मेयर बालेन शाहलाई एक नागरिकको पत्र

म पनि एशिया, युरोप, अमेरिका जस्ता विकशित देशका सहरहरु हेर्न, देख्न र बुझन आफ्नै क्षमताले पुगेको हुनाले मनमा कल्पना उम्रेको थियो कि मेरो देशको राजधनी र सहरहरु पनि यस्तै सफा सुन्दर भई दिए हुन्थ्यो, हरियाली र ढकमक्क फुलहरु फुलेको होस् । मेरा देशका मन्त्री नेता र विभिन्न तहका कर्मचारीहरु विदेश भ्रणमा जान्छन, भत्ता पचाउँछन्, आउँछन् । चिया र कफि गफमा डिंग हाँक्छन् बस । कसैले आफ्नो ठाउँबाट नयाँ सोच र काम गरेको मैले थाहा पाएको छैन ।

मानधोज मोक्तान

सर्वप्रथम बधाई एवं नमस्कार । तपाई काठमाण्डौमा मेयरको उम्मेद्वारी दिएर चुनाव लडदैं गर्दा कोटेश्वरको एस ओ.एस बुथमा म केशव स्थापित र स्थानीय मेरा आदरर्णीय मित्रहरुलाइ भोट हाली गर्वका साथ बाहिर निस्किदै थिएँ । त्यतिबेलै तपाईँ मसँग हात मिलाएर त्यस बुथ भित्र पस्दै हुनुहुन्थ्यो । त्यही नै तपाईलाई देखेको पहिलो थियो । त्यस पछि त तपाई सामाजिक सञ्जालमा भाइरल भएर अन्तमा सबैलाई चकित पार्दै काठमाण्डौं महाानगरको मेयरमा विजय हुनुभयो । संसार नै चकित भयो ।

सँधै नेपालका ठूला राजनीतिक दलहरुले रजगज गरेको काठमाण्डौ महानगरको मेयरमा स्वतन्त्र उम्मेद्वार भएर तपाईको जीतले ती राजनीतिक दलका नेता कार्यकर्ता सबैका छातीमा आफ्नै अदुरदर्शिता र अर्कमण्यताको मुक्का गजब सँग बज्रन पुग्यो । अर्काे तर्फ युवा पिँडीमा एक किसिमको उत्साह र उमंगको तरंग फैलाई दिनु भयो । जसको निम्ति म तपाईँलाई हार्दिकतापूर्वक धन्यवाद एवं बधाइ ज्ञापन गर्दछु । काठमाण्डौंको मेयरको हारमा कुनै पनि राजनीतिक पार्टीले आफ्नो हारको करण, आफ्नो मुल्यांकन गरेर सार्वजनिक गरेन ।


म स्वंय पनि केशव स्थापितलाई मेयरमा उम्मेद्वार बनाउने पार्टीको सदस्य र कार्यकर्ता थिएँ । स्थापितले सहजै जित्छन् भन्नेमा पार्टीको अन्धो कार्यकर्ता भएर सोचेको थिएँ । पार्टीनेतृत्व तहको सोच, दृष्टिकोण, कार्यक्रम तथा जनताको सामजिक स्तरको उत्थान गर्ने आर्थिक सुधारको कुनै कार्यक्रम र योजना केहि थिएन, छैन । तथापि स्थापितले विगतमा गरेको कामको प्रभाव म लगायत सबैमा थियो । त्यही विश्वासले म इटहरीबाट सिर्फ भोट हाल्नका लागि काठमाण्डौं आएको थिएँ । मेरो भोटर लिष्टमा नाम कोटेश्वरमा नै छ । भोटको परिणामले अवश्य खिन्न भएँ, तर तपाई एक यूवा इञ्जिनियर काठमाण्डौं महानगरमा केहि नयाँ कामहरु गर्ने अठोट र दृष्टिकोण लिएर उदय हुनु भएको प्रति आशावादी छु ।

म पनि एशिया, युरोप, अमेरिका जस्ता विकशित देशका सहरहरु हेर्न, देख्न र बुझन आफ्नै क्षमताले पुगेको हुनाले मनमा कल्पना उम्रेको थियो कि मेरो देशको राजधनी र सहरहरु पनि यस्तै सफा सुन्दर भई दिए हुन्थ्यो, हरियाली र ढकमक्क फुलहरु फुलेको होस् । मेरा देशका मन्त्री नेता र विभिन्न तहका कर्मचारीहरु विदेश भ्रणमा जान्छन, भत्ता पचाउँछन्, आउँछन् । चिया र कफि गफमा डिंग हाँक्छन् बस । कसैले आफ्नो ठाउँबाट नयाँ सोच र काम गरेको मैले थाहा पाएको छैन ।

यसरी समाजमा सबै राजनीतिक पार्टीहरुले सृजना गरेको असन्तुष्ट निराशा र कर्मचारी तन्त्रको भ्रष्टताले देश र समाज नै नैतिक मूल्य मान्यता विहिन हुँदै गई रहेको छ । यस्तो अवस्थामा तपाईँले काठमाण्डौंमा सुधार ल्याउने क्रममा काठमाण्डौंका सडकमा जताभावी पसल थाप्ने सडक पेटीमा शेड बनाएर भाडा लिने कुप्रवृति माथि आक्रमण गरी हटाउनु भयो । सडकको भीड हटाउनु भयो । त्यस पछि काठमाण्डौं महानगर देशको राजधनी भित्र हराएका खोला नदीको मुहान र निकाश पत्ता लगाउन डोजर लगाएर खन्न थाल्नु भयो । तर सर्वाेच्चमा बनेको नियम र कानूनले रोक्यो ।

यहाँ नेर म ओशो रजनीशलाई सम्झन्छु किन भने उनी भन्छन् ‘हर कुरामा शंका गर, प्रश्न गर ।’ मेरो विचारमा त्यसको लागि अध्ययन मन पनि आवश्यक पर्ला । संस्कार र सभ्यताको कुरा गर्दा यूरोप अमेरिका अर्थात सभ्य समाज ग्रीकको सभ्यतावाट शुरु हुन्छ । हामी कुन संस्कार र सभ्यताको उपज हौं ? कस्तो मान्यता र संस्कारद्धारा प्रतिपादित नियम कानून चलयमान छन् ? हामीले कति जानेर बुझेर खुरुखुरु नियम कानुनको पालना गरेको छौं ? कि कानूनको आदेश मात्र पालना गरेका छौं ? नियम कानून आर्दशयूक्त सर्वस्वीकृत सर्वमान्य हुनुपर्छ । यसमा कसैको फरक मत हुने छैन ।

एउटा वातावरणविदले यो भएन भन्नसाथै राष्ट्रिय गौरवको परियोजना कानूनले रोक्छ , छेक्छ । उदहरणको लागि निजगढको विमानस्थल । त्यसबाट देशलाई कति फाइदा हुन्छ भन्ने तर्फ पनि त कानून सम्मत सोच्नु पर्ला । त्यसबाट वातावरणमा पर्ने असर पनि हेर्नै पर्छ । विकास निर्माण र समृद्धि परियोजना जस्ता वृहत कार्यमा कानुन पनि परिमार्जित हुन आवश्यक छ । तर नेपालमा पहुँच पुग्यो भने पनि कानूनले छेक्छ । रोक मात्र लगाउन कानून हो र ? मेयर बालेनले काठमाण्डौंका नदी– नालाको मुहान र निकाश खोजेर त्यसको प्राकृतिक स्वरुपमा बग्न दिने प्रयास गर्दा किन कानूनले छेक्ने ? यस्ता कुराहरु खोज्ने बुझ्ने र पढ्ने जमात पनि नेपालमा जन्मिनु जरुरी छ । अनि पो समाज परिवर्तित र आर्दश बन्दै जान्छ । डाक्टर, इञ्जिनियर र मानवको काम अर्टिफिसियल इन्टिलेजेसले गर्ने समयले फड्को मार्दा समेत हामी तजबिजी कानूनको परिधि भित्र चक्कर लगाई रहेका छौं । हाम्रा दौरा सुरुवाल र टोपीद्धारा प्रतिपादित नियम कानूनको क्षितिजले पनि सम्पूर्ण आकास ढाकोस । जसरी ग्रीक सभ्यताले ढाकेको छ ।

काठमाण्डौंको सबैतिर सफाईमा तपाईको प्रशंसनीय पाइला चलेको छ। म काठमाण्डौं आउँदा सबैतिर चक्कर लगाउँछु । जताततै सफा देख्दा आनन्दको अनुभूति हुन्छ । तर काठमाण्डौंको फोहर मैला व्यवस्थापनमा पुरानै ढाँचा निरन्तर छ । जस्तो शिसडोल या बञ्चरे डाँडामा काठमाण्डौंको फोहर लगेर थुपार्ने । काठमाण्डौंमा बल्झिरहने यो समस्या तपाईको कार्यकालमा हल हुनु पर्छ । काठमाण्डौंमा झण्डै १६÷१७ सय टन प्रतिदिन फोहर उत्पादन होला यकिन तथ्य त नेपालमा कहाँ छ र ? मानौ दैैनिक १६ सय टन भयो भने पनि ४५ प्रतिशतले जैविक फोहरको प्राङ्गारीक मल उत्पादन हुन सक्छ । यसो हो भने वर्षमा ३ सय दिन मात्र काम भए पनि २ लाख १६ हजार टन मल उत्पादन गर्न सकिन्छ । अन्य फाल्नै पर्ने फोहरबाट पनि ब्लक बनाउन सकिन्छ । सिंगापुरले ३६५ दिन नै विजुलिमा फोहर जलाई व्यवस्थापन गरि रहेको छ । हामी पनि यस्तै उपाय अवलम्बन गर्ने आट किन नगर्ने ? यस कामको लागि काठमाण्डौंमा काम गरी रहेका निजी कंपनीहरु पनि सक्षम छन् । यस तर्फ तपाईँको ध्यान केन्द्रित होस भन्ने मेरो अनुरोध छ । नत्र यही फोहरको राजनीतिले तपाईलाई किनारा लगाउने छ ।

अर्काे एउटा अनुरोध छ कि तपाईँका वाणीमा तुच्छ शब्दहरुको प्रयोग नहोस । जस्तै एक पटक भन्नुभयो –‘सिहदरवार जलाई दिन्छु ।’ कामले नै जित्दै जानु होस । एक ताका संसारका चर्चित मेयरहरुमा न्यूयोर्क अमेरिकाका रुडी गिलानी र नेपालका केशब स्थापित हुनु हुन्थ्यो । आज तपाईको नाउँ सर्वत्र छ । यस कुराको गर्वले सबै नेपालीहरुका छाती फुलिएको छ । यो सुनाम कायम रहोस ।

चीन सरकारले बनाई दिएको कोटेश्वरको आकाशे पूलबाट कोटेश्वर चोक तर्फ र सातदोवाटो तर्फ जाने गाडीहरुको ताँती देख्दा मेरो देशको राजधानी काठमाण्डौं पनि विकशित देशको राजधनीहरु सँग दाँजिन खोज्दै छ भन्ने सुखानुभूति हुन्छ । काठमाण्डौलाई त्यो अवस्थामा पु¥याउनु भएको छ । यो खुशीको कुरा हो । अर्को खुशी लाग्यो, जब म मेरा आदरणीय मित्र नवराज पराजुली अर्थात कामपा वडा नं. ३२ का वडा अध्यक्ष ज्यू लाई भेटेँ । कुरा गर्ने क्रममा उहाँ की आमाको मृत्यु संस्कारको तिथिमा ठूला साना सवै किसिमका विभिन्न राजनीतक दलका नेताहरु घरमा आउनु भयो तर उहाँहरु आउदा जादा कसैमा पनि उति चासो र उत्साह देखिएन, तर जब मेयरज्यू आउनु भयो तब केटाकेटी यूवा तन्नेरी बूढा बूढी सबैमा उत्साह र स्फूर्ति देखियो भन्नु भयो । यस कुराले तपाईँको कामको परिवेशको क्षितिज फैलिएको भान भयो । गर्व लाग्यो । ।

यहि खुशीको उद्गार र समाजमा, देशमा सकरात्मक परिवर्तनको आशाको किरण बोकेर हिडने एक कर्मठ मेयर काठमाण्डौंले भेटेको प्रति काठमाण्डौंलाई सफासुन्दर र मौलिक संस्कृति एवं सभ्यतामा देख्ने सपना बोक्ने एक नगरिकको हार्दिकताको यो पत्र तपाईलाई ।

ईटहरी सुनसरी

प्रतिक्रिया