युट्युब हेरेर सिकेको फूल खेतीले घर व्यवहार धान्दै पबिता

लालबन्दी । पूर्वपश्चिम राजमार्गबाट दक्षिण, डुमडुमे मन्दिरबाट तलतिर शाखा बाटोको अलिकति भित्र एउटा एकतले सानो घर छ । घर के भन्नु, चिटिक्क परेको फूलको कलात्मक बगैँचाजस्तै छ । घरको वरपर कालिगढले मिहिनेत गरेर बनाएजस्तै सुन्दर बगैँचा । फूलका बिरुवा, गमलै गमला र गमलाभरी ढकमक्क फुलेका थरीथरीका फूलले जो कोहीलाई मोहित पार्ने ।

सर्लाहीको लालबन्दी–७ कि पबिता लामा प्रायः सधैँ घरको छत, आँगन र भाडामा लिएकोे जग्गामा भेटिन्छिन् । उनको दैनिकी तीनै फूलका लागि कहिले मल बनाउँदै, कहिले फूल गोड्दै त कहिले बिरुवामा पानी हाल्दै गरेर बित्छ । पबिता पछिल्लो केही वर्ष यता साना साना गमलामा फूल खेती गर्दै आएकी छन् । उनको काम पेसा व्यवसाय जे भने पनि यही सुन्दर फूलका बगैँचा हुन् ।

सुन्दर बगैँचामा विभिन्न जातका फूलसँग रमाइरहेकी पबिताले आफ्नै घर सजाउनका लागि किनेर ल्याएको फूलको बिरुवालाई हुर्काएर अहिले आँगनभरी, घरको छत र भाडामा लिएको १० धुर जमिनसमेत भरेकी छन् । एकतले पक्की घरमा श्रीमान्, एउटा छोरी र सासूसँगै बस्दै आएकी उनले आजभोलि गमलामा सारेको फूलका बिरुवा बेच्नेसमेत गरेकी छन् ।

सोखले फूल खोपेकी उनी पछिल्लो समय व्यवसायी बनेकी छन् । ‘मलाई भन्दा श्रीमानलाई फूल मनपर्छ, उहाँ फूलको निकै सोखिन हुनहुन्छ’, उनले भनिन्, ‘उहाँले नै प्रायः फूलको बिरुवा ल्याइदिनुहुन्छ ।’ अटो रिक्सा चलाउने उनका श्रीमान्ले नयाँ ठाउँमा पुग्दा र नयाँ प्रजातिको फूलका बिरुवा भेट्ने बित्तिकै घर ल्याउने गर्छन् । अहिले उनका श्रीमान् पनि अटो रिक्सामा मान्छे ओसार्ने काम छोडेर पवितासँगै फूल खेतीमै लागेका छन् ।

पहिलापहिला फूलको बिरुवा ल्याएर हुर्काउन खोज्दा तरिका नपुगेर कैयौँ बिरुवा मरेको उनले सुनाइन् । ‘मैले युट्युब हेरेरै बिरुवा हुर्काउने, बिरुवालाई चाहिने विभिन्न मल लगायतका सामग्री प्रयोग गर्ने विधि जानेको हुँ’, उनले भनिन्, । अहिलेसम्म कुनै व्यावसायिक तालिम नलिएकी उनलाई सबै बिरुवा हुर्काउने, सार्ने, गोडमेल गर्ने तरिका आउँछ । ‘म आफ्नो कामसँग सन्तुष्ट छु, मैले रोपेका फूलहरू बिक्री हुन्छ’, उनले भनिन्, ‘बजारभाउभन्दा निकै कम मूल्यमा बिरुवा बेच्ने गरेको छु ।’ अहिले उनले बिरुवा बेचेरै घर धानिरहेको बताइन् । एउटा बिरुवाको तीन सयदेखि जात र प्रकार हेरेर मूल्य लाग्ने गरेको उनले सुनाइन् । नयाँ घर बनाउनेहरू आएर एकपटकमा २० हजारसम्मको बिरुवा लाने गरेको उनकोे अनुभव छ ।

उनको आँगनमा स्नेक प्लान्ट, लब्लि बेम्बो, मनिप्लान्ट, किस लिली लगायतका विभिन्न जात र रंगका फूलका बिरुवा पाइन्छ । उनले बिरुवा र गमलासहितका फूल पनि बेच्ने गरेको सुनाइन् । बिस्तारै सबैले यहाँ बिरुवा पाइन्छ भन्ने थाहा पाएसँगै उनको व्यापार बढ्दै छ । ‘अन्य पेसा व्यवसायमा जस्तो आज बिक्रि नभए बिग्रिने, खेर जाने, नष्ट हुने जोखिम यो पेसामा छैन, उनले भनिन्, ‘बिरुवा आज नबिके भोलि बिक्छ र भोलि पनि नबिके बिरुवा हुर्किन्छ । सानो बिरुवाको सानो मूल्य ठूलो बिरुवाको ठूलै मूल्य आउने भएकाले यसमा जोखिम छैन ।’

उनको बगैँचाका सुन्दरतामा बेला बेला किराले दुःख दिने गरेको छ । फूल जोगाउन उनी बेलाबेला औषधि छर्कने गर्छिन् । बिरुवा रोप्ने, सार्ने, हुर्काउने मात्रै होइन, उनले बिरुवालाई चाहिने मल पनि आफैले बनाउने गरेकी छन् । आफूले प्रयोग गरेर धेरै भएका मल उनी फूसँगै बिक्री पनि गर्छिन् । उनले फल र मल बजारको भन्दा धेरै सस्तोमा बिक्री गर्ने गरेको सुनाइन् । बजारमा पाइने मल किनेर गमलामा प्रयोग गर्न धेरै महँगो हुने भन्दै आफैँले मल उत्पादन गर्न थालेको उनले बताइन् । बजारमा १५० देखि ७÷८ सयसम्म पर्ने मलको बिकल्पमा आफूले तयार गरेको मल २५ रुपैयाँ किलोमा बिक्री गर्ने गरेको उनले बताइन् । कोठामा सजाउनेदेखि बाहिर राख्ने, फुल्ने फूलहरू, ड्रागन फ्रुटसम्मले उनकोे आँगन र छत भरिएका छन् ।
यति मात्रै होइन, कोही कसैले बिरुवा रोप्ने, हुर्काउने, मल उत्पादन गर्ने तरिका सिक्न चाहेमा उनी निःशुल्क सिकाउने गर्छिन् । बाटोमा, सडक छेउछामा पाइने बस्तुकोे मलजम्मा पारेर, स्याउला, झारपात लगायतको प्रयोगबाट उनले मल तयार पार्ने गरेको बताइन् ।

प्रयोग भइसकेका साना साना माटाका भाँडा तथा गमलामा रोपिएका फूल खरिद गर्न चाहनेले आफूकहाँ आएर लान सक्ने उनकोे भनाइ छ । अहिले उनको श्रीमान्ले फूलका बिरुवा अटोमा राखेर बेच्न लैजान्छन् । रौतहट, सर्लाही र महोत्तरीसम्म उनले फूलको बिरुवा बेच्न लैजान्छन् । कुनै नयाँ प्रजातिको फूलको बिरुवा देखे उनका श्रीमान मन थाम्न सक्दैनन् र मागेर होस् वा किनेर घर ल्याउछन् । श्रीमानले ल्याएको फूलको बिरुवालाई माया गरेर हुर्काउने, बढाउने, त्यसबाट बिरुवा उत्पादन गरेर अर्को गमलामा सार्ने, कलमी गर्ने सबै काम पबिताको हो । आफ्नो सन्तानलाई जत्तिकै माया गरेर बिरुवा हुर्काउने गरेको पबिताले बताइन् । ‘मैले यो सीप कतै गएर सिकेको भए पनि त्यसको शुल्क तिर्नु नै पथ्र्यो, मैले त यहाँ काम गर्दा गर्दै सिकेँ, यसमा म धेरै खुसी छु ।’

पबिताले सुरु सुरुमा एउटा बिरुवाबाट अरू उत्पादन गर्न, बाहिरबाट ल्याएको बिरुवा हुर्काउन, बचाउन धेरै पैसा खर्च गरेको सुनाइन् । ‘पहिला कुन बिरुवालाई बाहिर भित्र कहाँ राख्ने, कति मल, पानी हाल्ने लगायतका सामान्य ज्ञानसमेत थिएन । पछि काम गर्दै जाँदा सबै कुरा सिकेँ । अब भने म अरूलाईसमेत राम्रोसँग सल्लाह दिन सक्छु’, पबिताले भनिन् ।

पबिताको श्रीमान् बिदेश जान तयार थिए । पासपोर्ट बनाएर मेनपावर कम्पनीमा एप्लाइसमेत गरिसकेका उनी त्यसको प्रक्रिया ढिला हुने भएपछि फूल खेतीमै लागेका छन् । श्रीमान श्रीमती मिलेर सानो ठाउँमा फूल खेती गरेको र राम्रो उन्नति भएको देख्नेहरूले समेत उनीहरूको कामको प्रशंसा गर्ने गरेका छन् ।

प्रतिक्रिया