सर्लाहीमा एसइई परीक्षाको निरीक्षकमा खटिएका १० जनालाई जिम्मेवारीबाट हटाइयो

लालबन्दी । सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन परिक्षा हलमा खटिएका १० जना निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ । परिक्षा हलभित्र मर्यादा कायम गराउन नसक्ने १० जना निरीक्षकलाई कारवाही स्वरुप जिम्मेवारीबाट हटाइएको हो ।

कारवाहीमा पर्नेहरुमा जनता माध्यमिक विद्यालय बलरा नगरपालिका– ९ गडहीया डुमरिया परीक्षा केन्द्रमा मुकेश यादव, सुजितकुमार यादव र चन्द्रमोहन हजारीलाई जिम्मेवारीबाट हटाइएको छ । त्यस्तै रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालय बलरा नगरपालिका– ४ बलरा परीक्षा केन्द्रमा राजकुमार यादव र शिवचन्द्र राय, जनता माध्यमिक विद्यालय गोडैता नगरपालिका– ५ रामवन परीक्षा केन्द्रमा रामवचन राम र रन्जित मण्डललाई जिम्मेवारीबाट हटाइएको शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाले जनाएको छ ।

त्यसैगरी वेणी भोला नमूना माध्यमिक विद्यालय गोडैता नगरपालिका– ८ गोडैता परीक्षा केन्द्रमा अरविन्द भण्डारी, जनता नमूना माध्यमिक विद्यालय गोडैता नगरपालिका– ३ सीमरा भगवतपुर परीक्षा केन्द्रमा रामभरोस साह र नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र माध्यमिक विद्यालय बलरा नगरपालिका– ८ डुमरिया परीक्षा केन्द्रमा किशोर गुप्तालाई कारवाही गरी जिम्मेवारीबाट हटाइएको छ ।

समग्रमा यी सबै परीक्षा केन्द्रमा मर्यादित ढंगले नै परीक्षा सञ्चालन भए पनि अनुगमनका क्रममा १० जना निरीक्षक रहेको कक्षाकोठामा भने मर्यादा विपरीत परीक्षा सञ्चालन भएको पाइएपछि जिम्मेवारीबाट हटाएर नयाँ निरीक्षक खटाइएको शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले जानकारी दिए । उनका अनुसार जिम्मेवारीबाट हटाइएका निरीक्षक (शिक्षक) अब आगामी दिनका कुनै पनि परीक्षामा सामेल हुन पाउने छैनन् ।

जिल्ला परीक्षा समन्वय समिति सर्लाहीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बिहीबार पहिलो दिनको परीक्षा पूर्वतयारी अनुसार शान्तिपूर्णरुपमा सम्पन्न भएको बताए । परीक्षालाई मर्यादित बनाउन प्रमुख जिल्ला अधिकारी धमला, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे र शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख रामवृक्ष महतोको नेतृत्वमा तीन वटा अनुगमन टोली परिचालित भएको छ ।

एसइईका लागि सर्लाहीमा १० हजार ८९६ परीक्षार्थीले फारम भरेकोमा बिहीबार पहिलो दिनको परीक्षामा १०१ जना छात्रा र ७३ जना छात्र गरी १७४ जना अनुपस्थित भएका छन् । परीक्षामा पाँच हजार ४४३ जना छात्रा र पाँच हजार २७९ जना छात्रसहित १० हजार ७२२ जना परीक्षार्थी सामेल भएका छन् ।

प्रतिक्रिया