धातुपत्रकलाका सिद्धहस्त व्यक्तित्व

पातामा मूर्ति बनाउने नेपालको पुरानो वैभवशाली परम्परालाई जीवन्त राख्दै त्यसको सीपगत पक्षको प्रचार तथा सम्प्रेषणमा समेत राजकुमार शाक्यको विशिष्ट भूमिका रहेको छ । पातामा मूर्ति बनाउने परम्पराको जर्गेना, संरक्षण, प्रवद्र्धन र विकासका लागि उनले दिएको योगदान नेपाली कला जगतमा अतुलनीय रहेको छ

देवेन्द्र थुम्केली

परिचय

परम्परागत नेपाली मूर्तिकलाका प्रसिद्ध स्रष्टा राजकुमार शाक्यको जन्म ललितपुर महानगरपालिका ओकुबहाल, महाबौद्धस्थित थंईनामा वि.सं २०२३ साल भदौ ११ गते भएको थियो । पुस्तौदेखि कलाक्षेत्रमा संलग्न परिवारमा जन्मिएका शाक्यमा सानैदेखि कलाप्रतिको अनुराग थियो । थंईना टोलको गणेश मन्दिर अगाडि रहेको पुख्र्यौली घरमा उनका बुवाको काम गर्ने ज्यासल (कार्यशाला) थियो । बुवा रुद्रराजको थ्व ज्याः मा ज्याःको कामसँगै उनको लगाव पनि त्यतै गयो । पारिवारिक पेशाका रुपमा उनको कलाको प्रारम्भ धातुपत्रकलाबाट भयो । सानोमा उनको खेल्ने खेलौना नै बुवाको ज्यासलमा रहेका ज्यावलहरू थिए । तिनैसँगै खेल्दै रम्दै उनले स्वभाविक रुपमा कला सिके ।

कलायात्रा

कलाले भरिपूर्ण पाटनमा उनको बाल्यकाल ज्यावलसँग खेल्दै रमाउँदै बित्यो । परिवार नै मूर्तिकलामा आबद्ध भएकाले उनले सानैमा ज्यावलसँग परिचित हुने र तिनलाई खेलाउँदै हुर्किने वातावरण पाए । प्रसिद्ध मूर्तिकारका रुपमा पाटनका परिचित व्यक्तित्व बुवा रुद्रराज शाक्यको काम गर्ने स्टुडियोमा पाता र ज्यावलसँग खेल्दाखेल्दै उनले मूर्तिकलामा आफूलाई दख्खल बनाए । उनलाई त्यसमा अझ आमा सानुनानीको स्नेहपूर्ण प्रोत्साहनले मूर्तिकलालाई नै पेशाका रुपमा अँगाले । उनी सानोछँदा आर्थिक अवस्था अलि कमजोर नै थियो । परिवारको जेठो सदस्य भएकाले घरव्यवहारको जिम्मासमेत उनकै काँधमा थियो । जेठो सन्तान भएकाले घरको धेरैजसो काम र व्यहारसमेत उनकै काममा थियो । यससँगै उनले आफ्नो कलाकर्मलाई निरन्तर रुपमा अगाडि बढाए । त्यसयता उनको कलायात्रा निरन्तर जीवनपर्यन्तसम्म जारी रहिरह्यो ।

नेपाली परम्परागत मूर्तिकलाको विकास र विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गरेका मूर्तिकार राजकुमारले आफ्नो जीवनकालमा देश विदेशमा दर्जनौं पटक एकल तथा सामूहिक मूर्तिकला प्रदर्शनी गरेका थिए ।

उनी परम्परागत धातुपत्र (रिपोसे) कलाकारका रुपमा नेपाल मात्रै नभएर विदेशमा समेत परिचित थिए । यस परम्परामा उनको परिवारको लामो इतिहास छ । उनको वंशावली हेर्दा १६औं शताब्दीका पाटनका प्रसिद्ध व्यक्तित्व तथा पाटन महाबुद्ध मन्दिर निर्माणकर्ता अभय राजसम्म पुग्छ । अभय राजका सन्तानका रुपमा परिचित राजकुमार पाटनकै अर्का प्रसिद्ध कलाकार भीम नरसिंह शाक्य, उनका छोरा कुबेर सिंह शाक्य, नाति रुद्रराज शाक्यका सुपुत्र हुन् । हुनत कुबेरसिंहका अर्का छोरा केशराज शाक्यले पनि मूर्तिकलामा प्रसिद्धी कमाएका थिए । राजकुमार परम्परागत कलालाई पुनर्जीवित गर्ने बारेमा सधैं चिन्तित भइरहन्थे । कला साधनामै सक्रिय नेपालकै प्रसिद्ध मूर्तिकार राजकुमार शाक्यको २०७८ जेठ २२ गते शनिबार असामयिक निधन भयो । उनको निधन नेपाली कला जगतकै लागि अनपेक्षित तथा अपूरणीय क्षति हो ।

धातुपत्रकला ‘थोज्यामाज्या’ अर्थात् रिपोसे कला

थोज्यामाज्या अर्थात् धातुपत्रकला नेपाली परम्परागत मूर्तिकलाको एक विशिष्ट विधा हो । नेपालभाषामा ‘थ्व ज्याः मा ज्या’ भनेर चिनिने यस विधालाई विश्वमा रिपोसेका रुपमा चिनिन्छ । यो शब्द फ्रेञ्च भाषाबाट आएको हो । अंग्रेजीमा स्टिल मेटल इम्बोसिङ वर्क तामा पनि भनिने पित्तल, चाँदी लगायतका धातुका पातामा विभिन्न कलाकृति बनाउने प्रविधिलाई धातुपत्रकला भन्ने गरिन्छ । यसमा धातुका पातामा विभिन्न औजारको सहयोग लिइ पातालाई दुवै तर्फबाट क्रमशः माथि र तल धकेलेर आकृति निर्माण गरिन्छ । ‘थ्वज्या’ भनेको धातुको पातामा विशेष औजारमार्फत पाताको दुवै तर्फबाट धकेल्ने प्रक्रिया हो । यस प्रक्रियाबाट धातुको पातामा चाहिने आकृति बनाएपछि उक्त आकृतिलाई एकसाथ जोड्ने कार्यलाई ‘माज्या’ भनिन्छ । तसर्थ ‘थ्वज्या’ र ‘माज्या’ बाट एउटा पूर्ण मूर्ति तयार पारिन्छ । मूर्ति बनिसकेपछि त्यसमा आलङ्कारिक पक्षलाई ध्यान दिइ विभिन्न बुट्टा बनाइन्छ जसलाई ‘कतांज्या’ भनिन्छ ।

धातुपत्रकला एक प्रविधि हो । यसमा मुख्य चार प्रक्रिया हुन्छन् । जसलाई च्वज्या (स्केचिङ), थ्वज्या (इम्बोसिङ), माज्या (फिटिङ) र कतांज्या (इम्ब्रोइडेरिङ) हुन्छन् । कुनै आकृति बनाउनु अघि पहिले त्यसको नमुनाका च्वज्या (स्केचिङ) तयार गरिन्छ । यो काम पौभा, धातुमूर्ति, काष्ठ, प्रस्तरमूर्तिकला निर्माणमा समेत गरिन्छ । कागजमा चित्रको नमुना बनाइसकेपछि मात्र धातुका पातामा चित्र कोरिन्छ । थोज्यामाज्या कलामा पनि स्केचको पहिले गरिन्छ । अन्य तीन प्रक्रिया थ्वज्या, माज्या र कतांज्या पनि यसमा प्रयोग हुने महत्वपूर्ण पाटा हुन् । त्रिआयामिक कलामा ‘च्वज्या’ बाहेक अन्य तीन प्रविधिलाई एकै साथ प्रयोग गर्न सकिन्छ । त्यस्तै कुनै दुई प्रक्रिया मात्रै प्रयोग गरेर पनि कलाकृति निर्माण गर्न सकिन्छ । धातुपत्रकलामा खलु (त्वाःखलु), मुगः (मुगः विभिन्न प्रकारका हुन्छन्), कतां, झौ बाहेक पनि अन्य विभिन्न प्रकारका औजार प्रयोग गर्न सकिन्छ । जस्तै त्वाकः, कैंची, ड्रिल मेसिन, ग्याँस वेल्डिङ, पेन्चिस लगायतका सामग्री प्रयोग गरिन्छ ।

शाक्यका कलाकृति

नेपाली परम्परागत कलाक्षेत्रमा कलाकार शाक्यको कलागत योगदान विशिष्ट रहेको छ । उनले बनाएका कलाले नेपाली कला परम्परालाई समृद्ध बनाउनुका साथै नेपाली पहिचानलाई विश्वमै चिनाउन सहयोग पुगेको छ । उनले बनाएका कलाकृति विशेषतः लामागुरु, पुरोहित, गुर्जु बज्राचार्य, कलापारखी, कलाक्रेता तथा कला संकलकले निकै मन पराएको पाइन्छ । शाक्यले ठूल–ठूला मूर्ति निर्माण गरेर नेपालको मौलिक परम्परागत मूर्तिकलाको जर्गेना गर्न विशिष्ट भूमिका निर्वाह गरे । उनले बनाएका स्वयभू महाचैत्य, मण्डल, तिब्बतीयन शैलीका छ्र्योतन (स्तूप), गजुर, तोरण, भैरव मुखौटो, बुद्ध तथा तथा अन्य मूर्तिकला रहेका छन् । नेपाली परम्परागत मूर्तिकलामा प्राचीनकालदेखि नै मूर्ति साधनामाला, निष्पणयोगावली, बज्रावली, शिक्षासमुच्चय, वात्स्सायन कृतकला साधन आदिमा रहेको प्रतिमालक्षणमा आधारित भइ बनाइन्छ । प्रतिमालक्षणका मूलभूत सैद्धान्तिक पक्ष षड्ङ्ग अर्थात् रुपभेद, प्रमाण, भाव, लावण्ययोजना, सादृश्य र वर्णिका भङ्गमा ध्यान दिएको हुन्छ । एउटा कुशल कलाकारमा यी पक्षको ज्ञान हुनु जरुरी छ । यसरी नेपालमा प्रचलित परम्परागत कलाको आधारभूत सैद्धान्तिक पक्ष षड्ङगमा आधारित रहेर शाक्यले मूर्ति रचना गरेको पाइन्छ । यसैगरी प्राचीन प्रतिमालक्षणका आधारभूत नाप सिद्धान्तका चार औँलाको १ मात्रा र तीन मात्राको १ ताल जस्ता ज्ञानलाई उनले आफ्नो कलामा प्रयोग गर्दै देखिन्छ । यस्तै ठूलठूला मूर्ति निर्माणमा समेत उनले नापजाच पनि निकै सहजताका साथ पूर्णताका साथ गरेको पाइन्छ । यस्तै उनले मूर्तिकला नयाँ प्रविधि र माध्यममा समेत काम गरेका देखिन्छ ।

उनले बनाएको ७४ फिट अग्लो भैरव मास्क प्रतिस्थापनको प्रक्रियामा छ । उनले बनाएका मूर्तिमा ५० फिट अग्लो सिद्धार्थ गौतम लुम्बिनी, १०.५ फिट अग्लो गौतम बुद्ध अमेरिका, ११५ फिट अग्लो गुरु पद्मसम्भव भुटान, १६ फिट अग्लो बुद्ध लुम्बिनी, ४२ फिट स्तुपा डिजाइन लुम्बिनी, १०० फिट अग्लो स्वयम्भु, स्वयम्भु, १२ फिटको श्वेतभैरव सांघाई चीन (वल्र्ड एक्स्पो २०१०), ९ फिट ब्रजसत्व जापान, ४ फिटको तिब्बेतन सिल्भर स्तुपा धर्मशाला भारत, ९ फिटको बज्रसत्व र १० फिट अग्लो बुद्ध नाम्खा ख्योङ जोङ मोनास्ट्री काठमाडौं, १० फिट अग्लो बुद्ध नाम्खा ख्योङ जोङ मोनास्ट्री काठमाडौं, ९ फिट अग्लो गुरु पद्मसम्भव नाम्खा ख्योङ जोङ मोनास्ट्री काठमाडौं, १० फिट डायमिटर कालचक्र मण्डला आम्दो तिब्बत, ११ फिट अग्लो सिंहासन प्रभा गुहाटी असाम भारत, ५ फिटको स्वयम्भु स्तुपा गुहाटी असाम भारत, २ फिटको सिल्भर बौद्ध स्तुपा गुहाटी असाम भारत, २३ फिटको तिब्बेतन स्तुपा आम्दो तिब्बत, १७ फिटको पिल्लर र तोरण शान्ति गुम्बा (प्यागोडा) पोखरा, १३ फिटको गजुर साई मन्दिर दरम्दिन सिक्किम भारत, पोखरास्थित शान्ति गुम्बा (प्यागोडा) को पृष्ठभागको सिन (दृश्य) तीनपट्टि पोखरा, ५.५ फिटको तिब्बेतन सिल्भर स्तुपा बैंगलोरस्थित हुब्ली, भारत, ७.५ फिटको प्रेअर व्हिल शेल्कर मोनास्ट्री बौद्ध काठमाडौं, ११ फिटको स्वयम्भु लुम्बिनी महादेवी मन्दिर, ८.५ फिटको बुद्ध मूर्ति शेल्कर गुम्बा जोरपाटी काठमाडौं, ६ फिटको बुद्ध डायना रोज, ग्यारिसन इन्स्च्यिुट, ११ फिटको बुद्ध एण्ड प्रभा सेट पुसान, कोरिया, ६ फिटको बुद्ध मूर्ति फ्रान्स (भिआइए मनाङ गुम्बा) लगायतका दर्जनौ रहेका छन् ।

भुटानको ताकेलामा निर्मित १५५ फिट अग्लो गुरु पद्मसम्भव

कलाकार शाक्यले बनाएको भुटानको ल्हुन्चे जोङस्थित ताकेलामा रहेको गुरु पद्मसम्भवको मूर्ति निकै चर्चित छ । नेपाली परम्परागत कला शैलीको पहिचान दिन सक्ने उक्त मूर्ति थ्वज्या माज्या प्रविधि अर्थात् धातुपत्रकला प्रविधिमा बनाइएको हो । ‘थ्वज्या माज्या’ अर्थात् धातुपत्रकला (स्टिल मेटल इम्बोसिङ वर्क) तथा फ्रेञ्च भाषामा रिपोस आर्ट पनि भनिन्छ ।

चार वर्ष लगाएर सम्पन्न गरिएको उक्त मूर्ति निर्माणको नेतृत्व शाक्यले नै गरेका थिए । मूर्ति निर्माण कार्यमा १९ जना नेपाली, ८ जना भुटानी र ३० जना भारतीयको प्रत्यक्ष तथा अन्य केहीको परोक्ष रुपमा संलग्न थिए । मूर्तिमा प्रयोग भएका सामग्रीमा तामाको पाता करिब ७० हजार किलोग्राम स्टिल स्ट्रकचर करिब १ लाख ७० हजार किलोग्राम, फलाम तथा अन्य सामग्री करिब १५ हजार किलोग्राम रहेको थियो । त्यस्तै मूल मूर्तिको उचाई ११५ फिट, पद्मसम्भव आसिन सिंहासनको उचाइ ४० फिट रहेको छ । तसर्थ जमिनदेखि मूर्तिको माथिल्लो भागसम्मको उचाई १५५ फिट रहेको छ । जसमा मूर्तिको अनुहार मात्रै १५ फिटको रहेको छ । सन् २०१० जुन २० देखि २०१४ मार्च २० सम्म ३ वर्ष ९ महिना लगाएर उक्त मूर्ति निर्माण कार्य सम्पन्न गरिएको थियो । विश्वकै अग्लो मानिएको उक्त मूर्ति शााक्यको कौशलता र कलागत ज्ञानको उच्चतम नमुनाको रुपमा रहेको पाइन्छ । जसले नेपाली गौरवलाई अन्तर्राष्ट्रिय स्तरमै परिचित गराउन सफल भएको छ ।

विश्वकै ठूलो भैरव मखुण्डो

पछिल्लो समयमा सुमेरु कलाग्रामका अध्यक्षसमेत रहेका शाक्यले विश्वको सबैभन्दा ठूलो भैरवको मखुण्डो बनाउने काममा जुटिरहेका थिए । उनको निधनपश्चात् सो काम प्रतिस्थापनकै प्रक्रियामा छ । धातुपत्रमै बनिरहेको उक्त भैरवको मूर्ति प्रतिस्थापन गर्ने उनको सपना थियो र त्यो पूरा हुने प्रक्रियामा छ । तर त्यसको पूर्ण रुप भने उनले देख्न पाएनन् ।

पुरस्कार तथा सम्मान

कला तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएका शाक्यलाई विभिन्न संघसंस्थाले पुरस्कृत तथा सम्मानित गरेका छन् । उनलाई नेपाल हस्तकला महासंघले ‘बेस्ट आर्टिस्ट अफ द एअर’ बाट सम्मान गरेको छ । यस्तै ‘कला चेत्र सम्मान’ हलिन नेवा दबु काठमाडौं २०२१, नेपाल बंगलादेश फ्रेन्डसीप अवार्ड २०१९, ‘ज्यापु विशेष सम्मान (धातु मूर्तिकार)’ ज्यापू कल्चरल डेभलपमेन्ट ट्रस्ट (जेसिडिटी) काठमाडौं २०१६, ‘धातु प्रविधि सम्मान’ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान खुमलटार ललितपुर २०१५ पाएका थिए । यसैगरी कलाकार राजकुमारले ‘भोकेसनल अवार्ड’ रोटरी क्लब अफ पाटन २००५, नेपाल सरकारबाट प्रबल गोर्खा दक्षिणबाहु २०००, सर्टिफिकेट अफ एक्सिलेन्ट अवार्ड, चित्र तथा मूर्तिकला प्रशिक्षण व्यवस्थापन समिति, बुद्धिस्ट मोनास्ट्रिज एसोसिएसन अफ ललितपुर १९९६ बाट सम्मानित तथा पुरस्कृत भएका थिए ।
उनले नेपाल भाषा मंका खलः बाट सन् १९९४ माखमण्डला निर्माण प्रतियोगितामा प्रथम पुरस्कार पाएका थिए ।

त्यस्तै, उनलाई स्कोप कोअपरेटिभ ललितपुरले २०१५, थैना टोल सुधार समितिले २०१४, सुमेरु कलाग्रामले २०१४, नेपाल हेरिटेज सोसाइटीले २०१४, रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ रोट्रयाक्ट क्लब अफ नेपाल २०१३, पाटन संग्रहालयको १६औं वार्षिक अवसरमा २०१२, बज्र कला कुञ्ज २००९, राष्ट्रिय सरोकार अभियान नेपाल २००८, राष्ट्रिय सांस्कृतिक मञ्च २००८, अक्षेश्वर महाबिहारको सिल्भर जुब्लीको अवसरमा २००० मा (दुई पटक), लोगो डिजाइन गरेवापत् मयुर वर्ण महाबिहार ललितपुरले बुद्ध जयन्तीको अवसर पारेर १९९८ मा, अकुपेसनल प्रोफेसनल मेटल क्राफ्ट आर्टिसन कोअपरेटिभस् एसोसिएसन ओकुबाल ललितपुर, स्वयम्भु डिजाइन बनाएवापत् अक्षेश्वर महाबिहारले बुद्ध जयन्तीको अवसर पारेर प्रशंसा पत्रद्वारा सम्मान गरेका थिए । उनले भारत, जापान, बंगलादेश, थाइलैण्ड, चीन, हङकङ, भुटान लगायतका देश भ्रमण गरेका थिए ।

निष्कर्ष

नेपाली मूर्तिकलाको विकासमा र विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गरेका मूधन्र्य कलाकार राजकुमार शाक्य परम्परागत धातुपत्रकलाका सिद्धहस्त व्यक्तित्व थिए । उनका कलाकृतिमा मौलिकतासँगै शास्त्रीय पक्ष सबल रुपमा उद्घाटन भएको पाइन्छ । प्रतिमालक्षणमा आधारित रहेर बनाएका कलाकृतिमा देखिने दक्षता, सीपगत ज्ञान, सिर्जना तथा इन्जिनियरिङ पक्ष नै उनको पहिचान बन्न पुगेको छ । पातामा मूर्ति बनाउने नेपालको पुरानो वैभवशाली परम्परालाई जीवन्त राख्दै त्यसको सीपगत पक्षको प्रचार तथा सम्प्रेषणमा समेत उनको विशिष्ट भूमिका रहेको छ । पातामा मूर्ति बनाउने परम्पराको जर्गेना, संरक्षण, प्रवद्र्धन र विकासका लागि उनले दिएको योगदान नेपाली कलामा अतुलनीय रहेको छ ।

परम्परागत मूर्तिकलामा शाक्यले विशेषतः धातुपत्र कलामार्फत कला निर्माणसँगै त्यसको ऐतिहासिक विरासतलाई जर्गेना गर्ने कार्यमा समेत अग्रणी भूमिका निर्वाह गरेको देखिन्छ । यसको सीपगत पक्ष, सैद्धान्तिक, शास्त्रीय तथा दार्शनिक पक्षलाई सचेततापूर्वक प्रयोग गर्दै आएका शाक्यले नेपालको कला परम्पराको गौरवलाई जीवन्त बनाउन विशिष्ट भूमिका खेलेका थिए । सीप हस्तान्तरण, यसको सामाजिककरण, मौलिकता संरक्षण तथा कला जागरणप्रति उनी इमान्दारिताका साथ लागेको पाइन्छ । समग्रमा हेर्दा उनको कलागत चेत र सीपगत दक्षताले धातुपत्रकलाको विरासत र वैभवलाई जोगाउन र संरक्षण गर्न निकै मद्दत मिलेको छ ।

प्रतिक्रिया