काठमाडौं ।
‘आहै ! कति प्यारो नानी’
भित्ताभरि टाँसिएका बच्चाका तस्बिरले रीमा घलेको मन थामिँदैन । चिकित्सकको पालो कुर्दै बसेकी उनी जुरुक्क उठेर तस्बिर भएतिर पुग्छिन् । औँलाले आकृति सुम्सुमाउँछिन् । यतिले मात्रै उनको मातृत्व भरिँदैन । मोबाइलले तस्बिर खिच्न थाल्छिन् । हुन त उनको रहर काखैमा बच्चा समाउने, हुर्काउने थियो तर तस्बिर हेरेरै चित्त बुझाउनुपर्ने नियति छ ।
बिजुलीबजारस्थित निःसन्तान केन्द्रमा बाँझोपनको उपचार गर्न आएकी उनी भन्छिन्, ‘आमा बन्ने रहरले केसम्म गरिनँ, सन्तानको तिर्खाले मन भतभती पोल्छ, सताउँछ ।’ अर्घाखाँची घर भएकी ४२ वर्षीया रीमालाई आमा बन्नुको पछाडि शारीरिक आवश्यकतासँगै सामाजिक बोझसमेत छ । सन्तान जन्माउन ढिलाइ भएकै कारण उनले परिवार र समाजमै विभेद खेप्नुपरेको बताउँछिन् ।
सन्तान जन्माउने सपना बोकेर उनका दम्पतीसहित निःसन्तान केन्द्रमा धाउनुपरेको छ । उपचारका लागि ६ महिनादेखि पालो कुरेर केन्द्र आउन सकेको उनले बताइन् । ‘सकेसम्म प्रयास गर्छु, भइहाल्छ कि’, उनी भन्छिन् । सन्तानको सपना बोकेर आउनेहरुले उपचार केन्द्र भरिभराउ हुन्छ । आमा, बुबा बन्न सफल भएका पात्र देखेर कतिपय दम्पतीमा भरोसा जाग्छ ।
सर्लाहीकी भीमा साह सन्तानप्रति उनले सजाएका थुप्रै सपना छन् । कुनै दिन उनमा पनि आमा बनेर सन्तानसहित खिचेको तस्बिर सुत्ने कोठाको भित्तामा टाँस्ने रहर छ । त्यति मात्रै होइन, सबैभन्दा ठूलो रहर त उनले मातृत्व अनुभूति गर्नुछ । सुत्दा, उठ्दा, हिँड्दा, बोल्दा जहाँसुकै सन्तानकै पीडाले पिरोल्छ उनलाई । बिहे गरेको पाँच वर्ष नाघ्यो ।
भीमाका दम्पती निःसन्तान छन् । उपचारका लागि सामान्य खर्च गर्दै आएपनि के समस्या हो अझै पत्तो लागेको छैन । बिजुलीबजारस्थित निःसन्तान केन्द्रमा उपचार गर्न आएका यी दम्पतीले सन्तानको रहर पूरा हुने वा नहुने उपचारकै क्रममा थाहा पाउने गर्छन् ।
उनले जस्तै सन्तानको तिर्खा लिएर चिकित्सक कहाँ भौँतारिने दम्पती थुप्रै छन् । एक्लै हुँदा आफूलाई मात्रै यस्तो परेको जस्तो मानेकी ललितपुरकी जेनिसा श्रेष्ठ जब उपचार केन्द्रमा अन्य निःसन्तान दम्पती देख्छिन्, मन शान्त पार्छिन् । २९ वर्षीया उनले सन्तान नभएकै कारण मायाले समेटिएको परिवारमा पीडा थपिएको अनुभव सुनाइन् ।
सन्तान जन्माउन नसकेपछि श्रीमानको अर्कै बिहे गरिदिने दबाब आएको उनले दुःखेसो पोखिन् । उनी भन्छिन्, ‘एकातिर बाँझो हुनुको पीडा छ, अर्कोतिर बेघर हुने डर ।’ सन्तानको तिर्खा एकातिर छँदैछ । सन्तान नहुँदा समाज र परिवारले दिने पीडा अर्को समस्या छ । खासगरी महिलाले निःसन्तान हुनुको बोझ बढी झेल्नुपर्छ । उनी निःसन्तान हुन् ।
बिहे गरेको थुर्पै वर्ष पुग्दा पनि उनी आमा बन्न सकिनन् । परिवारमा ‘बाँझी आइमाई, अलच्छिनी आइमाई’ भन्दै दुर्व्यवहार गर्न थाले, छोरीको माया गर्ने थलो भनेको माइतीघर हो । उनी त्यही विश्वासका साथ सानीआमाको छोरीको बिहेमा पुगेकी थिइन् । उनी उत्साहित हुँदै जन्ती ल्याउन अघि सर्न नपाउँदै, उनकी सानीआमाले सबैको अगाडि समाएर घिसार्दै तानिन् ।
‘यस्तो विवाहको अवसरमा तँ बाँझी आइमाई अगाडि देखा परेर अपसगुन गरिस्, तँ अलच्छिनीले गर्दा अब बहिनीको पनि बच्चा हुँदैन’ भनेर गाली गर्दै कुटपिट गरिन् । घरमा सासूलगायतले दिने यातना त छँदै थियो माइतीमा पनि यस्तो अपमान र यातना पाएपछि उनले सहन सकिनन् ।
सिधै त्रिशूलीतिर हामफाल्न कस्सिइन् । ‘समाजले न मर्न दिन्छ, न बाँच्न नै उनी भन्छिन्, ‘एक जना गाउँकै भाइले देखेर बचायो ।’ सन्तान नहुनुमा दोष उनको मात्रै छैन । कुलत र धुप्रपानमा फसेका श्रीमानमा शुक्रकिट कमी हुनाका साथै उनको अण्ड विकास कमजोर छ ।
दम्पती दुवैको समस्याले सन्तान नजन्मिएको हुँदा समाजले महिलालाई नै दोषी ठहर गर्ने पितृसत्तात्मक सोचको सिकार उनी भएकी छन् । डा. उमा श्रीवास्तवका अनुसार सन्तान नहुनुको सामाजिक विभेदमा सबैभन्दा बढी महिला पर्छन् ।
६० वटा मुद्दामा एक जना मात्रै पुरुष पीडित छन् । नभए सबै महिला सामाजिक र पारिवारीक चपेटामा परेको अवस्था छ । सन्तान नभएकै कारण ‘बाँझी आइमाई’ भन्दै सरापेर नन्दले तातोपानी खनाइदिएको घटना डा. श्रीवास्तवले पीडितबाट सुनेको बताइन् ।
श्रीमानबाट सन्तान नहुने सम्भावना देखिएमा पत्नी अझै पीडित हुन्छन् । कतिपय श्रीमानले आफू सन्तान उत्पादन गर्न नसक्ने अवस्था लुकाउन तीन जना पत्नी बिहे गर्न पछि नपरेको उदाहरण छन् । डा. श्रीवास्तवका अनुसार पत्नी पढेलेखा शिक्षित र सुन्दर थिए ।
श्रीमानको कुनै राम्रै व्यवसाय छ । उनी काठमाडौं बाहिरबाट आएका थिए । एक सन्दर्भमा श्रीमतीले ‘मभन्दा अघिकी श्रीमती बच्चा नहुँदै छोडेर गएपछि उनले मलाई बिहे गरेको’ भने । श्रीमतीले खुलेर कुरा गरिन् तर श्रीमान अलि अनकनाउँदै थिए ।
यसअघि धेरै वर्ष पहिले उनी दोस्रो पत्नी लिएर क्लिनिकमा निःसन्तान उपचार गर्न आएका थिए । त्यतिबेला नै चिकित्सकले तपाईको शुक्रकीट उत्पादन हुँदैन, वीर्यदाताबाट सन्तान जन्माउन सकिन्छ भन्दै सल्लाह दिइएको थियो । त्यो सल्लाहले ती पुरुष रिसाएर अस्वीकार गरे ।
आफू सन्तान उत्पादन गर्न सक्षम भएको दाबी गर्दै उनले फेरि अर्को बिहे गरेछन् । तेस्रो पत्नीका साथ पुनः क्लिनिकमा उपचार गर्न आएपछि डा. श्रीवास्तवले त्यही सल्लाह दिएको बताइन् । उनी भन्छिन्, ‘पितृसत्तात्मक सोचले पुरुषले यथार्थ स्वीकार गर्दैनन् जसको मर्कामा महिला परेका छन् ।’
नेपाली समाज बाँझोपन ठूलो समस्याका रुपमा देखापरेको छ । निःसन्तान केन्द्रकी चिकित्सक डा. उमाले केही वर्षयता निःसन्तानको समस्या बढ्दो रहेको बताइन् । विश्वभरि नै प्रत्येक दिन ६ जनामध्ये एक जनामा बाँझोपन भएको उनले सुनाइन् । ढिलो विवाह, खानपान, परिवार नियोजनका अस्थायी साधनको अत्याधिक प्रयोगलगायत थुप्रै कारणले बाँझोपन निम्तिएको डा. श्रीवास्तवको ठहर छ ।
आमा बन्ने मोह र सामाजिक दबाबमा परेर महिलाले सन्तानको इच्छा पूरा गर्न अनेक कष्ट र चुनौती पार गर्नुपर्ने हुन्छ । यसको पछिल्लो उदाहरण हो थापाथलीस्थित प्रसूति गृहबाट नवजात शिशु चोरी गरेर लगेकी एक महिलाको मर्मस्पर्शी घटना । पटक–पटक सन्तान गर्भपतन भएको पीडासँगै बच्चा नभएर घरै फर्किन नसक्ने स्थिति भोग्दै आएकी ती महिलाले बच्चा चोर्नुबाहेक कुनै उपाय नदेखेको बताएकी थिइन् ।
टेस्ट्युब बेबीको अवधारणालाई नेपालमा प्रयोग गरेका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका अनुसार बाँझोपनको पीडा सामान्य होइन । महिलाले यो समस्याबाट धेरै दुःख र यातना पाएका छन् । वि.सं. २०४० यताको तथ्यांक हेर्ने हो भने बाँझोपनको दर उकालो लागेको डा. रिजालको ठम्याइ छ ।
झन्डै १० वर्ष अघिको आँकडा हेर्दा १५ प्रतिशत निःसन्तान समस्या देखिएको थियो । यो तथ्यांक बढेर २२ प्रतिशत पुग्न लागेको उनी सुनाउँछन् । ‘वैदेशिक रोजगारमा जाने श्रीमान र ढिलो विवाह गर्ने महिलाको संख्या बाँझोपनको मूल समस्या बन्दै गएको छ’, उनी थप्छन्, ‘साथै अनधिकृत औषधि सेवनले पाठेघर कमजोर बनाउँदैछ ।’– रासस
प्रतिक्रिया