुलनामा बढ्ने स्थानीयबासीको अनुमान छ । गएको दसैँतिहारको अवधिमा झन्डै ५०० आन्तरिक तथा बाह्य पर्यटकले सिङ्जेमा ताल क्षेत्रको भ्रमण गरेको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाले बताए ।

हाल निर्माणाधीन तमोर कोरिडोर सडक नयाँ वर्षको बेला आलोङचुङगोला जोडिने भएपछि सिङ्जेमा ताल घुम्न आउने पर्यटकको संख्या वृद्धि हुने वडाध्यक्ष लामाको अनुमान छ ।
उनका अनुसार पूर्वका विभिन्न जिल्ला र काठमाडौँलगायत ठाउँबाट सिङ्जेमा क्षेत्रमा पर्यटक आउने गर्छन् । नयाँ वर्षमा करिब ६०० को संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने अनुमान स्थानीयबासीको छ ।

सिङ्जेमा ताल फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोलामा पर्छ । यो ताल ओलाङचुङगोलाको बस्तीबाट १ दिनको पैदल दुरीमा अवस्थित छ । समुद्री सतहदेखि ४ हजार ७०० मिटर उचाइमा रहेको यस तालकोे क्षेत्रफल र गहिराइको मापन हुन सकेको छैन ।
ताललाई एक फन्को लगाउन १ घन्टाभन्दा बढी समय लाग्छ । प्राकृतिक रूपमा मनोरम मात्रै नभई स्थानीयले यस ताललाई धार्मिक महत्वका रूपमा पनि लिने गरेका छन् । तालमा भाकल गरी पूजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

तालसँग जोडिएका केही पुराना किंवदन्ती पनि छन् । स्थानीयका अुनसार यस तालको किनारमा १ जना स्थानीय भोटे बसिरहेका बेला तालबाट एउटा चौँरी निस्कियो । त्यो चौँरीको गोबर भोटेले घरमा लगेपछि उनी धेरै सम्पन्न भएका थिए भन्ने विंवदन्ती छ ।

यस्तै, स्थानीय फुजुङ शेर्पाका अनुसार धेरै वर्षअघि त्यस तालको छेउमा भेडीगोठ बस्दा पोखरीबाट एउटा भेडाको थुम्बा निस्केर बगालमा मिसियो । त्यसलाई गोठालाले मारेर खाए । त्यसपछि फेरि तालबाट दुइटा भेडा निस्किए । ती भेडाले बगालका सबै भेडालाई सुँघे । त्यसपछि बगालका सबै भेडा तालमा पसे र हराए ।

तालको उत्तरतिर पूजा गर्नका लागि एउटा थान बनाइएको छ । यस थानमा त्यहाँ पुग्ने जोकोहीले भाकल गर्ने चलन छ । तालमा जाँदा बिहान चोखो मुखमा जाने र आफूसँग जे छ त्यही चढाउने चलन छ । त्यसैले प्रायः दर्शनार्थीले पूजा थानमा गरगहना, घडी, औँठी, चुरालगायत सामान चढाएको देखिन्छ । कसैले सुन, चाँदी पैसा नगद सिक्का चढाउने गरेका छन् ।

सिङ्जेमा ताल पुग्न ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि तमोर कोरिडोरको कच्ची सडक भएर गाडीमा ओलाङचुङगोलासम्म जान सकिन्छ । ओलाङचुङगोला पुगेर भोलिपल्ट जदाक, देउमा हुँदै तालभन्दा २–३ घन्टा मुनिको छेर भन्ने ठाउँको चौँरीगोठमा बास बस्न पुग्नुपर्छ । ताल क्षेत्र जाने बाटोमा होटल, चिया पसल जस्ता कुनै आवासीय सुविधायुक्त घर छैनन् । आफूलाई आवश्यक सामग्री आफैँले बोक्नुपर्छ । चौँरी गोठमा खाना, चिया र सुत्नका लागि सामान्य व्यवस्था हुन्छ ।

चौँरीगोठबाट भोलिपल्ट ३–४ घन्टाको यात्रापछि तालमा पुग्न सकिन्छ । तालको अवलोकन र दर्शनपश्चात गोठमा आइपुगेर खाना खाएर ओलाङचुङगोलासम्म फर्किन सकिन्छ । व्यवस्थित यात्राका लागि टेन्ट, स्लिपिङ ब्यागलगायत सामग्री लिएर जान सकिन्छ । ताल क्षेत्रमा जाने उपयुक्त मौसम बैसाख अन्तिमदेखि असोज पहिलो हप्तासम्म हो ।

ओलाङचुङगोलाबासीका अनुसार युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ताले तालको प्रचार गरेपछि पर्यटकको आकर्षण बढेको हो । ताल भ्रमण गर्न वार्षिक कति पर्यटक आए भन्ने तथ्यांक छैन । सिङ्जेमा ताल कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने भएकाले यसको संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकार र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को हो ।

प्रतिक्रिया