रास्वपा पनि संघीयता र पहिचान पक्षधर !

इलाम–२ मा मिलन लिम्बू उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धेरै राजनीतिक विषयमा मौन रहेकामा इलाम– २ मा हुन लागेको उपनिर्वाचनका लागि मिलन लिम्बूको उम्मेदवारी घोषणाले झन् संशय थपेको छ । केही समयअघि मात्र माओवादी त्यागेर बसेका लिम्बू पहिचानवादीको पक्षमा मुखर व्यक्ति हुन् ।

रास्वपाले इलाम–२ लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । प्रारम्भिक सूचीमा परेका ५ जनालाई उम्मेदवारी फिर्ता गराएसँगै लिम्बू सर्वसम्मत उम्मेदवार बनेका हुन् ।

लिम्बूसँग रास्वपाका सभापति रवि लामिछानेसहित शीर्ष नेताले पटक–पटक छलफल गरेका थिए । लिम्बू रास्वपाबाट उम्मेदवार बन्न तयार भएपछि उनको नाम उम्मेदवारको प्रारम्भिक सूचीमा राखिएको थियो ।

लिम्बूले संघीयता र पहिचानको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिबद्धता जनाएपछि आफूले उक्त पार्टीबाट उम्मेदवार बन्ने निर्णय गरेको बताएका छन् । गएको २०७९ सालको निर्वाचनमा प्रदेशतर्फ कतै उम्मेदवारी नदिएको र अहिले उपनिर्वाचन भइरहेको बझाङको प्रदेशसभाको सिटमा पनि रास्वपाले उम्मेदवारी दिएको छैन ।

रास्वपा संघीयता र पहिचानको पक्षमा मौन रहँदै आएको छ । उसको कुनै पनि दस्तावेजमा संघीयता र पहिचानको विषयमा न विरोध गरिएको छ, न त समर्थन । तर, अहिले मिलन लिम्बूलाई उम्मेदवार बनाउनुले लिम्बूले उम्मेदवार हुनकै लागि जनतासँग ढाँट कुरा गरेका हुन् वा रास्वपाले तुलानात्मक रूपमा बलियो उम्मेदवार नपाएर लिम्बूलाई प्रयोग गर्न खाजेको हो बुझ्न केही समय पर्खनैपर्ने भएको छ । किनभने रास्वपाले आधिकारिक रूपमा यसबारे केही सार्वजनिक गरेको छैन ।

‘संघीयता र पहिचानको विचार पार्टीमा राखेँ । पहिचान र संघीयताविरोधी होइन भनी नेतृत्वले भन्नुभएको छ,’ लिम्बूले भने, ‘प्रदेशसभाको संख्या र अधिकार नदिएकामा हाम्रोे विमति हो भन्नुभएको छ । त्यस आधारमा हाम्रो सहकार्य भएको हो ।’

रास्वपा नेतृत्वले आफूसँगको कुराकानीमा पहिचानको सन्दर्भमा अस्तित्व स्वीकार्ने विषयमा आफूहरूको विरोध नभएको भनी विश्वास दिलाएको पनि लिम्बूले बताए । लिम्बू पहिचानका प्रखर अभियन्ता हुन् । उनी पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने र यसकै आधारमा संख्या पनि बढाउनुपर्ने पक्षमा बहस–पैरवी गर्दै आएका पात्र हुन् ।

लिम्बू समुदायको मत बटुल्नलाई रास्वपाले मिलन लिम्बूलाई प्रयोग गरेको हो वा लिम्बूले आफ्नो पूर्वधारणामा पुनर्विचार गरेका हुन् भन्ने अन्योल भएको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ । रास्वपा नेतृत्वले आफ्नो आधिकारिक दस्तावेजमा संघीयता र पहिचानको मुद्दालाई समावेश नगरेसम्म लिम्बू मात्रको भनाइ व्यक्तिगत हुने राजनीतिक विश्लेषकको समान मत छ ।

गत निर्वाचनमा प्रदेशतर्फ कतै उम्मेदवारी नदिएको रास्वपाले संघीयता विरोधीको मत पनि पाएको राजनीतिक विश्लेषक बताउँछन् । अब रास्वपाले लिम्बूको भनाइलाई साथ दिएमा त्यो मत उसले गुमाउन सक्ने पनि आकलन गर्न थालिएको छ ।

प्रतिक्रिया