एमाले पाँचथरको अध्यक्षमा विष्णुप्रसाद सापकोटा

पाँचथर । नेकपा एमाले पाँचथरको नवौँ जिल्ला अधिवशेनबाट विष्णुप्रसाद सापकोटा अध्यक्षमा र सचिवमा पृथ्वी लावती सर्वसम्मत चुनिएका छन् । उपाध्यक्ष, उपसचिव खुल्ला र महिला खुल्ला सदस्य पदमा सोमबार साँझ मतदान सम्पन्न भएको छ ।

उपाध्यक्षका प्रतिस्पर्धी विरबहादुर कुरुम्बाङ र नरबहादुर गुरुङमा कुरुम्बाङ विजयी भएका छन् । उनी २ सय ३६ मतसहित निर्वाचित भए भने प्रतिस्पर्धी गुरुङले ११३ मत प्राप्त गरे । गुरुङ एमाले पाँचथरका निवर्तमान उपसिचव हुन् भने कुरुम्बाङ सचिवालय सदस्य हुन् । उपसचिव खुल्लातर्फ १७९ मतका साथ तुलसी थापा विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी जयप्रकाश केरुङले १५४ मत प्राप्त गरेका छन् । थापा सचिवालय सदस्य एवं कार्यालय सचिव हुन् भने केरुङ फालेलुङ गाँउपालिका इन्चार्ज हुन् । उनी अधिवक्ता समेत हुन् । उपसचिव महिलातर्फ कौशिला आङ्देम्बे २४७ मतसहित विजयी भइन् ।

उनको प्रतिस्पर्धी कमलकुमारी योङ्हाङले ९६ मत प्राप्त गरिन् । कोशिला आङदाम्बे निवर्तमान जिल्ला सदस्य हुन् भने योङ्हाङ निवर्तमान सचिवालय सदस्य तथा याङवरक गाँउपालिकाकी निवर्तमान उपाध्यक्ष समेत हुन् । पाँच खुल्ला सदस्य निर्वाचित हुनका लागि ११ जना प्रतिस्पर्धी मध्ये नवराज घिमिरले लोकप्रिय मत २४७ मतसहित विजयी भएका छन् ।

उनीपछि क्रमशः विनोद आङ्देम्ब २४० मत, खगेन्द्रप्रसाद बाँस्कोटा १९६ मत, राजु थाम्सुहाङ १८० मत र कृष्ण ओझा १७९ मतका साथ विजयी भएका छन् । बाँस्कोटा अधिवक्ता हुन् भने ओझा क्रियाशिल पत्रकार हुन् । शनिबारबाट सुरु भएको अधिवेशनमा अध्यक्षमा विष्णुप्रसाद सापकोटा (विमल) सर्वसम्मत निर्वाचित भएका छन् ।

अध्यक्षमा मनोनय दर्ता गरेका मेघराज घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि उनि सर्वसम्मत भएका हुन् ।
सचिव पदमा पृथ्वी लावती सर्वसम्मत निर्वाचित भएका छन् । विलास योङयाले उम्मेदवारी फिर्ता लिएपछि लावती सर्वसम्मत निर्वाचित भएका हुन् । अधिवेशनमा जिल्लाका ८ स्थानीय तहभित्रका ६० वडा र जनवर्गीय संगठनसहित ४०१ प्रतिनिधि सहभागी भएका थिए ।

पदाधिकारीसहित ७५ जनाको जिल्ला कमिटी निर्माण भएको निर्वाचन समितिका सूचना अधिकृत अधिवक्ता टिका तिम्सिनाले जानकारी दिए । उनका अनुसार देवी अधिकारीको संयोजकत्वमा ७ सदस्यीय लेखा समितिसमेत निर्विरोध निर्वाचित भएको छ ।

अधिवेशनलाई एमाले केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा बादल, स्थाइ कमिटी सदस्य सेरधन राइ, पोलिटब्यूरो सदस्य तथा सांसद पाँचथर इञ्चार्ज तिलकुमार मेन्याङबो, केन्द्रीय सदस्य डम्बर सिंह सम्बाहाम्फे, श्रीप्रसाद जबेगू, अइन्द्र सुन्दर नेम्वाङ, कोशी प्रदेश सचिव राजकुमार भण्डारी लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया