मधेस प्रदेशबाट ८१ हजार ७६८ विद्यार्थीले एसइइ दिँदै

मधेस ब्यूरो । एसइई २०८० मा मधेस प्रदेशबाट ८१ हजार ७६८ जना परीक्षार्थी सहभागी हुँदैछन् । प्रदेशको धनुषा जिल्लाबाट सबैभन्दा बढी १२ हजार २१४ र सबैभन्दा कम सप्तरी जिल्लाबाट ९ हजार ३२३ जना परीक्षार्थी एसइई दिँदैछन् ।

यसै गरी सिराहाबाट १० हजार ९२३, सर्लाहीबाट १० हजार ८९६ र पर्साबाट १० हजार ६८ जना परीक्षार्थी एसइइमा सहभागी हुँदैछन् । यसै गरी रौतहटबाट ९ हजार ४६९ जना, बाराबाट ९ हजार ४४४ जना र महोत्तरीबाट ९ हजार ४३१ परीक्षार्थीले परीक्षामा सहभागिता जनाइरहेको मधेस प्रदेशको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

मधेस प्रदेशमा यस वर्षको लागि २९५ परीक्षा केन्द्र कायम गरिएको र हरेक केन्द्रमा एक जना केन्द्राध्यक्षको नियुक्ति गरिएको छ । निर्देशनालयले ५३० जना सहायक केन्द्राध्यक्ष नियुक्त गरिएको जनाएको छ ।

परीक्षार्थी संख्याको आधारमा निरीक्षक, परीक्षा सहायक तथा कार्यालय सहयोगी नियुक्त गरिएको निर्देशनालयले जनाएको छ । प्रदेशमा ४ हजार ९२ जना निरीक्षक, ८०७ जना परीक्षा सहायक र १ हजार ६३९ जना कार्यालय सहयोगीलाई परीक्षा केन्द्रमा खटाइएको छ । सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक तथा कार्यालय सहयोगीको नियुक्ति सम्बन्धित केन्द्राध्यक्षले गर्ने गरेका छन् ।

यस वर्षको एसइई परीक्षामा २९५ परीक्षा केन्द्रका लागि ७ हजार ६५८ जना कर्मचारी खटाइएको निर्देशनालयले जनाएको छ । एसइई परीक्षालाई मर्यादित र भयरहित बनाउनका लागि निर्देशनालयले आवश्यक निर्देशन दिइसकेको र परीक्षाको समयमा स्थलगत अनुगमन निरीक्षण गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया