क्लासिकमा २९ महिला कलाकार

ललितपुर । कलाकारको सम्मान र प्रोत्साहन गर्ने लक्ष्यका साथ नेपाली महिला कलाकारको सामूहिक कला प्रदर्शनी सुरू भएको छ । चाकुपाटस्थित क्लासिक ग्यालरीमा ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले उद्घाटन गरेको प्रदर्शनीमा २९ जना कलाकारका ४१ कलाकृति राखिएको छ । ‘इनस्पायर इन्कुलुजन’ शीर्षकमा भइरहेको प्रदर्शनी वैशाख ८ गतेसम्म चल्नेछ । ग्यालरी सञ्चालिका सरिता डंगोलले क्लासिकले स्थापना कालदेखि नै कला र कलाकारको सिर्जनालाई सम्मान र प्रोत्साहन, कला बजारका लागि काम गरिरहेको बताइन् । उनले ग्यालरीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कला प्रदर्शनी, कार्यशाला तथा बहसजस्ता कार्यक्रम आयोजना गर्दै आएको सुनाइन् । डंगोलले महिला विकास र कलामा सशक्तिकरणका लागि ग्यालरीले निरन्तरताका रुपमा सामूहिक कला प्रदर्शनीको आयोजना गरेको बताइन् । उनले महिला कलाकारको सिर्जनामा थप उत्साह र प्रेरणा दिन ग्यालरीले दशौंपटक यो कार्यक्रम आयोजना गरेको जानकारी दिइन् । उनले भनिन्, ‘नेपाली कला इतिहासको सन्दर्भमा महिला कलाकारको चर्चा र संलग्नता न्यून देखिन्छ । वर्तमान समयसम्म आइपुग्दा महिला कलाकार समक्ष र सबल रुपमा कला क्षेत्रमा अगाडि बढिरहेका छन् । तथापि व्यस्त जीवनशैलीका कारण र आफ्नो लैंगिक जिम्मेवारीमा पनि बढी अल्झिनु पर्ने बाध्यताले महिला कलाकारहरु आफ्नो कलाकारितामा भिज्न सकेका छैनन् ।’

उनले पूर्ण समय र सहज वातावरण नहुँदा महिला कलाकार नयाँ विचार र अवधारणामा काम गर्न, कलामा प्रयोगात्मक शैलीहरु अपनाउन र निकै कठिनाइका साथ कला प्रदर्शनीमा भाग लिने गरेको सुनाइन् । यस प्रदर्शनीमा राजधानीबाहिरका महिला कलाकारले भाग लिएको जनाइन् । उनका अनुसार प्रदर्शनीमा चित्रकलाबाट १७ जना, प्रिन्टमेकिङबाट ७ जना, सेरामिकबाट ५ जना गरेर २९ जना कलाकारका कलाकृति राखिएको छ । प्रदर्शनीमा राखिएका कलाकृतिमा कलाकारले सामाजिक, सांस्कृतिक, राजनीतिक, पर्यावरणीय तथा जीवन र जगतका यथार्थ पक्षलाई उतारेका छन् । यस्तै, कलाकृतिमा कलाकारले आ–आफ्नो अनूभूति तथा समाजमा भइरहेका घटना तथा समसमायिक विषयलाई चित्रण गरेका छन् ।

प्रतिक्रिया