वैशाख अन्तिम सातादेखि कर्पोरेट सुपर सिक्सेस सिजन–७ सुरु हुँदै

पर्सा । एसएस एभेन्ट्स प्राली र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि पर्सामा सुरु हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत यस सिजन आगामी वैशाख २३ देखि २८ गतेसम्म हुने जानकारी दिइएको हो ।

तीन वर्षपछि आयोजना हुने कर्पोरेट सुपर सिक्सेसमा कुल २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पाँच ओभरमा खेलाइने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुने भएको छ ।

सो प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक सहयोग रहने एसएस इभेन्ट्स प्रालिका निर्देशक सुमित रौनियारले जानकारी दिए । एसएस इभेन्ट्सका निर्देशक रौनियारले नाफा कमाउने भन्दा पनि नेपाली क्रिकेटमा विकास गर्ने र कर्पोरेट सेक्टरलाई क्रिकेटमा भित्र्याउने उद्देश्य अनुरूप प्रतियोगिता आयोजना गर्दै आएको बताए ।

अब छिट्टै उमेर समूहका प्रतियोगिता आयोजना गर्दै नेपाली क्रिकेट विकासमा सहयोग गर्ने योजना रहेको उनले बताए । सन् २०१४ सुरु भएको कर्पोरेट सुपर सिक्सेसको छैटौँ सिजनसम्म एसएस एभेन्ट्सले नै आयोजना गर्दै आएको थियो । सातौँ सिजनदेखि नेकोस जोडिएको हो । पत्रकार सम्मेलनमा एसएस इभेन्ट्सका निर्देशक रौनियार र नेकोसका सचिव विप्लभ घोषबीच सम्झौतापत्र हस्ताक्षर भएको थियो ।

छैटौँ संस्करण सन् २०२० मा नै आयोजना भए पनि कोरोना महामारी र आर्थिक संकटका कारण सातौँ सिजन भने लामो समयसम्म हुन सकेको थिएन । प्रतियोगिता प्रत्यक्ष प्रशारण हुने आयोजकले जनाएको छ । यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन् ।

प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन् । आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने भएको छ । काम गरेको ६ महिना पूरा भएमा व्यवसायीक क्रिकेटरले पनि कर्पोरेट हाउसबाट खेल्ने पाउने एसएस एभेन्ट्सका निर्देशक रौनियारले जानकारी दिए ।

प्रतिक्रिया