धर्मको निहुँमा सुनसरीमा हिंसा

गत ८ माघमा भारतको अयोध्यामा भगवान रामको मन्दिर उद्घाटन तथा प्राणप्रतिष्ठाका क्रममा लगाइएको तुल, झन्डा मुस्लिम समुदायका व्यक्तिले च्यातिदिएपछि सुरु भएको विवादले धार्मिक द्वन्द्वको रूप लिएको हो

काठमाडौं । सुनसरीमा दुई धार्मिक समूहबीच भएको विवादले उग्र रूप लिएपछि सम्भावित क्षति रोक्न स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । सुनसरीको हरिनगरमा शुक्रबार भएको दुई समूहबीचको झडपपछि प्रशासनले जिल्लाका ५ स्थानीय तहमा कफ्र्यु आदेश जारी गरेको हो ।


जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगन्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोसी गाउँपालिकामा कफ्र्यु आदेश जारी गरेको हो ।


स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम शुक्रबार साँझ ५ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नहुँदासम्मका लागि निषेधाज्ञा लगाइएको सूचनामा उल्लेख छ । कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जारी गरेको आदेशमा अत्यावश्यक काममा सुरक्षा निकायको समन्वयमा बाहेक आवतजावत गर्न, भेला हुन, सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, ¥याली भेला तथा प्रदर्शन कुनै पनि कार्य नगर्न/नगराउन भनिएको छ ।
घटनापछि शुक्रबार दिउँसो पनि सो क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । शुक्रबार मध्यान्न १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिकाका सबै वडा र देवानगन्जका १ र ७ नम्बर वडामा निषेधाज्ञा जारी भए पनि प्रदर्शन नरोकिएपछि प्रशासन कफ्र्यु लगाउने अवस्थामा पुगेको हो ।

दिउँसो भएको प्रदर्शनका क्रममा सम्भावित झडप रोक्न प्रहरीले गोली चलाएको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ । सो क्रममा १६ जना प्रहरी र ७ जना प्रदर्शनकारी घाइते भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

के हो घटना ?

हरिनगर गाउँपालिका–१ भुटाहामा बिहीबार एक युवकमाथि स्थानीयले कुटपिट गरेका थिए । कुटपिट भएको विषयमा शुक्रबार २ समूहबीच झडप भएको थियो । बिहीबार स्थानीय जीवन मेहतामाथि सामूहिक आक्रमण भएको थियो ।

एसइई दिन गएकी आफ्नी बहिनीलाई लिन जाँदा बाटो छेकेर मेहतामाथि सडकमा घिसार्दै निर्घात कुटपिट गरिएको थियो । सोही घटनालाई लिएर शुक्रबारबाट हिन्दु–मुस्लिम समुदायबीचको विवादले उग्र रूप लिएको हो ।

यो घटनाको कहानी भने अयोध्याको राम मन्दिरसँग जोडिएको छ । गत ८ माघमा भारतको अयोध्यामा भगवान रामको मन्दिर उद्घाटन तथा प्राणप्रतिष्ठाका क्रममा त्यहाँ लगाइएको तुल, झन्डा मुस्लिम समुदायका व्यक्तिले च्यातिदिएपछि तनाव बढेको थियो । त्यसबारेमा अस्थायी प्रहरी चौकीमा निवेदन पनि दिएको हिन्दु समुदायको दाबी छ । त्यसपछि दुवै समुदायबीच छलफल भई सद्भाव बिग्रिने गतिविधि नगर्ने सहमति भएको थियो ।

तर, उक्त सहमतिपछि पनि २ समुदायबीचको विवाद साम्य हुनुको सट्टा झन् अराजकता बढेको थियो । सोही विवादका कारण मेहतामाथि कुटपिट भएको बताइएको छ । अझ धार्मिक सद्भाव भड्किने गरी बनाइएका केही भिडिओले पनि हिन्दु–मुस्लिम द्वन्द्व झन् बढाएको थियो ।

प्रतिक्रिया