हिरासतबाट दुई र कारागारबाट एक जना एसइईमा सहभागी

मधेस ब्यूरो । एसइई परीक्षामा रौतहटका एक जना परीक्षार्थी कारागारबाट सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्ला कारागार रौतहटबाट एक जना परीक्षार्थी एसइईमा सहभागी भएको जनाएको छ ।

यसैगरी रौतहटबाट एक जना र सर्लाहीबाट एक जना परीक्षार्थी प्रहरी हिरासतबाट एसइईमा सहभागी भएका छन् ।

इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियामा प्रहरीको हिरासतमा रहेको एक जना परीक्षार्थी एसइईमा सहभागी भएका हुन् । रौतहटमा एक जना दृष्टिविहीन परीक्षार्थीले पनि परीक्षा दिइरहेको इकाइ प्रमुख रामविनय कुमार सिंहले जानकारी दिए ।

रौतहटमा एसइईको पहिलो दिन २६१ परीक्षार्थी अनुपस्थित भएका छन् । जिल्लाको विभिन्न केन्द्रमा ११६ छात्रा र १४५ छात्र गरी २६१ जना परीक्षार्थी अनुपस्थित भएको इकाइ प्रमुख सिंहले जानकारी गराए ।

यसैगरी प्रहरी हिरासतमा रहेर सर्लाहीमा पनि एक परीक्षार्थीले एसइई दिइरहेका छन् । इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा रहेर एक जना परीक्षार्थीले पहिलो दिनको परीक्षामा सहभागिता जनाएका छन् ।

कारागार तथा हिरासतमा रहेका र दृष्टिविहीनका लागि परीक्षाको अलग्गै व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया