पालिका कप क्रिकेट : गरुडालाई हराउँदै माधवनारायण विजयी

रौतहट । रौतहटको गौरमा जारी पालिका कप टी– २० क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार बिहान भएको खेलमा ३८ रनले माधवनारायण नगरपालिका विजयी भएको छ । पालिका कपको सुरु भएको दोस्रो चरणको प्रतिस्पर्धामा माधवनारायण नगरपालिका दोस्रो पटक विजयी भएको हो ।

बिहान साढे ९ बजेदेखि सुरु भएको खेलमा पहिला ब्याटिङ गरेको माधवनारायण नगरपालिकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२५ रनको स्कोर खडा गरेको थियो । माधवनारायणको लागि रनबीर यादव ३५, सचिन यादव २१, धिरज यादव १५ र विवेक सहनीले १५ रन बनाएका थिए ।

जितको लागि १२६ रनको लक्ष्य पाएको गरुडा नगरपालिकाले खासै राम्रो प्रदर्शन गर्न सकेन । लक्ष्य प्राप्तिका लागि जवाफी ब्याटिङ गर्न आएको गरुडाले १९ ओभरमा १० विकेट गुमाएर ८७ रन मात्रै बनाउँदै ३८ रनले खेल गुमाएको आयोजक रौतहट जिल्ला क्रिकेट संघले जनाएको छ । गरुडाको लागि सोबेन्द्र पासवानले सार्वाधिक ३८ रन तथा शैलेन्द्र कुशवाहाले १३ रन व्यक्तिगत योगदान दिए ।

माधवनारायणका तर्फबाट सतिश यादव, चन्दन ठाकुर र नितेश यादवले विपक्षी टिमको तीन–तीन विकेट लिएका थिए । बुधबार भएको खेलमा राम्रो प्रदर्शन गरेका सतिश यादवलाई मेन अफ दि म्याच घोषित गरी नगद एक हजार रुपैयाँबाट पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया