चिनी मिल सञ्चालनको लागि सिमरामा छलफल, आएन ठोस निष्कर्ष

मधेस ब्यूरो । रौतहटको सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको गरुडास्थित श्रीराम चिनी मिलका सञ्चालकहरुसँग सिमरामा दुई पक्षीय छलफल भएको छ । गत चार वर्षदेखि बन्द रहेको सो उद्योगलाई सञ्चालनको विषयमा छलफल केन्द्रित भए पनि कुनै ठोस निष्कर्ष निस्कन नसकेको सहभागीहरुले बताएका छन् ।

उद्योग सञ्चालक हितेश गोल्छा र विशाल अग्रवाल सहभागी भएको छलफलमा उद्योगका पाटपुर्जा खिया लागेर पुराना भइसकेकाले उठाएर लैजान दिनको लागि प्रस्ताव गर्दा उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोकप्रसाद यादवले प्रतिवाद गरेका थिए ।

कुनै पनि हालतमा उद्योग उठाएर लैजान नदिने, बरु सञ्चालन गर्ने भए सबै किसिमको सहयोगको लागि आफूहरु तैयार रहेको अध्यक्ष यादवले अडान राखेपछि छलफलमा कुनै ठोस निष्कर्ष निस्कन नसकेको वार्तामा सहभागी सन्तोष साहले बताए ।

चिनी मिल बचाउ संघर्ष समितिको तर्फबाट अध्यक्ष यादव सँगसँगै बृजकिशोर यादव, अनिल यादव, रामभरोस यादव, राजकुमार दास र सन्तोष साह छलफलमा सहभागी थिए । उद्योग सञ्चालकले चिनी मिल सञ्चालन गर्न नमान्ने तथा संघर्ष समितिले उद्योगलाई उठाएर लैजान नदिने अडानबिच नयाँ उद्योग सञ्चालनको प्रस्ताव गोल्छा र अग्रवालले ल्याएको अध्यक्ष यादवले बताएका छन् ।

आफूहरुले नयाँ उद्योग स्थापना गरेर सञ्चालनमा ल्याउँदा कस्तो सहयोग हुने भन्ने विषयमा उद्योगपति गोल्छा र अग्रवालले राय बुझेका छन् । आफूहरुले पनि कस्तो र कुन किसिमको उद्योग स्थापना गर्न खोजेको भन्ने ठोस प्रस्ताव ल्याएपछि मात्र यस विषयमा केही भन्न सक्ने जवाफ दिएको बताउँदै अध्यक्ष यादवले आफूहरुको प्राथमिकतामा चिनी उद्योग नै सञ्चालनमा हुनुपर्ने भन्ने माग रहेको जिकिर गरेको बताएका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया