होलीको रङमा रंगियो मधेस

मधेस ब्यूरो । मधेसका सबै गाउँ होलीमय भएको छ । मुख्य होली सोमबार रहेको भए पनि केही दिनदेखि विभिन्न संघसंस्थाहरुले औपचारिक रुपमा नै होली मनाइरहेका छन् । सबै संगठनहरुले औपचारिक तथा अनौपचारिक रुपमा शुभकामना आदानप्रदान गर्दै अबिर लगाएर गम्छा ओढाउँदै सम्मान गर्ने चलन बढेको छ ।

मधेस केन्द्रित दल मात्र नभएर चर्चामा रहेका करिब सबै राजनीतिक दलहरुले गत एक हप्तामा होलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिसकेको छ । शुभकामना आदानप्रदान कार्यक्रममा सयौँको उत्साहपूर्ण सहभागिता रहने गरेको छ ।

यसै क्रममा नेकपा एसका मधेस प्रदेश सदस्य बृजकिशोर यादवले शनिबार आफ्नै निवास गरुडा नगरपालिका– ५ महम्मदपुरमा होलीको शुभकामना आदानप्रदान गर्दै करिब पाँच सय जनालाई गम्छा ओढाएर अबिर दलेका छन् । यादवले मुख मिठ्याउन सबैलाई खिर पनि खुवाएका छन् ।

यसैगरी गरुडा नगरप्रमुख कन्थमनी प्रसाद कल्वारले गरुडा– ४ स्थित निवासमा होलीको परम्परागत गीत बजाउँदै आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा हजारौँले सहभागिता जनाएका छन् । नगरप्रमुख कल्वारले सबैलाई गमछा ओढाउँदै अबिर दलेर खाना पनि खुवाएका छन् ।

यसै गरी जसपाले पूर्वमन्त्री गोविन्द चौधरीको आतिथ्यमा गरुडामा होली मिलन समारोहको आयोजन गरी शुभकामना आदानप्रदान गरेको छ । जिल्ला अध्यक्ष श्यामबिहारी यादवको व्यवस्थापनमा भएको कार्यक्रममा सहभागीलाई गमछा ओढाएर सम्मान गर्दै अबिर दलेर सामाजिक सद्भाव कायम गर्नुपर्ने बताएका छन् ।

मुस्लिम समुदायको रमजान चलिरहेको भए पनि औपचारिक कार्यक्रमहरुमा भने मुस्लिम समुदायका अगुवाहरुको सहभागिता हुने गरेको छ ।

मुस्लिम अगुवाहरले पनि होलीको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भई होलीलाई सामाजिक सद्भावको पर्वको रुपमा प्रमाणित गरिरहेका छन् । मुस्लिम समुदाय होलीमा सहभागी हुँदा कतिपयले अबिर लाउने तथा कतिपयले अबिर लाउने चलन नभएको भन्दै संस्कृतिलाई मनाउन सहयोग गर्ने गरेका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया