नेपाल शिक्षक संघ कोसीको सभा पाँचथरमा सम्पन्न

पाँचथर । कोशी प्रदेशका १४ वटै जिल्लाका शिक्षकहरुको उपस्थितिमा पाँचथरको फिदिममा २ दिने सभा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ कोशी प्रदेशको आयोजना तथा शिक्षक संघ पाँचथरको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल शिक्षक संघ पाँचथरका अध्यक्ष होमप्रसाद खनालका अनुसार ‘गुणस्तरिय शिक्षाको आधार मर्यादित शिक्षण पेसाको पूर्वाधार’ भन्ने मुख्य नारासहित शिक्षक संघले प्रतिनिधिहरुको सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरी, उपाध्यक्ष विरेन्द्रकुमार खड्कालगायत पदाधिकारी, कोशी प्रदेश समितिका पदाधिकारी, १४ वटै जिल्लाका अध्यक्ष तथा पदाधिकारी र पाँचथरका पदाधिकारीसहित ठुलो संख्यामा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

सभाले यथाशिघ्र शिक्षा ऐन शिक्षक कर्मचारी मैत्री ल्याउनु पर्ने, गुणस्तरीय शिक्षाको लागि गुणस्तरीय लगानी सबै सरकारबाट हुनुपर्ने, संविधान संशोधन गरि अनुसुची ८ बाट शिक्षा हटाउनु पर्ने, शिक्षक संघको विधानमा समयानुकुल परिमार्जन हुनुपर्ने माग राखेको छ । शिक्षक संघमा आवद्ध शिक्षकहरुलाई सबल, सक्षम र विद्यार्थीका विचमा लोकप्रिय बन्ने वातावरण सृजना गर्दै अवसरहरु प्रदान गरिने समेत घोषणा गरिएको छ ।

सभामा नेपाल शिक्षक संघमा आवद्ध प्रअहरु मध्ये उत्कृष्ट प्रअको रुपमा महेन्द्र रत्न मावि विर्तामोडका प्रअ खड्गप्रसाद खरेल, उत्कृष्ट विद्यालय रुम्जाटार मावि ओखलढुंगा, शिक्षक संघको उत्कृष्ट पालिका समिति रामग्रामथान मोरङ र उत्कृष्ट जिल्ला कार्य समितिमा पाँचथर जिल्ला कार्यसमिति घोषित हुँदै सम्मान गरएिको थियो ।

सभामा कोशी प्रदेस कार्यसमितिका अध्यक्ष तेजप्रसाद चौलागाइले नीति तथा कार्यक्रम, महिला उपाध्यक्ष रामकुमारी भण्डारीले महिला विभागको प्रतिवेदन, महासचिव मातृका प्रसाद न्यौपानेले सांगठनिक प्रतिवेदन, अर्थ महासचिव इन्दिरा कटुवाटबाट आर्थिक प्रतिवेदन पेश भएको थियो ।

नेपालको शैक्षिक र राजनीतिक परिवर्तनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको प्रजातन्त्रवादी शिक्षकहरुको संगठन नेपाल शिक्षक संघले वि ।सं । २००७ साल देखीनै सङ्गठित हुदै पेशागत हकहित र प्रजातन्त्रको पक्षमा आफ्ना आवाजहरु वुलन्द पार्दै आइरहेकोमा वि ।सं । २०४७ साल देखी विधिवत स्थापना भइ आफ्ना क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको छ ।

फिदिममा आयोजित कोशी प्रदेस कार्यसमितिको खुल्ला सत्र कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रुपनारायण जवेगु, निवर्तमान सभापती नरेन्द्र कुमार केरुङ, फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्ले, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समर बहादुर अधिकारी, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजाहाङ आङदेम्बे, तुम्वेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का, नेपाल प्रेस युनियन पाँचथरका अध्यक्ष तथा युवा पत्रकार खविन लुइटेल तथा नेपाल ट्रेड युनियन कांग्रेस पाँचथरका अध्यक्ष दिवाकर बाँस्कोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया