धनुषा । एसइई परीक्षा आउन चार दिन बाँकी रहेको अवस्थामा तोकिएको परीक्षा केन्द्र कट्टा गरी अर्को विद्यालयमा सारेकोमा धनुषाका प्रधानाध्यापकहरू विरोधमा उत्रिएका छन् ।
धनुषाको सबैला नगरपालिकास्थित फकिरचन्द गामी माध्यमिक विद्यालयको परीक्षा केन्द्र कट्टा गरी शिक्षा विकास तथा समन्वय इकाई समितिले सोही नगरपालिकाको ठिल्लामा सारेपछि जिल्लाका २६ माविका प्रधानाध्यापकहरू विरोधमा उत्रेका हुन् ।
उनीहरूले राष्ट्रिय परिक्षा बोर्डद्वारा कायम गरिएको फकिरचन्द्र गामी माध्यमिक विद्यालयको परीक्षा केन्द्र अन्य ठाउँमा सार्न पाइँदैन भन्दै तोकिएको परीक्षा केन्द्र कायम नगरिए आफूहरू एसइई परीक्षामा केन्द्राध्यक्षको भूमिकामा सहभागी नहुने चेतावनी दिएका छन् ।
नेपाल शिक्षक संघका केन्द्रीय सदस्य मेघनाथ यादवले भने, परीक्षाको सबै तयारी पूरा भइसकेको अवस्थामा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले परीक्षा केन्द्र सार्नु गलत रहेकाले आफूहरू विरोधमा उत्रेको बताए । उनले भने, ‘परीक्षाका लागि कापी र प्रश्नपत्रसमेत स्थानीय प्रहरी निकायमा पुगिसकेको र विद्यार्थीहरू पनि आ–आफ्नो व्यवस्था तोकिएको स्थानमा गइसकेको अवस्थामा परीक्षा केन्द्र नै सार्नुले सबैलाई समस्या हुन गएको छ ।’ साथै उनले समस्या बारे जिल्ला शिक्षा परीक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारीले आफूहरूको मागलाई बेवास्ता गरेको आरोपसमेत लगाए ।
यस्तै मावि धनुषाधामका रामपुकार यादवले आफूहरूले बरकुर्वा माविमा परेको परीक्षा केन्द्रअनुसार तयारी गरेको थिए । विद्यार्थीहरू पनि सोहीअनुसार परीक्षा अवधिभरको बासको तयारी गरेका छन् तर अन्तिम समयमा आएर परीक्षा केन्द्र नै ठिल्ला सारेपछि विद्यार्थीलाई समस्या भएको बताए ।
प्रतिक्रिया