पर्यटन प्रवर्द्धनमा जुट्दै साहित्यकार

इलाम । जिल्लाको पर्यटन प्रवर्धनमा इलामका साहित्यकार जुटेका छन् । पर्यटकीय जिल्ला भएर पछिल्लो समय सुनसान बन्दै गएको इलाममा साहित्यको माध्यमबाट पर्यटन प्रवर्धन गर्न भन्दै साहित्यकार जुटेका हुन् । इलाम नगर साहित्य, कला, सङ्गीत, प्रतिष्ठानको अगुवाइमा सदरमुकाममा आउँदो चैत १६ र १७ गते तेस्रो संस्करणको ‘इलाम साहित्य महोत्सव’ हुन लागेको हो । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले दुईदिने ‘इलाम साहित्य महोत्सव’ आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए ।

उनले ‘पर्यटनका लागि साहित्य’ नाराका साथ आयोजना हुने महोत्सवमा नेपाल र भारतका दुई सयभन्दा बढी साहित्यकार सहभागी हुने जानकारी दिए । उनले भने, ‘इलाम त्यसै पनि पर्यटकीय जिल्ला हो । यसलाई साहित्यका माध्यमबाट समेत थप विकास र प्रवर्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा नेपाल र भारतका गरी दुई बढी साहित्यकार इलाम आउने छन् ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गर्ने महोत्सवमा साहित्यसँगै पर्यटन, अर्थतन्त्र र राजनीतिबारे बहस हुनेछ । उद्घाटनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सम्भाषण हुनेछ । त्यस्तै, ‘संघीयता ः यस्तै वा कस्तो ?’ शीर्षकमा नविना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीको बहस, ‘कविता’ शीर्षकमा सोझो गाउँले, सुन्दर कुरुप र सुमिनाको बहस, ‘मिथकदेखि मिथकसम्म’ शीर्षकमा डा. अरुण गुप्ता र राजन मुकारुङको बहस र ‘आख्यान ः अन्तिम पात र नयाँ पालुवा’ शीर्षकमा नारायण ढकाल र वसन्त बस्नेतको बहस हुने प्रतिष्ठानका अध्यक्ष थाम्सुहाङले जानकारी दिए ।


त्यसैगरी ‘पोइट्री इन मुभमेन्ट’ शीर्षकमा राजा पुनियानी र ‘अर्थतन्त्र’ शीर्षकमा स्वर्णीम वाग्लेको प्रस्तुति रहने छ भने ‘बदलिँदो विश्व फेरिँदो स्थानीयता’ शीर्षकमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्बाङ र रञ्जित तामाङ, ‘चारखोलको रङ्गमञ्च’ शीर्षकमा सुरेश पोर्तेल र चेतन आङ्थुपोको बहस हुने आयोजकले जनाएको छ । त्यसैगरी, ‘कविताको स्वर’ शीर्षकमा गद्य कवितावाचन र ‘छन्द सुगन्ध’ शीर्षकमा पद्य कवितावाचन समेत सोही दिन हुनेछ ।

दोस्रो दिन ‘संरक्षण र पर्यापर्यटनका कुरा’ शीर्षकमा सोनाम भुटिया र दीपेन्द्र कर्ण, ‘मातृभाषाको सकस’ शीर्षकमा सुरेश किरण, चन्द्रकिशोर र गौरी तमुको बहस हुनेछ । ‘उमेरको कथा’ शीर्षकमा अभि सुवेदीसँग दीपक सापकोटाको संवाद, ‘सिनेमा’ शीर्षकमा केकी अधिकारी, मीन भाग र रामबाबु गुरुङ र ‘अक्षर मोह ः अक्षर यात्रा’ शीर्षकमा शैलेन्द्र अधिकारी, शंकर तिवारी र टीका आत्रेयको बहस हुनेछ ।

त्यस्तै, ‘सीमा, साहित्य र संस्कृति’ शीर्षकमा डा. कविता लामा, गणेश खनियाँ र दीपक लुङ्गेली, ‘प्रतिरोधी साहित्य’ शीर्षकमा डा. ज्ञानेन्द्र खतिवडा, विक्रम हथवार (कर्नाटक) र डा. अस्मिता विष्ट एवं ‘कस्तो राजनीति’ शीर्षकमा डा. सिके राउत, प्रदिप ज्ञवाली र विश्वप्रकाश शर्माको बहस हुनेछ । साँझ गजल सन्ध्यासँगै महोत्सव समापन हुने प्रतिष्ठानका अध्यक्ष थाम्सुहाङले जानकारी दिए ।

प्रतिक्रिया