नेपालको गौरवगाथा समेटिएको पुस्तक ‘भक्त गाथा’

जे होस् पुस्तकले नेपालको फरक खालको इतिहासलाई उजागार गरेको छ । यसले नेपालको गौरव गाथा मात्रै गाएको छैन फरक खालको इतिहास लेखनको बाटो पनि देखाएको छ । इतिहासको खोजी कष्टसाध्य कर्म हो । व्यक्तिगत पहलमा २ सय ९७ जनाको जीवनी/गाथा एकठाउँमा समेट्नु चानचुने कुरा होइन । त्रिविको अवकाश प्राप्त जीवनपछि पनि लेखनको लत नछोडी यति महत्वपूर्ण पुस्तक तयार गर्ने लेखकको मिहिनेत तारिफयोग्य छ ।

लामो समय पत्रकारिता र लेखनमा बिताएका लेखक शिवप्रसाद ढकालको लेखन तथा सम्पादनमा तयार पुस्तक भक्त गाथा हालै बजारमा आएको छ । सनातन धर्मका प्रतिपादक ऋषि/महर्षिदेखि अनेक धर्म सम्प्रदायका प्रवर्तक, व्याख्याता सिद्ध साधक मात्रै होइन नेपालको ऐतिहासिक परम्परामा योगदान गर्ने विशिष्ट व्यक्तित्वहरू र साहित्यकारहरू समेतको परिचय, विशेषता र योगदानको चर्चा गरिएको यो पुस्तकले ओझेलमा रहेका नेपालका धरोहरहरूलाई प्रकाशमा ल्याउने काम गरेको छ । एक हिसाबले भन्ने हो भने यो पुस्तक लुकेको नेपाली इतिहासको व्यक्तिगत पहलमा उत्खनन् पनि हो ।

नेपाल यस्तो देश हो जो सधैँ स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न रह्यो । यसको सभ्यता र संस्कृति विश्वमै सबैभन्दा प्राचीन र उत्कृष्ट छ । यहाँ ज्ञानवीर, कर्मवीर, धर्मवीर र युद्धवीरहरूको लामो शृंखला छ । नेपालको सामाजिक सद्भाव र धार्मिक सहिष्णुता विश्वमै उदाहरणीय छ । ज्ञानभूमि, देवभूमि र तपोभूमिका रूपमा सर्वत्र पहिचान बनाएको नेपालमा विश्वमै प्रसिद्ध अनगिन्ती विशिष्ट व्यक्तिहरूको जन्म भएको छ । चिन्तनका दृष्टिले, कर्मका दृष्टिले वा अन्य विविध प्रकारबाट नेपाल र नेपालीलाई योगदान पु¥याउने विभिन्न क्षेत्रका २ सय ९७ जना विशिष्ट व्यक्तित्वहरूको जीवनी र परिचय समावेश गरिएको छ यो पुस्तकमा ।

इतिहास लेखन धेरैजसो राजनीतिको चौघेरोमा घुम्ने गर्दछ । शासन सत्ता, शासक, राजा, राजधर्म राजनीति, युद्ध, विजय–पराजयको वरिपरि केन्द्रित भएर इतिहास लेख्ने एउटा परिपाटी छ । तर, त्यत्तिले मात्र समग्र मुलुक र त्यसमा अटाएका समाजका विभिन्न पक्षको अध्ययन पूरा हुन सक्तैन । त्यसैले सनातन परम्परा, रीतिरिवाज, धर्म, संस्कृति, आदिको अध्ययन र लेखनको परम्परा अघि बढेको हो । पूर्णरूपमा इतिहासको पुस्तक भन्न नमिले पनि इतिहासका थुप्रै घटना/परिघटना समेटिएको यो पुस्तक इतिहासको अभिलेख भने पक्कै हो ।

यो पुस्तकलाई फरक ढंगबाट नेपाललाई चिनाउने दस्तावेजका रूपमा लिन सकिन्छ । यसमा समावेश भएका व्यक्तित्व पात्रको वरिपरि नेपालको सभ्यता र इतिहास घुमिरहेको पाउन सकिन्छ । नेपाललाई उच्च शिर र केन्द्रविन्दुमा राखेर योे पुस्तक तयार गरिएको छ । हामीकहाँ यसरी निरपेक्ष भावले सबै क्षेत्र समेटेर पुस्तक लेख्ने परिपाटी अत्यन्त कम छ । धार्मिक क्षेत्रमा थोरै किताब केही व्यक्ति वा धार्मिक मनिषीहरूलाई समावेश गरी लेखिएको पाइन्छ भने साहित्यिक फाँटमा केही पुस्तक धेरै व्यक्तिलाई समेटेर लेखेको पाइन्छ । तर त्यसको दायरा भने अत्यन्तै सीमित छ । यो पुस्तकमा भने उपलब्ध भएसम्म नेपालमा प्रचलित सबै सम्प्रदायका आचार्यहरूको संक्षिप्त भए पनि जीवनी र परिचय समेटिएको छ ।


पुस्तकमा राजर्षि जनक र जानकीदेखि लिएर ऋषिमुनिहरू, सम्प्रदायप्रवर्तकहरू, साहित्यकारहरू तथा अन्य विविध क्षेत्रका व्यक्तित्वहरूको जानकारी एकै ठाउँमा पस्किएको छ । गायिका मेलवादेवीको परिचयमा मात्रै होइन दानवीर रामस्वरूप साह÷रामसागर साह, हनुमानप्रसाद साहु, हुतराम वैद्य आदिलाई समेटिनुले पुस्तकमा विविधता पनि भल्किन्छ ।

पढदै जाँदा पुस्तक अध्यात्मतिर अलि बढी ढल्केको भान हुन्छ । आध्यात्मिक जगतका विभिन्न मत÷सम्प्रदायका सन्तहरू जो अलि ओझेलमा थिए तिनको यहाँ गुणगान छ । तान्त्रिक अनि सिद्ध साधकहरूको चर्चा पर्याप्त गरिएको छ । कैयौँ राजा महाराजाहरूसमेतले राजपाठ छाडेर यही दिव्य भूमिमा तपस्या गरेर परमार्थिक जीवन बिताएको तथ्य भक्त गाथाले कहेको छ । बुद्ध, गोरखनाथ, नागार्जुन, यलम्बर, भृकुटीदेखि जडभरत र अष्टावक्रसम्मका गाथा समेटिएको छ । आध्यात्मिक मोक्षको आकांक्षा राख्ने दक्षिणका कैयाँै वैरागी वितरागीहरूले यही हिमालको काखमा आश्रय पाएको तथ्य पुस्तकले उजागार गरेको छ । पुस्तकमा जतिलाई समेटिएको छ ती सबैजनाको साइनो कुनै न कुनै रूपमा नेपाल भूमिसँग जोडिएको छ । त्यसैले पुस्तकमा जहाँतही नेपाली मातृभूमिको सुगन्ध भेट्न सकिन्छ ।

प्रस्तुत कृतिमा आदिकवि भानुभक्त आचार्य, युवाकवि मोतिराम भट्ट, कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मिप्रसाद देवकोटा, नाटककार एवं दार्शनिक कवि बालकृष्ण सम, युगकवि सिद्धिचरण श्रेष्ठ, कविवर केदारमान व्यथित आदि केही कवि/लेखकहरूको आध्यात्मिक चिन्तनलाई उल्लेख गरिएको छ ।

समाजमा चेतना र परिवर्तनको बिगुल फुक्नेलाई विशेष स्थान दिइएको छ । समाजमा विद्यमान उच/नीचका विरुद्ध जागरण ल्याउने सन्तहरू, धर्म/अध्यात्मका माध्यमबाट, कथावाचन, प्रवचन उपदेशका माध्यमबाट समाजको निष्ठा बढाउन प्रयत्न गर्ने व्यक्तित्वहरू, विद्यादानलाई जीवनको सर्वोपरि लक्ष्य र धेय ठानेर गुरुकुल, पाठशाला, विद्यालय स्थापना गर्ने दानी शिक्षासेवीहरूलाई यस पुस्तकमा समेट्न खोजिएको छ । शिक्षाको इतिहास बताउने केही दुर्लभ दस्तावेज अभिलेख पनि पुस्तकमा संग्रहित रहेका छन् ।

पुस्तकमा चर्चामा रहेका मात्रै होइन नसुनिएका व्यक्तित्वहरूको नाम पनि समावेश गरिएको छ । तर, समेटिनुपर्ने नाम छुटेका छन् । यसमा लेखक स्वयंको पनि स्वीकारोक्ति छ, ‘भक्त गाथामा समावेश गर्नेपर्ने तपसी, ज्ञानी, ध्यानी, विज्ञानी, साधक, सद्गुरु, मातृभूमिका सेवक, समाजसेवक, शिक्षक (आचार्य, चिन्तक हितचिन्तक आदि कैयौँ महामना महापुरुषहरूको बारेमा लेख्नुपथ्र्याे, लेख्न सकिएन ।’ थप समेट्न नसकेकोमा लेखककै दुःखेसो छ । अर्को ठाउँमा लेखकले उल्लेख गरेका छन्, ‘राजा भर्तृहरि जसको अध्यात्म साधनाभूमि नेपाल रह्यो उहाँका बारेमा पनि यहाँ छुट्टै लेख्नुपर्ने थियो, हुनसकेन । पश्चिमको पाल्पालाई साधनात्मक दिव्य ऊर्जाले आपुरित गर्ने शिवावतार स्वामी बालानन्द पुरी र सिद्धावतार स्वामी रामानन्दापुरीका बारे खोजविन गर्न सकिएन ।’

एक प्रसंगमा लेखकले उल्लेख गरेका छन्, ‘यस पुस्तकमा परिवर्तन र सुधारका पक्षपाती शिक्षाप्रेमी कवि महाराज श्री ३ देवशमशेरलाई शब्दले सजाउने योजना थियो, त्यसो गर्न सकिएन । मानवतावादी व्यक्तित्व राजा जयपृथ्वी बहादुर सिंहलाई पनि यहाँ समेट्न सकिएन ।’ श्रीनिवासाचार्यको जीवनगाथा समेटन नसकिएकोमा पनि लेखकको पछुतो छ ।

त्यस्तै त्रिखण्डेश्वर भैंसे (मकवानपुर)मा तपस्या गर्दै ब्रह्मलीन भएका पाइलट बाबाको गुरु हरिबाबाका बारेमा पनि सामग्री जुटाउन नसकेको लेखकको स्वीकारोक्ति छ । समेट्न नसकिएका अर्का एक पात्रको बारेमा लेखक उल्लेख गर्छन्, ‘काठमाडौं भाटभटेनी मन्दिर नजिकै कुटी बनाएर साधनारत सिद्ध दण्डीबाबा, पशुपतिमा गाई, कुकुर, बाँदरलगायत पशुपंक्षी कीटपतंगको सेवा गरेर तपस्यामालीन हुनुभएका चुनचुनबाबा र सिलवाल बाबाको गाथा समेट्ने इच्छा पनि पूरा भएन ।’ थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टको कवितामा स्थान पाएका पालुङका शैक्षिक अभियन्ता श्यामसुन्दर गिरिका सम्बन्धमा खोजी गर्न नसकेको मात्रै होइन नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका रहेका बिसे नगर्चीलाई समेट्न नसकिएकोमा लेखक स्वयंको दुःखेसो छ । सामग्री उपलब्ध नभएर वा विशेष कारणवश छुट्नु नपर्ने कतिपय नाम आगामी संस्करणमा समावेश हुने नै छन् ।

जे होस् पुस्तकले नेपालको फरक खालको इतिहासलाई उजागार गरेको छ । यसले नेपालको गौरव गाथा मात्रै गाएको छैन फरक खालको इतिहास लेखनको बाटो पनि देखाएको छ । लेखनकार्य जति सरल सोचिएको छ, त्यति सजिलो र सहज भने पक्कै होइन । त्यसमा पनि इतिहासको खोजी कष्टसाध्य कर्म हो । व्यक्तिगत पहलमा २ सय ९७ जनाको जीवनी÷गाथा एकठाउँमा समेट्नु चानचुने कुरा होइन । त्यसको लागि तपस्या नै गर्नुपर्छ । त्रिविको अवकाश प्राप्त जीवनपछि पनि लेखनको लत नछोडी यति महत्वपूर्ण पुस्तक तयार गर्ने लेखकको मिहिनेत तारिफयोग्य छ । मन ढकाल प्रकाशक रहेको ९ सय १० पृष्ठको यो पुस्तकको मूल्य १ हजार १ रुपैयाँ छ । आफ्नो देश र माटोप्रति गर्व गर्ने र अपनत्व खोज्ने सबैका लागि यो पुस्तक पठनीय मात्रै होइन संग्रहणीय पनि छ ।

प्रतिक्रिया