‘घुमौँ भरतपुर’ राष्ट्रिय लज्जाको विषय

राजाले देशको शान राख्न बनाइदिएको बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अहिले सम्मेलन हुँदैन । त्यहाँभित्र बसेर राजालाई गाली गरिन्छ । एउटा मात्रै सम्मेलन केन्द्र बनाउन त सकिएन, भएको पनि कब्जा छ । रत्नपार्क त मासियो, अब एउटा बसपार्क बनाउन मिल्ने कुनै नयाँ ठाउँ छैन । त्रिभुवन विश्वविद्यालय अहिले खुल्थ्यो भने त्यो बागबजारको एउटा अग्लो बिल्डिङमा हुन्थ्यो होला सायद । लोकतान्त्रिक कान्ति बाल अस्पताल, शिक्षण अस्पताल कस्तो बन्थ्यो होला, हेर्ने मन धेरैलाई छ ।

नारायण गाउँले

यतिबेला ‘घुमौँ भरतपुर’ भन्ने अभियान चल्दै रहेछ । पोखराले त आफैँले आफैँलाई पर्यटनको राजधानी घोषणा गरेको रहेछ । बुटवलबाट जम्मा १२० किमीको बाटो पार गरेर भरतपुर आउन झन्डै ६ घण्टा लाग्छ । धुलोले मान्छेको अनुहार चिनिन्न । काठमाडौंबाट बसमा पोखरा पुग्न एक दिन लाग्ने रहेछ ।

कुइरीमण्डल धुलो र खाल्डाखुल्डीले शरीर र फोक्सो कस्तो होला, हिँड्नेहरूले मात्रै बताउलान् । एकपटक यो बाटोबाट आउने पर्यटक सायदै जीवनमा अर्कोपल्ट फर्केर आउला । सडक छेउका लाखौँ नागरिकले अति खतरनाक र चिन्ताजनक स्तरको स्वास्थ्य समस्या भोगिरहेका छन् । त्यसबारे सोच्न त हामीलाई फुर्सत नै छैन । विकल्प भनेको हवाइ मार्ग हो । नेपालको बस यात्रा विश्वकै सस्तो र हवाइ यात्रा महँगो मध्येको एक रहेछ । २५ मिनेटको काठमाडौं–भरतपुर एकतर्फी यात्राको टिकटदर ४७ सय रुपैयाँ छ, जुन झन्डै ३५ डलर जति हो । बुद्ध एअरको एकछत्र व्यापार रहेको यो रुटमा लाग्ने भाडाले युरोपमा अन्तर्देशीय उडान गर्न सकिन्छ ।

अझ रोचक र राष्ट्रिय लज्जाको विषय के छ भने पर्यटनमैत्री देश भनेर चिनाउन चाहने नेपालले राष्ट्रियता हेरेर टिकट मूल्य तोक्छ । भारतीय पर्यटकले पाँच हजार तिर्ने टिकट चिनियाँ यात्रीले काट्ने बित्तिकै डबल मूल्यको हुन्छ । यस्तो विभेद सायदै अन्यत्र भेटिएला । अति विकट क्षेत्रमा, कमर्सियल फ्लाइट नहुने ग्रामीण क्षेत्रमा राज्यले अनुदान दिएर आफ्ना नागरिक (त्यो पनि स्थानीय)लाई सस्तो टिकट उपलब्ध गराएको भए विदेशी पर्यटकले अनुदानरहित महँगो टिकट काट्नु जायज नै हुँदो हो । तर, नेपालमा काठमाडौं–पोखराजस्तो सबैभन्दा व्यस्त कमर्सियल रूटसहित देशभरि यस्तो विभेद कायम छ । नेपाली या इन्डियन नागरिकले तिर्ने मूल्य आफैँमा अति चर्को छ । त्यसमा राज्यको कुनै सब्सिडी या छुट त परै जाओस्, चर्को कर र मुनाफा जोडिएको छ । त्यसमाथि चाइनिज या युरोपियन नागरिकले त्यसको डबल तिर्छ । नागरिकताको आधारमा विभेद भोगेपछि कसको मन सकारात्मक बन्ला ? कस्तो सन्देश बोकेर ऊ फर्केला ?

सानो विमान भएकाले भाडा महँगो भएको रेडिमेड तर्क हुने रहेछ । सानो विमानको खरिद मूल्य नै सानो हुन्छ । त्यसको ह्यान्डलिङ, ह्यांगर, इन्टरेस्ट पेमेन्ट, सर्भिसिङदेखि फ्युल कस्ट पनि सानै हुन्छ । विमानभित्र सेवा र सेवा दिने मान्छे पनि कम हुन्छन् । एउटा चकलेट दिएर काम चलाइन्छ । कहिल्यै टाइममा उड्न पर्दैन । उताबाट ढिलो उडेकाले यता ढिलो भयो भनेर ओठे जवाफ दिए पनि पुग्छ । मौसमलाई देखाए पनि पुग्छ । कति सजिलो छ । त्यसैले सानो विमान भन्ने तर्क आफँैमा सानो तर्क हो ।

फेरि पोखरा त अन्तर्राष्ट्रिय विमानस्थल हो । कत्ति चलेको छैन । सुक्खा राखेर थोत्रो हुन दिनुभन्दा कर घटाएर आन्तरिक उडानलाई बढाउन पनि सकिन्छ । ठूला विमान उडाउन पनि त सकिन्छ । कसरी सस्तो र सुलभ यातायातको सुविधा नागरिक या पर्यटकलाई दिन सकिन्छ भनेर कसैले चिन्ता र गृहकार्य गरेको होला या नहोला ? प्लेन उड्नु विकास होइन, त्यसको उपभोग आमनागरिकले सुलभ र सहज रूपमा गर्न पाउनु बल्ल विकास हो ।
यदि देशमा पर्यटनप्रति साँच्चिकै चिन्ता र माया हो भने सबैभन्दा पहिले दिल्ली–काठमाडौं या दोहा, दुबई–काठमाडौंको हवाइ भाडा कसरी घटाउन सकिन्छ भन्ने सोच्न जरूरी छ । सहज कनेक्टिविटी पर्यटनको आत्मा हो । नेपालको सोझो उडान धेरै देशसँग छैन । धेरै पर्यटक भारत र गल्फ हुँदै आउँछन् । अहिले युरोपबाट नेपाल आउने टिकटले सिंगो युरोप घुम्न पुग्छ । भारत भनेको छिमेकी विहार या उत्तरप्रदेश मात्रै होइन । विश्वभर भारतीय पर्यटकको माग छ ।

दोस्रो, छिमेकी देश चीनका पर्यटक आज विश्वभर पुग्छन् । तिनको घुम्ने चाह र खर्च गर्न सक्ने क्षमता बढ्दो छ । कम्तिमा समुद्र पारिको बेलायत पुग्न भन्दा छिमेकको नेपाल आउन महँगो बनाउन त भएन नि । अझ यति हुँदासमेत माया गरेर आउने चिनियाँ या युरोपियन पर्यटकलाई विभेद गर्दै दोब्बर भाडा लिने हो भने त हाम्रो पर्यटनको लक्ष्य २० लाखभन्दा माथि उठ्न मुश्किल छ । भ्रमण वर्ष, पर्यटनको राजधानी, भू–स्वर्ग, देवभूमि जस्ता दुई–चार दर्जन नेता मञ्चमा राखेर गरिने घोषणाभन्दा आधारभूत तहमा काम गरेर नीति र पूर्वाधार निर्माण गर्ने हो भने भ्रमण गर्नेहरू आफैँ बढ्थे होला ।

मञ्चमै कार्यक्रम गर्ने भए पनि पुङ न पुच्छरको भाषण गर्नुभन्दा यो–यो अन्तर्सहर बाटो निर्माण सम्पन्न भएर सहज बनेको छ, यति हवाई सिट थपिएको छ, भाडादरलाई यसरी प्रतिस्पर्धी बनाइएको छ, हस्पिटालिटी क्षेत्रमा यति क्षमता वृद्धि भएको छ, खाद्य गुणस्तर र अनुगमन यसरी प्रभावकारी बनेको छ, हिजोको पूर्वाधारले यति थेग्थ्यो, आज यति पुगेको छ, वातावरण–पर्यटनमा यति काम भएको छ, धार्मिक पर्यटनका लागि यस्ता योजना बनेका छन्, ग्रामीण पर्यटनका यस्ता सम्भाव्यता अध्ययन भएर कार्यान्वयनमा गएका छन् भनेर पाँच–पाँच मिनेटको प्रस्तुति दिने गरी कार्यक्रम गर्न पनि सकिन्छ होला । हामी साह्रै सतही र लिपापोती वाला विकासमा विश्वास गर्ने खालको किन भयौँ होला ?

राजाले ‘महेन्द्र राजमार्ग’ नबनाएको भए प्रजातन्त्र आएको ३० वर्षसम्म पनि नेपालमा पूर्व र पश्चिम नजोडिने रहेछ । यो तीतो सत्य हो । जम्मा एक लेनको र साइकलदेखि ट्याम्पू र पैदलयात्रीदेखि चौपायासम्मले निर्वाध प्रयोग गर्ने यो सडक ‘राजमार्ग’ होइन । तर, हाम्रो ३० वर्षे प्रजातन्त्रले त्यसको विकल्प दिन सकेन । आज हामी ३० वर्षदेखि रेलको कुरो गरेर घोषणापत्र लेखिरहेछौँ । जनकपुर–जयनगर रेले त्यही रेल लाइन हो, जुन राजाको पालामा चल्थ्यो र प्रजातन्त्र आएपछि कार्यकर्ता भर्ती केन्द्र बन्दै थला प¥यो ।

राजाले बनाएको नारायणी नदीको पुलको आयु सकियो र पनि चलिरहेछ, लोकतान्त्रिक ‘पप्पु पुल’ हरू उद्घाटन नहुँदै भत्किन्छन् । नारायणी या कर्णालीको पुल भत्कियो भने बन्न अर्को २० वर्ष लाग्नेछ । अरनिको राजमार्गजत्तिको भरपर्दो अर्को उत्तरी नाका जोड्ने राजमार्ग आजसम्म बन्न सकेको छैन, भाषणमा भने धेरै नाका खुलेका छन् । काठमाडौंकै रिङरोड होस् या एअरपोर्ट, ३० वर्षे प्रजातन्त्रले केही थपेको छैन । १० वर्ष लगाएर त्यही रिङरोडमा एक–दुई लेन र आकासे पुल थपेको फोटो उपलब्धिका रूपमा देखाउनुपरेको छ । राजधानीमा भएको त्यही एउटा घण्टाघर पनि अहिले चल्दैन ।

यत्रो राजधानीमा कुनै एउटा नयाँ पार्क, रंगशाला, नाचघर, सभागृह ताल, ढुंगे धारा, धर्मशाला या पाटीपौवाजस्ता सार्वजनिक पूर्वाधार थपिएका छैनन् । राजाले देशको शान राख्न बनाइदिएको बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अहिले सम्मेलन हुँदैन । त्यहाँभित्र बसेर राजालाई गाली गरिन्छ । एउटा मात्रै सम्मेलन केन्द्र बनाउन त सकिएन, भएको पनि कब्जा छ । रत्नपार्क त मासियो, अब एउटा बसपार्क बनाउन मिल्ने कुनै नयाँ ठाउँ छैन । त्रिभुवन विश्वविद्यालय अहिले खुल्थ्यो भने त्यो बागबजारको एउटा अग्लो बिल्डिङमा हुन्थ्यो होला सायद । लोकतान्त्रिक कान्ति बाल अस्पताल, शिक्षण अस्पताल कस्तो बन्थ्यो होला, हेर्ने मन धेरैलाई छ ।

हामीमा दीर्घकालीन सोच, भिजन र इच्छाशक्ति नै छैनजस्तो लाग्छ । ट्रलिबस सिध्याएर दुई वटा बिजुली बसको उद्घाटनलाई नयाँ युग भन्न बाध्य छौँ । त्यो पनि ग्यारेजमै छ । हिजो चितवन नेसनल पार्कदेखि बर्दिया राष्ट्रिय निकुञ्जजस्तो संरक्षणवादी काम भएका थिए । हाम्रो पर्यटनको आधार त्यही हो । अहिले हामी रूख काट्ने अभियानमा छौँ । खासमा यो ३० वर्षमा जति विकास भएका छन् ती सरकार नै नभएको भए पनि हुने खालका छन् ।

भनिन्छ, ३० वर्षअगाडि नै भारतले नाकाबन्दी लगाउँदा पञ्चायती प्रधानमन्त्री मरिचमानले जहाजबाट मट्टितेल भित्र्याएका थिए । तर, हामीले एकथोपा तेल कहीँबाट ल्याउन सकेनौँ । भारतको दया अनि नाकाबाट हुने चोरीको तेल चढेर हाम्रा पूजनीय नेताले नाकाबन्दीको डटेर सामना गर्ने भाषण गरिरहे । राजा फाल्नका लागि भने हामीले धेरै ग¥यौँ । भएका सीमित पूर्वाधारमाथि बम पड्कायौँ । पुल र टेलिफोन टावर उडायौँ । हजारौँ नागरिकले ज्यान गुमाए । पाँच विकास क्षेत्रलाई काटकुट पारेर सात वटा प्रदेश बनायौँ । र राजाको ३० वर्षे शासन काललाई कालो युग भन्यौँ ।

हिजो विश्वकै शक्तिशाली बेलायती रानी हाम्रो राजालाई रिसिभ गर्न स्टेसनसम्म आउँथिन्, आज देश चिनाउन एकनाथ ढकालको शरण पर्नुपरेको छ । म मानिदिन सक्छु, पञ्चायती शासन कालोयुग थियो । तर अहिलेको युग त्यसभन्दा कालो छ । एउटा कालो युगमा उभिएर अर्को कालो युगलाई सराप्नुको के अर्थ हुन्छ र ? अरू देश इतिहासमाथि गर्व गर्छन् । हामी गर्व नगरौँ तर इतिहासलाई नसरापी पनि त अघि बढ्न सकिन्छ ।

प्रतिक्रिया