नेपालमा कला शिक्षा

देवेन्द्र थुम्केली

विषय प्रवेश

नेपालमा आधुनिक कलाको विकासमा कला शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । शिक्षाले मानिसलाई सांस्कृतिकरूपमा समेत सुसज्जित बनाउने भएकाले यसको महत्व रहिआएको छ । खासगरी पश्चिमा शैलीको शिक्षण पद्धतिको नेपालमा औपचारिक सुरुवात् सर्वप्रथम राज्य तहबाटै नै भएको हो । यसको सुरुवात् वि.सं. १९९१ सालमा नेपाल आर्ट स्कुलको स्थापनापछि भएको थियो । नेपालमा कला शिक्षा यसैको जगमा अगाडि बढ्न सकेको हो । यसले आधुनिक कला शिक्षाको पैरवी र विस्तारमा सहयोग पुर्याएको छ ।

कला शिक्षाको पृष्ठभूमि

नेपालमा कला शिक्षा औपचारिक र अनौपचारिक रुपमा विकास भएको पाइन्छ । खासगरी अनौपचारिकरुपमा कला शिक्षाको विकास प्राचीनकालदेखि नै प्रचलनमा रहेको थियो । एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै आएको कला परम्पराले नेपालको वैभवशाली इतिहासलाई जीवन्त बनाउँदै ल्याएको पाइन्छ । यसलाई गुरुकुल पद्धति पनि भनिन्छ । यो परम्पराले नेपाली कला शिक्षण पद्धतिलाई आज प्रयत्नसम्म जीवन्त बनाइरहेको छ । यसमा नेपाली परम्परागत तथा लोककला रहेको छ ।

नेपालमा पश्चिमा वस्तुवादी अर्थात् ब्रिटिस शिक्षण पद्धतिको सुरुआत् सन् १८२० दशकपछि नै भएको मानिन्छ । सन् १८१६ को सुगौली सन्धिपछि बेलायतको नेपालमा कुटनीतिसम्बन्ध स्थापित भयो । यससँगै उनीहरूले यहाँको धर्म, संस्कृति, प्रकृति तथा सामाजिक विषयमाथि अध्ययन गरेको पाइन्छ । यसै सिलसिलामा बेलायती कर्मचारी ब्रायन हड्सन (पछि रेजिडेन्स) ले आफ्नो अध्ययनका लागि चाहिने चित्र बनाउने कलाकारलाई प्रशिक्षण दिन कलकत्ताबाट दुईजना अंगे्रज कलाकारलाई काठमाडौं ल्याएका थिए । त्यहीबेलादेखि नेपाली कलामा पश्चिमा शैलीको विधिवत् प्रवेश भएको मानिन्छ । त्यस्तै, सन् १८५० मा जंगबहादुर राणाको बेलायत भ्रमणपछि कलाकार भाजुमान चित्रकारले पश्चिमा शैलीलाई अंगीकार गर्दै कला बनाए । भाजुमानले हेरेर÷देखेर पश्चिमा शैलीमा आफूलाई घुलमिल गराएका थिए । हुनत् यसअघि नै उनले ब्रायन हड्सनका लागि राजमानसिंह चित्रकारको समूहमा रहेर काम गरेको चर्चा भइसकेको छ ।

नेपाली कलामा पश्चिमा कलापद्धति भित्रिनुअघि अर्थात् विसं. १८७७ अघिको समयमा कला सिक्ने परम्परा जातीय तथा गुरुकूल आधारमा हस्तान्तरण हुँदै आइरहेको थियो । जब हड्सनको नेपाल आगमन भयो यसपछि नेपाली कलामा बेलायती प्रभाव सघनरूपमा पर्न थाल्यो । यसले नेपालको मौलिक कला परम्पराको धारलाई नै मोडिदियो । धार्मिक, सांस्कृतिक, सामाजिक गतिविधिका लागि बनाइने नेपालको मौलिक कला परम्परा विस्तारै पश्चिमी प्रभावको चेपमा पर्दै गयो ।
नेपालमा यसअघि मौर्य, गान्धार, कुषाण, गुप्त, मुगल, पहाडी, वशोली, पाल, राजस्थानी लगायतका भारतीय कला शैलीको प्रभाव परिरहेको थियो । यस्तै, काठमाडौं उपत्यकामा पौभा÷थाङ्काको व्यापक प्रभाव थियो । हिमाली तथा महाभारत क्षेत्रमा बसोबास गर्ने बौद्ध धर्मालम्बीले बनाउने थाङ्का चित्रको महत्व सामाजिक तथा सांस्कृतिकरूपमा विशिष्ट थियो । यी कला कति त समुदाय तथा जातिगतरूपमा हस्तान्तरण हुँदै आएका थिए भने कति धार्मिक कारणले एकबाट अर्को पुस्तामा सर्दै आएको पाइन्छ ।

त्यसैगरी, नेपालका विभिन्न जातजाति र समुदायमा समेत विभिन्न मौलिक लोककलाको प्रभाव थियो । यी कला पनि एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आएको थिए र छन् पनि । तर, भारतमा अंग्रेजको प्रभाव बढ्दै गएपछि त्यसको असर नेपालमा पनि प¥यो । सन् १८१६ पछि नेपाली कला क्षेत्रमा त झन् गहिरो गरी त्यसको प्रभाव परेको देखिन्छ । वास्तवमा भन्ने हो भने यसपछि नेपाली मौलिक कला बिस्तारै ओझेलमा पर्दै र पश्चिमा शैलीको विकास तीव्ररूपमा भएको पाइन्छ ।

नेपालमा पश्चिमी कला शिक्षाको सुरुआत

ब्रायन हड्सनको अध्ययनका लागि कलाकार राजमानसिंह चित्रकारको नेतृत्वमा १० जना कलाकारले काम गरेको चर्चा पनि पाइन्छ । राजमानसिंह, राजवीर, तुल्सीमुनि, धनानन्द बाडा, भाजुमान चित्रकार लगायतका कलाकार सो समूहमा रहेर काम गरेका थिए । लेखक हरिहरराज जोशीका अनुसार उनीहरूले ११ हजारभन्दा बढी मानिस, जीव, जनावर र पंक्षीका चित्र बनाएका थिए । (जोशीले २०६३ मा ‘द पायोनिर आर्टिस्ट राजमान सिंह चित्रकार’ नामक पुस्तिका प्रकाशनमा ल्याएका थिए ।) उनले जनाएअनुसार लगभग दुई हजार स्केच र चित्रहरू अहिले पनि रोयल एसाइटिक सोसाइटी लन्डनमा सुरक्षित छन् । दशजना कलाकारले सन् १८२० देखि पचासको दशकसम्म हड्सनका निम्ति चित्र बनाएका थिए । त्यसैवेला हड्सनले दुईजना बेलायती कलाकार प्रशिक्षणका निम्ति कलकत्ताबाट काठमाडौं झिकाएका थिए । तिनीहरूले दुई महिना नेपाली कलाकारलाई पश्चिमी कला शिल्पविधि समेत सिकाएका थिए ।

‘सेतीका तारा’ मा नामक पुस्तकमा पूर्णप्रकाश यात्रीले उल्लेख गरेनुसार पहलमानसिंह स्वाँरले १९७९ सालमा भारतको बडौदामा एक वर्ष काष्ठकलाको अध्ययन गरेका थिए । उनले विभिन्न कारण आफ्नो औपचारिक शिक्षा पूरा गर्न नसकेको यात्रीले जनाएका छन् । नेपाली कला शिक्षाको इतिहासमा १९८० सालको दशक निकै महत्वपूर्ण रहेको छ । यसवेला चन्द्रमानसिंह मास्के र तेजबहादुर चित्रकारले कलकत्तामा औपचारिक कला शिक्षा अध्ययन गर्दछन् । उनीहरूले अध्ययन गरेर फर्केपछि नेपालमा पश्चिमा कलाको गुरुकुल पद्दतिमै भए पनि औपचारिकरूपमा पढाउने परम्पराको सुरु भयो । उनीहरूकहाँ थुपै्र कलाकारले कला सिके र दीक्षित पनि बने । यसलाई आधुनिक कला इतिहासमा महत्वपूर्ण उपलब्धि मानिनुपर्दछ । कलाकार मास्के र चित्रकारले पहिलोपटक कलकत्तामा औपचारिक कला शिक्षा अध्ययन गर्ने अवसर पाए । उनीहरूले सिकेको पश्चिमा वस्तुवादी, यथार्थपरक धाराले नेपाली कला परम्परामा नयाँ युगको सुरुआत भयो ।

नेपालको पहिलो कला स्कुल

वि.सं. १९९१ सालमा पहिलो पटक नेपाल आर्ट स्कुलको स्थापना भयो । यसले नेपालमा कला शिक्षालाई औपचारिक ढंगले पाठ्यक्रमका रूपमा अगाडि बढायो । मास्टर चतुररत्नको पहलमा खुलेको यस स्कुलले नेपाली कला शिक्षाको जग बसाल्न महत्वपूर्ण भूमिका खेलेको छ । यही स्कुललाई १९९५ सालमा जुद्धकला पाठशालाका नाममा नामाकरण गरियो । २०२४ सालमा जुद्धकला पाठशालालाई ललितकला महाविद्यालयका रूपमा रूपान्तरण गरियो । त्यस्तै, २०३० सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानविकी तथा सामाजिक संकायअन्तर्गत राखेर ललितकला विषयमा अध्ययन अध्यापन गर्ने परम्पराको सुरुआत गरियो । यसवेला प्रवीणता प्रमाणपत्र तह (आइए/आइएफए) को पढाइ सुरु भएको थियो ।

ललितकला क्याम्पसमा २०३३ सालदेखि डिप्लोमा/स्नातक तहको अध्ययन अध्यापन गर्न थालियो । २०६६ सालमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभाग खोली ललितकला विषयमा स्नातकोत्तर अध्ययन गर्ने वातावरण निर्माण भयो । पछिल्लो समय यसै विषयमा पिएचडी नेपालबाटै गर्ने वातावरणसमेत बनेको छ । यसैगरी २०२० सालताका तत्कालीन रोयल नेपाल प्रज्ञा प्रतिष्ठानले ‘हबी’ विषयका रूपमा लैनसिंह बाङ्देलको पहलमा कलाको प्रशिक्षण दिएको थियो ।

अन्य कलाका स्कुल

नेपालमा कलाप्रतिको जागरण उठ्दै जान थालेपछि बिस्तारै कलाका शिक्षण संस्था खुल्दै गए । २०३० सालमा ललितकला क्याम्पस, भोटाहिटीमा खुलेपछि त्यसको २८ वर्ष अर्थात् २०५८ सालमा निजी स्तरबाट सिर्जना कलेज अफ फाइन आर्टस् खुल्यो । त्यसैगरी, सन् २००३ मा काठमाडौं विश्वविद्यालयले कला विषयको अध्ययनलाई अगाडि बढायो । काठमाडौं विश्वविद्यालयले पछि सेन्टर फर आर्ट एन्ड डिजाइन नै स्थापना गरी स्नातक तहको अध्यापन गराउँदै आइरहेको छ । यस विश्वविद्यालयले स्नातकोत्तर तहको पढाइसमेत सुरु गरेको छ । गत वर्षदेखि काठमाडौं विश्वविद्यालयले स्नातक तहको क्राफ्ट एण्ड डिजाइन विषयमा समेत अध्यापन थालेको छ । यसैगरी, लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत अक्षेश्वर महाविद्यालयमा नेपाली परम्परागत कला विषयको स्नातक तहको अध्ययन अध्यापन गराइन्छ ।

२०६६ सालपछि प्रवीणता प्रमाणपत्र तह हटाएपछि ११ र १२ कक्षामा कला शिक्षा पढाउन थालियो । सिर्जना कलेज अफ फाइन आर्टस्, डायमन्ड कलेज महाराजगञ्ज (पछि बुढानिलकण्ठ), युनिभर्सल÷न्यु समिट कलेज मैतिदेवी, बिजेश्वरी मावि बिजेश्वरी, बागेश्वरी मावि भक्तपुर, एम्स कलेज लगनखेल, ब्ल्यु वर्ड कलेज ललितपुर, हिल प्वाइन्ट मावि पोखरा (काठमाडौं बाहिर पहिलोपटक खुलेको प्लस टु), नोबेल एकेडेमी बानेश्वर, मोरङको पथरीस्थित पञ्चायत मावि, बागबजारस्थित शहीद शुक्र मावि, झापाको काँकडभित्तास्थित इस्ट होराइजन इंगलिस स्कुलमा लगायतमा ११ र १२ कक्षाको ललितकला विषयमा अध्ययन गराइन्छ ।

यस्तै, केही सामुदायिक तथा निजी विद्यालयले कला विषयलाई ‘हबी’ विषयका रूपमा पढाइरहेका छन् । यसले बालबालिकाको सिर्जनशील क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । वास्तवमा कला सिक्नु भनेको कलाकार बन्नु मात्रै होइन जुनसुकै विषयको अध्ययन गरे त्यसमा सफलता पाउनु हो । कला सिकाइले विद्यार्थीलाई सिर्जनशील अभिप्रेरित गर्दछ । चाहे त्यो डाक्टर, इञ्जिनियर या अरू विषय होस् कला सिकाइले विद्यार्थी सिर्जनशील बन्दै आफ्नो क्षेत्रमा विशिष्टता हासिल गर्न सघाउ पुर्याउँछ ।

परम्परागत कलाको अध्यापन

कला स्कुल खुले पनि नेपालमा लामो समय परम्परागत कलाको पाठ्यक्रम बनेन र त्यसको अध्ययन अध्यापनमा खासै चासो दिएको पाइँदैन । १९९१ सालमा खुलेको नेपाल आर्ट स्कुलमा समेत यसलाई अध्ययनको विषय बनाइएन । २०३० सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललितकला क्याम्पसमा रुपान्तरण गरिए पनि यसमा परम्परागत कलाको शिक्षण पद्धति पाठ्यक्रमकै रुपमा गम्भीरताका साथ समेटेको पाइँदैन । तैपनि ललितकला क्याम्पसमा पहिले परम्परागत कलाबारेमा थोरै भए पनि सिकाउने प्रचलन भने रहेको थियो । पछि यो क्रम टुट्यो । त्यैपनि विद्यार्थीलाई प्रतिकृति उतार्न लगाउने क्रम भने जारी नै रहेको थियो । केही वर्षअघि परम्परागत कलाको औपचारिक पाठ्यक्रम बनाउने काम त्रिभुवन विश्वविद्यालयले ग¥यो तर, अध्यापनको कार्य अघि बढ्न सकेको छैन ।

यसअघि काठमाडौं विश्वविद्यालयको कला विभागले पनि परम्परागत कला सिकाउने कामलाई निरन्तर जारी राखेको छ । सन् २००३ मा खुलेको केयुको कला विभागले परम्परागत कलाको अध्यापनलाई त्यसयता जारी राखेको छ । त्रिविअन्तर्गत बनेको परम्परागत कलाको चार वर्षे स्नातक कोर्षले नेपाली कलाको मौलिक कलाको प्रवद्र्धन, संवद्र्धन तथा संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने आशा राख्न सकिन्छ । त्रिवि अन्तर्गत ललितकला क्याम्पसले पाठ्यक्रम बने पनि यो विषयलाई औपचारिक रुपमा प्रवेश गराएको छैन । त्रिविअन्तर्गतकै सिर्जना कलेज अफ फाइन आर्टस्ले भने यो विषयको अध्यापन गराएको थियो । नेपालमा परम्परागत कलाको अध्यापनको कार्यलाई व्यवस्थित रुपमा लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत अक्षेश्वर महाविद्यालयले सुरु गरेको छ ।

नीतिगत प्रयास

विश्वविद्यालयमा पश्चिमा शैली र चिन्तनकै आधारमा पाठ्यक्रम बनेर अध्ययन अध्यापन भइरहेको छ । तर, विद्यालय स्तरमा भने यसको पाठ्यक्रम बन्न सकिरहेको छैन । शिक्षा ऐन २०२८ बन्नुअघि पनि नेपालको विद्यालय स्तरीय पाठ्यक्रममा कला विषय केही हदसम्म भए पनि पढाइन्थ्यो । पछि ऐच्छिक रूपमा भए पनि केही विद्यालयमा कला शिक्षाको अध्यापन गराइए पनि हाल यो विषयलाई पाठ्यक्रमका विकास गरी पढाएको पाइँदैन । पछिल्लो समय कला शिक्षाका बारेमा विद्यालय तहमा पाठ्यक्रम बनाउने बहस जारी छ । यस कार्यमा विशेषगरी पाठ्य विकास केन्द्रले पहल लिनुपर्नेमा त्यसको प्रभावकारी काम हुन सकेको छैन । पाठ्य विकास केन्द्रले पाठ्यक्रम बनाउन आलटाल गरिरहेको सम्बन्धित सरोकारीले गुनासो गरिरहेका छन् । साथै परम्परागत कलाको त पाठ्यक्रम बन्न नै सकेको छैन । नेपालको मौलिक कलाको ज्ञान विद्यार्थीमाझ लैजाने र यसको महत्व र गरिमालाई अध्ययनका रुपमा विकास गर्ने पद्धतिप्रति खासै चासो राखेको पाइँदैन । नेपालको प्राचीनकालीन कलापद्धति र यसको आयामलाई विकास गर्दै समयापेक्ष बनाउने काममा विशेष पहल गरिनुपर्दछ ।

हुनत लिच्छवीकालमै नेपालबाट कलालगायतका वस्तु नेपालबाहिर निर्यात हुने प्रचलन थियो । खासगरी चित्र तथा मूर्तिकला तिब्बत तथा चीनमा पुग्थे या कलाकार नेपालबाट लगिन्थे । यसले नेपालको आर्यस्रोतमा टेवा दिन्थ्यो भने नेपाली मौलिक परम्पराको समेत फैलावट हुन्थ्यो । यति लामो परम्परा भएको नेपाली कलालाई विद्यालय तहबाटै पाठ्यक्रमका रुपमा विकास गर्न सकेमा यसले आयआर्जनसँगै पहिचान स्थापितमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । कला शिक्षाको महत्व नबुझेका व्यक्ति प्रशासनिक तहमा हुँदा त्यसले समग्र कला शिक्षाको आधार निर्माणमा प्रभाव पारेको छ । साथै जड मानसिकता तथा खोज अनुसन्धानभन्दा पनि बाह्य देशका शैक्षिक पाठ्यक्रमलाई अनुकरण गर्ने व्यक्तिलाई पाठ्यक्रम बनाउने जिम्मा दिइएका कारण पनि नेपालको कला शिक्षामा प्रभाव परेको छ । खासमा भन्ने हो भने नेपालका अधिकांश शैक्षिक कार्यक्रम खोज अनुसन्धान र मौलिकतामा भन्दा पनि बाह्य अनुकरण बढी रहेको पाइन्छ । यसले हामीलाई सांस्कृतिक रूपमै कमजोर बनाउने आधार निर्माण गरिरहेको छ ।

कला शिक्षाको प्रभाव

नेपालमा पश्चिमा चिन्तनको कला शिक्षाको प्रवेशसँगै यसको प्रभाव गहिरो गरी पर्न थालेको देखिन्छ । नेपालमा चलेको कला परम्परालाई पश्चिमा शिक्षणले नराम्रो गरी किचेको पाइन्छ । चाहे त्यो विद्यालय होस् या, विश्वविद्यालय या सरकारी संयन्त्र नै किन नहोस् । संस्कृतिमाथि प्रभाव जमाउन शिक्षालाई आधार बनाएर गरिएको प्रयोगले नेपाली मौलिक कला परम्परालाई किनारमा पु¥यायो । १९९१ सालमा कलासम्बन्धी स्कुल खुल्नु र त्यसले नेपालको मौलिक पक्षलाई शैक्षिक रूपमा नसमेट्नु तर पश्चिमा शिक्षण विधिलाई अंगीकार गर्नु नेपाली मौलिक पहिचानका निम्ति सामान्य कुरा होइन । यसमा राज्यले स्पष्ट नीति नबनाउँदा हामी औपचारिकरुपमै आन्तरिक संरचना निर्माणबाट आफै सांस्कृतिक अतिक्रमणको शिकार बन्न पुगेका छौं ।

कला शिक्षाका कारण सांस्कृतिक संकट

पश्चिमी प्रभावको शैक्षिक पद्धतिले नेपालको संस्कृतिमा दीर्घकालीन प्रभाव पारेको छ । विशेषगरी कला शिक्षामा पश्चिमा पद्धतिका कारण नेपालको प्राचीनकालदेखि चल्दै आएको कला परम्परालाई शैक्षिक पाठ्यक्रमका रूपमा अघि बढाउन सकिएको छैन । अधिकांश पठित (विश्वविद्यालयमा) कलाकारले अनुसरण गर्ने शिक्षा पद्धतिले नेपालको कला परम्पराको स्कुललाई विस्थापित गरेको छ । जस्तो भारतमा अंगे्रज शासनकालमै बंगाली कलाकारले बंगाल स्कुलको विकास गरेका थिए । त्योभन्दा अघि राजा रवि बर्माले अंग्रेजको प्रभावबाट मुक्त हुनलाई भारतीय शैलीको सुरुआत गरेका थिए । उनले भारतीय संस्कृतिलाई अनुसरण गर्दै बनाएका कलाले राष्ट्रवादी आन्दोलनलाई समेत सघाउ पुर्याएको थियो ।

नेपाली समाजमा आफ्नै मौलिकता बोकेका लोक परम्परागत कला धार्मिक, सांस्कृतिकरूपमा मात्रै बनिरहेका थिए । पश्चिमी प्रभावसँगै यिनले बोकेको ऐतिहासिक वैभवप्रति राज्य र कला समुदाय पनि बिस्तारै टाढिँदै जान थाल्यो । परम्परागत रूपमा बनाइने थाङ्का र पौभा, लोककला तथा संस्कारजन्य चित्रले नेपालको प्राचीन वैभवतालाई जीवन्त बनाइराख्ने कलाप्रति कलाकारको अभिरुचि पनि कम हुन थाल्यो । यसको मुख्य कारण व्यवसायिक पक्ष थियो । २०२० सालको दशकपछि नेपालमा मौलिकरूपमा बनेका परम्परागत कलाको व्यवसाय निकै फस्टाउँदै गएको देखिन्छ । साथै आफ्नो मौलिक परम्परालाई शैक्षिकरूपमा जोड्ने काम राज्य तहबाट अद्यापि हुन सकेको छैन । यसको मुख्य कारण नेपालमा जति पनि कला शिक्षा अध्ययन गरेका कलाकार छन् उनीहरूले प्रायः ब्रिटिस ‘बेस’ को भारतीय स्कुललाई अधिक मात्रामा पछ्याएका छन् । यस्तै, यसबाहेक चीन, रुस तथा अन्य देशमा अध्ययन गरेर आएका कलाकारले समेत यही विधि र पद्धतिलाई अनुकरण गरे । लामो समयसम्म मौलिक कलाको शैक्षिक पाठ्यक्रम बनाउन न त राज्यले ध्यान दिन सक्यो न त कलाकारले नै ।

अझ यसप्रति वितृष्णा पैदा गर्ने माहोल नै तयार पारियो । मौलिकताप्रति हेयको भाव पैदा गर्न अहिलेका कतिपय अग्रज कलाकारले योगदान नै दिएका छन् । उनीहरूले मौलिक कलाको पक्षपोषण गर्नुको सट्टा यसको महत्वलाई नजरअन्दाज गर्दै बोले तथा लेखे । साथै शैक्षिक पाठ्यक्रम बनाउन सधै असहयोग नै गरे । साथै संस्थागतरूपमा विकास भएका नेपाल ललितकला संस्था (नाफा) मार्फत प्रदर्शनीबाहेक यिनका बारेमा खोज अनुसन्धानका कार्य निकै कम मात्रामा गरिए । परम्परागत कलाको पछिल्लो समय स्नातक तहको पाठ्यक्रम त बनाइएको छ तर यसको अध्ययन अध्यापनमा क्याम्पसले त्यति अभिरुचि देखाएको पाइदैन । अर्काको अनुकरणले आफ्नो पहिचान बन्न सक्दैन । अरू देशमा नभएको आफ्नो परम्परा र शैलीलाई अगाडि बढाउन सकेमात्रै आफ्नो पहिचानलाई अन्तर्राष्ट्रियरूपमा स्थापित गराउन सकिन्छ । अर्काले लिइरहेको परम्परा र शैलीमा काम गर्दा न त आफ्नो पहिचान बन्न सक्छ न त त्यसले मौलिकतालाई ग्रहण गर्न सक्छ । नेपाली कलामा देखापरेको मौलिकताको संकट पनि यहीबाट सुरु हुन्छ । उदाहरणका लागि नेपालका अधिक कलाकार भिन्सेन्ट भ्यानगग या पाब्लो पिकासोको शैलीबाट प्रभावित छन् । के उनीहरूले विकास गरेको चिन्तन र शैलीलाई पछ्याएर नेपाली कलाकारले आफ्नो पहिचान स्थापित गर्न सक्लान् त ?

निष्कर्ष

विश्वविद्यालय तथा विद्यालय तहमा नेपालका मौलिक कला परम्परालाई स्कुलका रूपमा विकास गर्दै आम मानिससम्म आफ्नो पहिचानलाई स्थापित गर्दै अन्तर्राष्ट्रियकरण गर्नका लागि प्रयत्न गरिनुपर्दछ । साथै अहिले शैक्षिक पद्धतिमा सुधार ल्याई समयानुकूल बनाइनुपर्दछ । पाठ्यक्रम निर्माण गर्दा आवश्यकता र औचित्यका आधारमा नेपाल तथा विश्वमा चलेका विधि र पद्धतिलाई ध्यान दिनुपर्दछ । शिक्षा नै यस्तो शक्ति हो जसका माध्यमबाट समाज र आममानिससम्म पुग्न सकिन्छ । राज्यले नेपाली मौलिक कलालाई पनि समानान्तररूपमा शैक्षिक पाठ्यक्रममा समावेश गर्ने वातावरण निर्माण गर्नुपर्दछ । यसो हुन सक्यो भनेमात्रै नेपाली कलाको समुच्य विकास सम्भव छ ।

प्रतिक्रिया