सर्लाहीमा १० निरीक्षक निष्काशित

लालबन्दी । सर्लाहीबाट एसइई परीक्षाका १० परीक्षा निरीक्षक निष्कासनका परेका छन् । बिहीबारदेखि सुरु भएको परीक्षामा मर्यादा कायम नगरेको आरोपमा १० जना परीक्षा निरीक्षकलाई कारबाही गरिएको जनाइएको छ । कारबाहीस्वरूप उनीहरूलाई जारी एसइईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।


कारबाहीमा पर्ने निरीक्षक जिल्लाका दक्षिणी क्षेत्रका परीक्षा केन्द्रका रहेका जनाइएको छ । गोडैता नगरपालिकास्थित बेणीभोला माध्यमिक विद्यालय, जनता नमुना माध्यमिक विद्यालय, जनता मावि रामवन र बलरा नगरपालिकास्थित रामसखी मोहितसिंह मावि, जनता मावि, नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र माविका परीक्षा केन्द्रका निरीक्षकलाई कारबाही गरिएको जिल्लास्तरीय परीक्षा समन्वय समितिले जनाएको छ ।

यसैबीच जिल्लामा छिटफुटबाहेक पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्लास्तरीय परीक्षा समन्वय समितिको दाबी छ ।

यसवर्ष सर्लाहीबाट एसइईमा १० हजार ८ सय ९६ परीक्षार्थी सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार ६ हजार ७ सय ८३ छात्रा र ४ हजार १ सय १३ छात्रले परीक्षा दिइरहेका हुन् । १ सय ५८ जनाले ग्रेड वृद्धिका लागि परीक्षा दिन लागेका हुन् । जिल्लाका एक सय पाँच सामुदायिक र ४५ संस्थागत विद्यालयका छात्रछात्राले एसइईमा सहभागिता जनाएका छन् ।

एकाइका अनुसार सामुदायिक विद्यालयबाट ९ हजार ५ सय ६२ र संस्थागत तर्फबाट १ हजार ३ सय ३४ छात्रछात्रा एसइईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइले जानकारी दिएको छ ।

प्रतिक्रिया