ऐतिहासिक मानराजागढी : सबैतिरबाट उपेक्षाको सिकार

आरके श्रीवास्तव

मधेस प्रदेशमा ऐतिहासिक, पुरातात्विक तथा धार्मिकस्थलहरू धेरै रहेका छन् । यस्तै एक ऐतिहासिक तथा पुरातात्विक महत्वको ठाउँ हो, ‘मानराजागढी’ । सप्तरी जिल्लाको सदरमुकाम राजविराजभन्दा करिब १६ किमी पश्चिममा अवस्थित मानराजागढी कम्तीमा मध्यकालीन अवशेष हो । सप्तरीको बोदेबर्साइन नगरपालिका–७ बघबिरा गाउँमा पर्ने मानराजागढी नेपालको मध्यकालीन इतिहाससित जोडिएको किंवदन्ती रहेको छ ।


किंवदन्तीअनुसार, सिमरौनगढका तत्कालीन राजा हरिसिंहदेवका जेठा छोरा मानसिंहको यहाँ गद्दी रहेको थियो । मानसिंहको जन्म जेठी महारानी इसरादेवीको कोखबाट भएको थियो । मानसिंहले आफ्नो कुलदेवता इसरादेवीको पूजा गर्ने गरेका थिए । यसैगरी उनले लक्ष्मीनारायणको पनि पूजा गर्ने गरेका थिए । उनै राजा मान सिंहको गद्दी भएको ठाउँ नै मानराजागढी कहलिएको हो ।

सम्भवतः राजा मानसिंहको महल थियो र महलबाट शासन गर्ने गर्दथे । राजा मानसिंहलाई सर्वसाधारणले मानराजा भन्ने गर्दथे । जहाँ राजाको महल थियो त्यहाँ मानराजाले राजाको हैसियतमा लिने निर्णय वा फैसला सुनाउने एउटा गद्दी थियो । त्यस गद्दीलाई पनि मानराजा गद्दी भनिथ्यो । कालान्तरमा सोही मानराजा गद्दीबाट अपभ्रंस भई मानराजागढी हुन गएको हुनुपर्छ । यहाँ कतिपयले गढीमाईको स्थान रहेको पनि बताउने गरेका छन् । गढीमाईको स्थान रहेको ठाउँ मानराजाको महलकै आसपास हो । यसैले दुवैलाई जोडेर मानराजा गढी भएको हुनुपर्ने पनि बुझाइरहेको छ ।

यहाँ लक्ष्मीनारायण मन्दिर, गढीस्थान, सुगापोखरी र दिनाभद्रीको गरी मुख्य चार स्थान रहेको यस मानराजागढी अनेक रहस्यले भरिएको छ । जहाँ मानराजाको मूल महल वा दरबार रहेको भनिएको छ, त्यो ठाउँ करिब १० कट्ठा क्षेत्रफलमा फैलिएको छ । स्थानीय भोला यादवको भनाइ के छ भने यस गढीमा रहेको जुन पर्ति जमिन हो त्यो हरेक वर्ष अग्लिँदै गएको छ । पहिले यहाँ महलको संरचना देखिन्थ्यो तर अहिले सबै जमिनमुनि गइसकेको छ । माटो अग्लिँदै गएर जमिनको सामान्य सतहभन्दा करिब १५ फिट अग्लो भइसकेको देखिन्छ । जमिन कसरी अग्लो हुँदै गएको हो ? यसबारेमा कसैलाई कुनै रहस्य थाहा छैन तर यहाँको इँटा र महलको अवशेष देख्नेहरू अझै पनि रहेका छन् ।

करिब दुई बिघामा फैलिएको सुगापोखरीसँगै रहेको इनार पनि रहस्यमय रहेको छ । इनारको मर्मत २०३६ सालमा गरिएको थियो । त्यस समयका समाजसेवी जगदेव यादवले १० हजार रुपैयाँ दिएर इनारको मर्मत गराएको यादवका नाति बुनिलाल यादवको भनाइ छ । इनारमा रहेको लेखोटमा पनि यस कुरालाई स्पष्ट रूपमा जनाइएको छ । इनार कति पुरानो हो भन्ने बारेमा कसैलाई केही जानकारी छैन ।

एकपटक इनारलाई सफा बनाउने काम पनि भएको थियो । इनारमा खानेपानी कार्यालयले पनि रुचि लिएको थियो तर सामान्य मर्मतपश्चात् सबै पछाडि हटेको देखिन्छ । अहिले इनार उपयोगविहीन अवस्थामा रहेको छ । इनारको सफाइ गर्दा निकै पुराना विभिन्न प्रकारका भाँडाकुँडाहरू प्राप्त भएको थियो तर उक्त भाँडावर्तनहरू त्यही समयमा जिल्लामा लगिएको स्थानीयहरूको दाबी छ ।

मानराजागढी क्षेत्र अतिक्रमणमा परेको छ । चारैतिरबाट अतिक्रमण भइरहेको छ तर पनि मूल गढी क्षेत्रमा भने कसैले केही गर्ने आँट गरेका छैनन् । मूल गढी क्षेत्रमा कसैले कुनै हस्तक्षेप गर्न खोजेमा कुनै अनिष्ट भइहाल्छ भन्ने विश्वास स्थानीयमा रहेको छ । गढीको मूल महल क्षेत्रमा कोही थुक फाल्ने, दिसा गर्ने, पिसाब गर्ने तथा कुनै किसिमको जुठो खानेकुरा फाल्नेसम्मको काम पनि गर्दैनन् । स्थानीय राजीव यादव भन्छन्, ‘यस ठाउँलाई सबैले पवित्र मान्दछन् । कुनै नकारात्मक काम गरेमा त्यसको प्रतिफल उसले नराम्रो भोग्नै पर्दछ ।’ स्थानीयहरूले यस्ता अनेक उदाहरण दिन्छन्, जसमा रहस्य नै रहस्य भरिएको हुन्छ । मानराजा गढीलाई सबैले रहस्यै रहस्य भएको ठाउँको रूपमा पनि लिने गरेका छन् ।

विभिन्न मन्दिरहरू तथा संरक्षणको पर्खाइमा रहेका पुरातात्विक अवशेषहरू पर्याप्त रहेको भए पनि कतैबाट संरक्षणको खासै कदम चालिएको छैन । सबैतिरबाट उपेक्षाको सिकार भएको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वको मानराजागढीको संरक्षणमा स्थानीय सरकारको पनि ध्यान जान सकेको छैन ।

गढी संरक्षणमा नगरपालिकाले पहल गर्नेछ – बोदेबर्साइन नगरप्रमुख आतेश कुमार सिंह

आतेश कुमार सिंह, नगरप्रमुखबोदेबर्साइन

बोदेबर्साइन नगरपालिकाका नगरप्रमुखले मानराजागढीको संरक्षणमा कुनै निर्माण गर्न नहुने विश्वास रहेकोले खासै केही गर्न नसकिएको बताउँछन् । गढी भएको स्थानमा विगतमा केही गर्न खोज्दा नराम्रो भएको पाइएको छ । निर्माणको भन्दा पनि यस धार्मिक स्थलको प्रचारप्रसारको लागि ध्यान दिइएको छ । स्थानीय गाउँवासीको आग्रहमा एउटा ट्रस्टको निर्माण गरिएको छ । पुरातत्व विभाग र पर्यटन मन्त्रालयसम्म यस ठाउँको विकासका लागि अगाडि बढेको तर स्थानीय तहबाट खासै केही गर्न नसकिएको हो । पुराना सरसामान तथा इँटाहरू कसैले आफ्नो घरमा लग्यो भने घरपरिवारमा हानिनोक्सानी हुने विश्वास रहेको छ । त्यहाँ कुनै निर्माण गर्न खोज्दा पनि स्थानीयहरूले रुचाउने नगरेको देखिएको छ ।

पुरातत्व विभागबाट खोजअनुसन्धानको काम भएको छ । त्यहाँ भएको ऐतिहासिक पोखरीको संरक्षणको लागि आफैँले पहल गर्ने विश्वास छ । त्यसको विकासका लागि छलफलकै क्रममा रहेको र नगरपालिकाले नै पहलमा लिने प्रयासमा रहेको छ । त्यहाँको सबै काम पालिका सरकारले गर्न नसकिने भएकोले प्रदेश सरकार र केन्द्रीय सरकारसित मिलेर सहकार्य गर्ने योजना बनाइएको छ । प्रदेश सरकारसित अनुरोध गरिएको तर खासै उपलब्धि हुन नसकेको अवस्था हो । त्यहाँ निर्माण गरिएको ट्रस्टलाई नगरपालिकाले आफ्नो मातहतमा लिने र बिस्तारै अगाडि बढ्ने योजना रहेको छ । सप्तरी जिल्लाकै सबैभन्दा बढी पुरानो पर्यटकीयस्थल भएकोले यसको प्रचारप्रसार गर्नु जरुरी रहेको छ । यस ठाउँको प्रचारप्रसारमा सबै पक्षको सहयोगको आवश्यकता रहेको र यसको ऐतिहासिकतालाई संरक्षणको विषयमा नगरपालिकाले पहल गर्नेछ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया