ट्याक्सी दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएपछि पौवाखेत शोकमा

गोरखा । गोरखा जिल्लाको गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शंकर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७० वर्षीया आमा जुनकिरी रोकासहित सिंगो परिवार शोकमा परेको थियो ।

उपचारका क्रममा राजधानी काठमाडौंमा निधन भएका शंकरको पशुपति आर्यघाटमा गएराति अबेर दाहसंस्कार गर्न गाउँबाट काठमाडौं गएकी आमा जुनकिरीसहित सबै परिवार र आफन्त पशुपति आर्यघाटमा पुग्यो ।

अल्पायुमै छोराको निधनले मर्माहत भएकी जुनकिरी छोराको दाहसंस्कारको काम सकेर गाउँमै काजकिरिया गर्न तीन वटा गाडी लिएर सपरिवार गोरखा फर्कँदै थियो ।

घर फर्कँदै गरेका तीन गाडीमध्ये दुई वटा गाडी मुग्लिन पुगेर रोकियो । मृतकका आमा जुनकिरी, दिदीबहिनी, ज्वाइँ, छोरा र भाञ्जा चढेर फर्कँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आइपुगेन । निक्कै बेर प्रतिक्षापछि पनि गाडी नआएपछि अनेक शंकाउपशंका बढ्दै गयो ।

मुग्लिन पुगेका आफन्तले प्रहरीलाई जानकारी गराए । तत्कालै चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिकै बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको जानकारी प्रहरीमा आएपछि रोका परिवारमा अर्को बज्रपात पर्यो ।

घटना लगत्तै आफन्त र परिवार घटनास्थलमा पुगे । प्रहरीले दुर्घटनास्थलबाट पाँच जनाको शव निकाल्यो । घटनामा परेका एक जना अझै बेपत्ता छन् ।

क्यान्सरबाट निधन भएका छोराको गाउँमै काजकिरिया गर्न भनेर ट्याक्सीमा घर फर्कँदै गरेकी आमा जुनकिरी, दुई छोरी, एक नाति र ज्वाइँसँगै अब कहिल्यै गाउँ फर्कने छैनन् ।

जुनकिरीसहित दुर्घटनामा ज्यान गुमाएकामा उनकी जेठी छोरी ४१ वर्षीया हरिमाया उपरकोटी, कान्छी छोरी २८ वर्षीया अञ्जना रोका, माइला ज्वाइँ ३५ वर्षीय अर्जुन सिर्मल, ९ वर्षीय नाति आगमन उपरकोटी (मृतक हरिमायाका छोरा) भएको वडाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी बेपत्ता भएका १८ वर्षीय दिवस रोका क्यान्सर रोगबाट निधन भएका शंकरका छोरा हुन् । मृतक पाँचै जनाको शव अहिले गोरखा अस्पतालमा शव परीक्षणका लागि राखिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी रोका परिवारमा पाँच जनाको मृत्यु र एक बेपत्ता भएको घटनाले अहिले सिंगो पौवाखेत शोकमा डुबेको छ । अस्पतालमा परिवार र आफन्तलाई सान्त्वना दिन पुगेकाहरुसमेत बोल्न र सम्झाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।– रासस

प्रतिक्रिया