सकियो ‘इलाम साहित्य महोत्सव’

इलाम । ‘इलाम साहित्य महोत्सव’ १८ वटा विभिन्न विषयमा अन्तरसंवाद गर्दै सकिएको छ । साहित्य क्षेत्रबाट जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलाम नगरपालिका नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको आयोजनामा भएको दुई दिने साहित्य महोत्सव सकिएको हो । महोत्सवमा साहित्यसँगै पर्यटन, अर्थतन्त्र र राजनीतिबारे बहस भएको थियो ।

महोत्सवके अन्तिम सेसनमा ‘कस्तो राजनीति’ शीर्षकमा डा. सिके राउत, प्रदीप ज्ञवाली र विश्वप्रकाश शर्माबीच बहस भएको थियो । यस्तै ‘संरक्षण र पर्यापर्यटनका कुरा’ शीर्षकमा सोनाम भुटिया र दीपेन्द्र कर्णबीच बहस, ‘मातृभाषाको सकस’ शीर्षकमा सुरेश किरण, चन्द्रकिशोर र गौरी तमुबीच बहस भएको थियो । ‘उमेरको कथा’ शीर्षकमा अभि सुवेदीसँग दीपक सापकोटाबीच संवाद, ‘सिनेमा’ शीर्षकमा अभिनेत्री केकी अधिकारी, मीम भाम र रामबाबु गुरुङबीच अन्तरसंवाद भयो । यसैगरी, ‘अक्षर मोह : अक्षर यात्रा’ शीर्षकमा शैलेन्द्र अधिकारी, शंकर तिवारी र टीका आत्रेयबीच बहस, ‘सीमा, साहित्य र संस्कृति’ शीर्षकमा डा. कविता लामा, गणेश खनियाँ र दीपक लुङ्गेलीबीच बहस, ‘प्रतिरोधी साहित्य’ शीर्षकमा डा. ज्ञानेन्द्र खतिवडा, विक्रम हथवार (कर्नाटक) र डा. अस्मिता विष्टबीच अन्तरसंवाद भएको थियो ।

महोत्सवको पहिलो दिन पनि नौ वटा विषयमा बहस भएको थियो । उद्घाटनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘नेपालको संरचनागत सङ्कट र दिगो समाधान’ विषयमा सम्भाषण दिएका थिए । सोही दिन ‘संघीयता ः यस्तै वा कस्तो ?’ शीर्षकमा नविना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीबीच बहस, ‘कविता’ शीर्षकमा सोझो गाउँले, सुन्दर कुरुप र सुमिनाबीच बहस, ‘मिथकदेखि मिथकसम्म’ शीर्षकमा प्रा.डा. अरुण गुप्ता र राजन मुकारुङबीच बहस र ‘आख्यान ः अन्तिम पात र नयाँ पालुवा’ शीर्षकमा नारायण ढकाल र वसन्त बस्नेतबीच अन्तरसंवाद भएको थियो ।

त्यसैगरी, ‘पोइट्री इन मुभमेन्ट’ शीर्षकमा राजा पुनियानी र ‘अर्थतन्त्र’ शीर्षकमा स्वर्णीम वाग्लेको प्रस्तुति रहेको थियो । भने ‘बदलिँदो विश्व फेरिँदो स्थानीयता’ शीर्षकमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्बाङ र रञ्जित तामाङबीच बहस, ‘चारखोलको रंगमञ्च’ शीर्षकमा सुरेश पोर्तेल र चेतन आङ्थुपोबीच बहस भएको थियो ।

‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ भएको महोत्सवमा नेपाल र भारतका साहित्यकार, विश्लेषक, चिन्तक, लेखक, राजनीतिकर्मी, कलाकारलगायत दुई सय बढीको सहभागिता रहेको आयोजकले जनाएको छ । इलाममा साहित्यको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए । उनले महोत्सवले पर्यटन, राजनीति, समाज, साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा नयाँ किसिमको बहस थालेको जिकिर गरे ।

प्रतिक्रिया