काम गर्न सरकारमा आएका हौं, नसकेको दिन आफैं बाहिरिन्छौं : लामिछाने

इलाममा रास्वपाको उम्मेद्वार लिम्बू

इलाम । उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काम गरेर देखाउनका लागि सरकारमा सहभागी भएको बताएका छन् ।
शनबिार इलाम चोकबजारमा इलाम–२ उपनिर्वाचनका लागि पार्टीका तर्फबाट औपचारिक उम्मेद्वार घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले काम गर्न सकेको दिन आफैं बाहिरिने बताए ।
‘रास्वपा सरकारमा नगएको भए हुन्थ्यो भन्ने आम नागरिकमा छ, तर हामी काम गरेर देखाउनका लागि सरकारमा सहभागी भएका हौं, केही संकेत देखाइसकेका छौं,’ लामिछानेले भने, ‘यदि जनताको पक्षमा काम गर्न सकेनौं भने हामी आफैं सरकारबाट बाहिरिन्छौं, त्यसका लागि मिति खाली राखेर राजिनामा पत्र तयार गरसिकेका छौं, हामीलाई प्रधानमन्त्रीले बर्खास्त गरिरहन पर्दैन ।’

लामिछानेले रास्वपा सरकारमा सहभागी भइसेकपछि शुसासन र सेवा प्रवाहमा जनताले अपेक्षा गरेअनुरुप सुधारको काम सुरु भइसकेको दावी गरे । उनले विभिन्न समयमा भएका सबै काण्डहरुको फाइलहरु क्रमश खोलिँदै लैजाने बताउँदै भ्रष्टाचारीहरु कसैलाई पनि उम्कन नदिने बताए ।

‘हामी सरकारमा आएको धेरै भएको छैन, तर हाम्रो सुरुवाती कामबाट नै केही न केही संकेत त पाइसक्नुभएको छ,’ लामिछानेले भने, ‘अब क्रमश सबै भ्रष्टाचारका फाइलहरु खोल्छौं, त्यसपछि हाम्रो काम देख्नुहुन्छ, तर अलिकति समय पर्खनुहोस् ।’

उनले आफ्नो पार्टीले सरकारमा रहँदा र प्रतपिक्षमा रहँदा समेत संसदबाट जनताकै पक्षमा निरन्तर काम गररिहेको उल्लेख गर्दै इलामबाट एक जना सांसद थपेर पठाइदिन जिल्लाबासीलाई आग्रह गरे । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, उपसभापति एवम् प्रतिनिधिसधा सदस्यद्वय डा. स्वर्णिम वाग्ले, डा. तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, रमेश प्रसाईंले सम्बोधन गरेका थिए ।

रास्वपाले घोषणा गर्यो मिलन लिम्बूलाई उम्मेद्वार

यसैबीच रास्वपाले इलाम–२ बाट मिलन लिम्बूलाई उपनिर्वाचनको औपचारिक उम्मेद्वार घोषणा गरेको छ । पार्टी सभापति लामिछानेले घण्टी बजाए उम्मेद्वार घोषणा गरेका हुन् । उम्मेद्वार घोषणापछि लामिछानेले उम्मेद्वार लिम्बूलाई घण्टी हस्तान्तरण गरी शुभकामना दिएका थिए । लिम्बू यसअघि पत्रकार थिए । पत्रकारिता छाडेर स्वतन्त्र उम्मेद्वार घोषणा गरेका लिम्बूलाई रास्वपाले पार्टीमा भित्र्याएर उम्मेद्वार बनाएको हो ।

इलाम–२ मा वैशाख १५ गते प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ । यहाँ नेकपा एमालेले सुहाङ नेम्बाङलाई उम्मेद्वार बनाएको छ । कांग्रेस, माओवादी, जसपा लगायत अन्य दलले भने उम्मेद्वार चयन गर्न सकेको छैन ।

प्रतिक्रिया