अक्षरको आयतन जोख्दा भेटिएका आयतनहरू

कतै उनी मायाको संसारमा रमाउन खोज्छिन् त कतै मीठा मीठा सपना देख्छिन् । कतै कविमन पुराना कुराको स्मृतिमा तरंगित भएको छ भने कतै वर्तमान समयको पीडामा दुःखित भएको छ । वसन्तको मधुमासमा उनी रमेकी छिन् त्यसैले त वसन्तलाई ह्रदयको गहिराइदेखि प्रेम गर्छिन् । प्रकृतिको सुन्दर वर्णनले कवि प्रकृतिप्रेमी भएको मान्न कठिन पर्दैन । देश दुख्दा दुःखी हुने कवि आजको स्वार्थी र ढोँगी मान्छेहरू देख्दा आक्रोशित हुन्छिन् । अनुभूतिका उत्ताल तरंगमा तरंगित हुन मन पराउने आचार्यको छोरी हुनुका समस्या र पीडा पनि यहाँ छरपस्ट भएर छरिएका छन् । नारीका आत्मस्वाभिमानमा लागेको चोट अमिट बनेर निको नहुने घाउ हुनेतर्फसमेत उनले सचेत गराएकी छन् ।

प्रदीप सापकोटा

नेपालमा कविता लेखनीको थालनी १९औँ शताब्दीको प्रारम्भबाट भएको मानिन्छ । लोकपरम्परा र तत्कालीन समयको परिवेश अनुरूपको वीरभावका कविताबाट नेपालमा कविता लेखनीको थालनी भएको मानिएको छ । सुवानन्द दासबाट सुरु भएको भनिएको नेपाली कविता विधामा हालसम्म सैयौंको संख्यामा कविहरू जन्मिसकेका छन् ।

आधुनिक गद्य कविता लेखनीको फाँटमा सुषमा आचार्य(अंशु)को ‘अक्षरको आयतन’ यहि वर्ष प्रकाशित भएको कविता कृति हो । सम्पूर्ण काव्यानुरागीहरूमा समर्पण गरिएको प्रस्तुत संग्रहभित्र छोटा र मझ्यौला कदका ३६ वटा कविताहरू समावेश गरिएका छन् । वर्तमान समसामयिक समयको चेतभित्र रहेर मायाप्रीति, यौवन, सौन्दर्यसहित मानवीय संवेदना समेतका कविता यसमा परेका छन् । कविताहरूलाई अग्लो स्थानबाट बेगवान गतिले झार्न खोज्ने कविको सत्प्रयास आफैँमा राम्रो कुरा हो । मनमा उताल भएका भावहरूलाई शव्दहरू गुथेर कविता कोर्ने प्रयास गरेकी सुषमाको अक्षरको आयतनभित्र विषय विविधाका कविताहरू परेका छन् । संग्रहभित्र अनेकानेन रंग, स्वाद र सौन्दर्यको त्रिवेणी भेटिन्छ । कतै उनी कल्पनाको बेजोड गहिराइमा पुग्छिन् त कतै उत्साहको तरंगमा रम्छिन्, अनि झुम्छिन् । कतै उनी मायाको संसारमा रमाउन खोज्छिन् त कतै मीठा मीठा सपना देख्छिन् । कतै कविमन पुराना कुराको स्मृतिमा तरंगित भएको छ भने कतै वर्तमान समयको पीडामा दुःखित भएको छ । वसन्तको मधुमासमा उनी रमेकी छिन् त्यसैले त वसन्तलाई ह्रदयको गहिराइदेखि प्रेम गर्छिन् । प्रकृतिको सुन्दर वर्णनले कवि प्रकृतिप्रेमी भएको मान्न कठिन पर्दैन । देश दुख्दा दुःखी हुने कवि आजको स्वार्थी र ढोँगी मान्छेहरू देख्दा आक्रोशित हुन्छिन् । अनुभूतिका उत्ताल तरंगमा तरंगित हुन मन पराउने आचार्यको छोरी हुनुका समस्या र पीडा पनि यहाँ छरपस्ट भएर छरिएका छन् । नारीका आत्मस्वाभिमानमा लागेको चोट अमिट बनेर निको नहुने घाउ हुनेतर्फसमेत उनले सचेत गराएकी छन् । कविताहरू उनका आत्मगत भोगाइका थुप्रै शृंखलाहरूको फेहरिस्त लाग्छन् ।

जिन्दगी दुःख सुखको चौतारो भएकोले विभिन्न कठिनाइहरू आउँछन् तर तिनीहरूसँग जुध्नुपर्छ भन्ने आशावादिता बोकेका कविताहरू पनि यस संग्रहमा पाइन्छन । बादल फाट्छ पक्कै अनि घामका पाइला पनि पर्छन् जिन्दगीमा भन्ने कुरालाई कविमनले राम्रै बुझेको छ । सम्बन्ध प्रगाढ हुन्छ, भरोसा टुट्न दिनुहुन्न । यस्तै भावमा छ पहिलो कविता ‘अघोषित प्रमाणपत्र’।
कविलाई वर्तमान राजनीतिको विकृतपक्षले पनि नकारात्मक प्रभाव छोडेकोे छ । देश निर्माण गर्ने नायकको सम्झनामा उनले जननायक बिपी कोइरालालाई स्मरण गरेकी छन् । वर्तमान विषम परिवेशमा समसामयिक स्वर उराल्न सक्ने नायक मुलुकमा चाहिएको बेला यो कविता आएको छ ।

यसरी उनले नायक सम्झेकी छन् :

थाहा छ उज्यालोलाई छेक्न सकिँदैन

परिवर्तनलाई रोक्न सकिँदैन

तिमीले रोपेको बिरुवा हुर्किएको छ

हे महामानव ⁄

तिम्रो यो गुणलाई धर्ती कहिले बिर्सने छैन

आज तिम्रो महाप्रस्थानको स्मृतिमा

तिमीप्रति हार्दिक श्रद्धासुमन ! (महानायक)

प्रगाढ सम्बन्धमा आएको तुषारोपन कस्तो हुन्छ उनको अनूभूति यहाँ कवितामार्फत बोलिएको छ । उनी प्रेमिल छन्, त्यसैले प्रेमिल भावका धेरै कविता लेखेकी छन् । प्रेम चुम्ने उनको चाह अभिव्यक्त भएको छ । ‘पर्खिरहेको छु’, ‘तिमी बिनाको कुन पल थियो र’, ‘प्रणय दिवसमा प्रतिवद्धता’, ‘प्रेम’, ‘परीक्षा’, ‘सम्बन्ध’ आदि कविताहरूमा प्रेमिल भाव बगेको छ । प्रेम हरेकको जीवनमा आउने सास्वत सत्य हो भन्ने अनुभूति यी कविताहरूले व्यक्त गर्दछन् । अक्षरको आयतनभित्र प्रेममा डुबेर प्रेमको आयतन नाप्न पुग्छिन् र सम्बन्धको अर्थ खोज्छिन् । प्रणय दिवसमा उनी आफ्नो प्रेमप्रतिको प्रतिवद्धता व्यक्त गर्दछिन्:

कुनैदिन अतीतलाई नियाल्दा

स्मृतिका पानामा

अरुणिमाको लालिमाजस्तो

भेट्टाउन सकूँ

यादका सुन्दर लहर

त्यति विश्वास दिलाउने

प्रणय दिवसमा प्रतिबद्धता जनाऊ । (प्रणय दिवसमा प्रतिबद्धता)

यस संग्रहमा समयचेतका कविताहरू पनि छन् । यस कृतिमा समाबेश ‘रुख म एक मूकदर्शक’ जस्ता कविता यस्तो कोटीमा पर्दछन । यस कवितामा कैयन समयदेखि रुख झैँ मौनता साँधेर विकृति र विसंगतिले आक्रान्त समयभित्र चुपचाप बस्नुपरेको पीडामा कवि पनि जकेडिएकी छन् । रुखलाई बिम्बात्मक रूपमा प्रस्तुत गरिएको यो कविता बलशाली देखिन्छ । रुखको प्रतीकात्मक संयोजन यहाँ अब्बल छ । आफू पात्र बनेर वर्तमान जगतको यथार्थता उतार्न उनी सफल देखिन्छिन् । वर्तमान समयलाई यहाँ चित्रण गरिएको छ । गिज्याइएको छ । बेथितिहरूको कहालीलाग्दा रूपहरू हेरिएको छ । यो कविताले वर्तमान राजनीतिक दूरावस्थाको सत्यापन गरेको छ ।

यसरी हेर्दा कविले देखेको, भोगेको, अनूभूति गरेका कुराहरूको उपज लाग्छन् अक्षरका आयतनहरू । अनुभूतिका धारहरूबाट कविता कर्मको थालनी गर्ने सुषमाका सिर्जनाहरू यथार्थ र बस्तुपरक लाग्छन् । मनमा पलाएका अनूभूतिका अंकुरहरूलाई कविताको टुसा बनाएर निकाल्ने उनको प्रयास सार्थक छ । उनी आशावादी स्वर पनि उराल्छिन् । परिवर्तन सम्भव छ भन्ने आशावादीताका कविता छन् यहाँ । भोगाइहरू जीवन्त लाग्छन् । सत्य लाग्छन् । कविले आफ्ना भोगाइका बल्ग्रेन्ती मनोदशाहरू पोखेकी छन् । कवितामार्फत जीवनका विविध रंगहरू बोलिएको छ । कविता धेरै लामा छैनन्, प्रायशः छोटा छन् । एकाध कविता मध्यम खालका छन् । यस्तै यस्तै छन् अक्षरको आयतनभित्रका कविताहरू ।

कुनै पनि क्षेत्रमा एकैपटक सफलता हासिल हुने कुरा होइन । कविता पनि त्यस्तै हो । यसमा अझै मिहिनेत गर्नुपर्छ, साधना गर्नुपर्छ । तब मात्र स्थापित हुन सकिन्छ । यो कुरा जो कोहीको हकमा लागू हुन्छ । कतै कतै सुधार गर्न सकिने ठाउँमा पनि कवि चिप्लिएको भान पर्छ । भाषागत सामान्य त्रुटी एकाध कविताहरूमा लाग्छ । शुरुआती राम्रो भएर पछि गहकिलो नभएको देखिने केही कविता छन् । भाषिक संरचनाका हिसाबले कविताहरू मध्यम छन् । शिल्प चातुर्यभन्दा पनि अनुभूतिजन्य कविता धेरै छन् । यति भएर पनि कविता कोरा नारावादी छैनन् । शीर्षकको हिसाबले छोटा लाग्छन् । कविका भावनाहरू सरल भाषामा अभिव्यक्त भएका छन् । कविता सरल र सुवोध्यलाग्दा छन् । कवितामा भाव र विचारलाई यथार्थपरक दृष्टिचेतमा अभिव्यक्त गरिएको छ, न कि वनावटी वा छद्म भेषमा । यो कविको विशेषता हो । कविताहरू कलात्मक छन् । बिम्ब र प्रतिकको हिसाबले ठीकै लाग्छन् । काव्यको सौन्दर्यभित्र लहरिएका छन् कविता । क्लिष्ट र जटिल शब्द बनोट र वाक्यविन्यासवाट कविताहरू टाढै छन् । सबै कविता उत्कृष्ट लयमा छन् भनेर प्रशंसाको पुल बाँध्न त सक्दिनँ यति भनेँ यो पहिलो प्रयास सार्थक छ । आगामी सिर्जनामा कवि सुषमा आचार्य ‘अंशु’को कविताकर्ममा कलम अझै तिखारियोस् । हार्दिक शुभेच्छा ।।

प्रतिक्रिया