टी–२० क्रिकेटमा नेपालले भारतको बरोडालाई २७ रनले हरायो

काठमाडौं । भारतमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आज नेपाले आफ्नो दोस्रो खेलमा भारतको बरोडा क्लवलाई २७ रनले हराएको छ । याेसँगै यस सिरजिमा नेपालको लगातार दोस्रो जित हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएर बरोडालाई जितका लागि १५७ रनको लक्ष्य दिएको थियो । नेपालविरुद्ध जितका लागि १५७ रनको विजय लक्ष्य पछ्याएको बरोडा निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२९ रनमात्रै बनाउन सक्यो ।

बरोडाका भानु पानियाले २६ बलमा ३ छक्कासहित सर्वाधिक ३६ रन बनाए । कप्तान विष्णु सोलांकीले ३२ बलमा २ चौकासहित २५ रन बनाए । बाबा खानले १८ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए । नेपाललाई तीव्र गतिका बलर करण केसीले पहिलो ओभरमै किन्ती पटेल र शस्वात रावतलाई शून्यमा आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

सोमपाल कामीले मोहित मोंगियालाई ३ रनमा बोल्ड गर्दा ३.४ ओभरमा २१–३ को अवस्थामा पुगेको थियो । त्यसपछि अमित पासी १४ रनमा रन आउट भए । दीपेन्द्रले उत्कृष्ट रन आउट गरेका थिए । एक समय २२–५ को दयनीय अवस्थामा पुगेको बरोडालाई छैटौँ विकेटका लागि भानु र विष्णुले ५३ रनको साझेदारी गरेका थिए ।

नेपालका करण केसीले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले २, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ११ विकेट लिए ।

यसअघि नेपालका लागि कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४० र दीपेन्द्र सिंह ऐरी ५ रनमा नट आउट रहे । सन्दीप जोरा १६ बलमा समान २ चौका र छक्कासहित २९ रन बनाएर रनआउट भए ।

एक समय १२।५ ओभरमा ८२–५ को अवस्थामा पुगेको नेपाललाई छैटौँ विकेटका लागि सन्दीप र कुशलले २९ बलमा ४७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

ओपनर आसिफ शेख र कुशल भुर्तेल ९–९ रनमा आउट भएका थिए । अनिलकुमार साह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए । कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ र गुलशन झा १३ रनमा आउट भए ।

बरोडाका बाबा खानले २, मोहित मोंगिया र परिक्षित पाटिदारले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा आइतबार गुजरातको स्टेट टोलीलाई आठ विकेटले हराएको थियो ।

त्यसैगरी गुजरातले सोमबार बरोडालाई पाँच विकेटले हराएको थियो । नेपालले बुधबार पुनः गुजरातसँग खेल्ने तालिका छ भने शुक्रबार बरोडाविरुद्ध पुनः खेल्नेछ । शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया