आधुनिकता र परिवार विखण्डन

गरिबको रगत चुसेर बस्न पल्केका सामन्तले गाउँमा बाटोघाटो, स्कुल आदि विकास तिनै गरिबलाई उचालेर हुन नदिए जस्तै धनी देशले यो देशको वास्तविक विकास हुन दिने छैनन् । पुस्तौँ पुस्तासम्म घरमा थच्चिन विवश बुढाबूढी सामाजिक सञ्जालमा आफ्ना परिवार सदस्यका अगाडि नक्कली हाँसो हाँस्दै यसरी नै कुना बसेर रुन बाध्य भइरहनेछन् । अलि कमजोर मन हुनेको लास मरेको धेरै दिनपछि मात्र थाहापाई उसको घरबाट अरूले निकालेर लगी जलाउनुपर्ने अवस्था आउनेछ । कुकुर र मानिसको जिन्दगीमा फरक हुने छैन ।

मोहन प्रसाद सापकोटा

समाजको बनोट कुन सही र कुन गलत भन्ने कुरा अहिलेको युगमा अत्यन्त विवादास्पद बन्न पुगेको छ । मातापिता र सन्तानका बीचको सम्बन्ध होस् वा पतिपत्नीका बीचको सम्बन्ध प्रायः सबै सम्बन्ध एकपछि अर्को गरेर तीव्रगतिमा टुट्ने र फुट्ने क्रम जारी छ । हाम्रो समाज कुनै बेला मातृसत्तात्मक त कुनै बेला पितृसत्तात्मक समाज हुँदै आजको अवस्थामा आएको समाज हो । यो सामाजिक सभ्यतामा हरेक नाताका व्यक्तिका लागि निश्चित सीमा र कर्तव्य तोकिएका छन् । यो सनातन संरचनामा जब अर्थले वा कालले प्रभाव पार्न थाल्यो तब समाज भताभुंग हुन सुरु भयो ।

हामी मानसिक रूपमै शैक्षिक साम्राज्यवादको चपेटामा परेका छौँ । गर्भ बस्दैमा त्यो गर्भलाई आफ्नो लागि तथा आफ्नो देशका लागि नभई अरूका लागि तयार पार्न थाल्दछौँ । विदेशीले विगत दशकौँ वर्ष लगाएर हाम्रो देशमा गरेको मूल विकास यही हो । उपनिवेश बनाउन सेनाको भौतिक उपस्थिति आवश्यक छैन । जब हामीले जन्माएका सन्तान हाम्रा लागि र देशका लागिभन्दा पनि विदेश र विदेशीका लागि प्रिय हुन थाल्दछन् तब त्यसलाई शैक्षिक उपनिवेशवाद भनिन्छ ।

२०१९, २०२८ साल र यसपछिका सबै नीति शैक्षिक उपनिवेशवादका नीति थिए । अहिले त्यही नीतिको प्रतिफल हरेक घरपरिवारले पाइरहेछ र पाइरहनेछ । निश्चय नै प्राचीन सामाजिक वा पारिवारिक संरचनाको पद्धति दोषविहीन थिएन तर सुधारका नाममा शिक्षामार्फत जे हामीलाई इन्जेक्ट गरियो त्यो गलत थियो । कुनै पनि नाताप्रति एवं देशप्रति बफादार (लोयल) हुन नचाहने वा नसक्ने तर धनप्रति भने दाँतले टेकेर भए पनि लोयल हुने समाज हामीले नै बनाएका हौँ ।

मुखले जेसुकै भने पनि रहरले हाम्रो पुस्ता पारिवारिक कारण देखाउँदै विदेश जाँदैन । यो उसको बाध्यता हुने गर्दछ । तै पनि बिग्रिएको पारिवारिक वातावरण झिनो त्यान्द्रोले जोड्न सकिन्छ कि भनी मायाको धागो बोकेर ऊ यताउता उड्ने र गुड्ने गर्दछ । माया एकछिन सामाजिक सञ्जालमा च्याट गरेर सकिने वा सन्तुष्ट हुने विषय होइन ।

हरेक परिवारका पहिलो पुस्ता जो देशभित्र बाँकी छन् ती उकुसमुकुसको जिन्दगी बिताउन बाध्य छन् । जगलाई ती झुट बोलेर झुक्याउन खोज्दछन् तर मनलाई सक्दैनन् । तर सनातन परम्पराको तेजले गर्दा ती पीडा सहन सक्षम छन् ।

समाज बिग्रन सुरु भएको १८३४ सालदेखि हो । बाहिरी जगतसँग सम्पर्क हुन थालेपछि हाम्रा आवश्यकता एवं महत्वाकांक्षा बढ्दै गए तर हामीले निजी आवश्यकता पूरा गर्न पुख्र्याैली धनसम्पत्तिलाई मात्र आधार बनाउन थाल्यौँ । राज्यले निजी आवश्यकता पूरा गर्न जनताको धनलाई माध्यम बनाउन थाल्यो । आयका स्रोत विकेन्द्रीकरण गर्न सकेनौँ र जानेनौँ पनि । हामीले आफ्ना सन्तानलाई लाहुरे बनाउनमै ध्यान केन्द्रित गर्दै आयौँ । मुम्बई आदि सहरमा लगेर छोरीचेली बेच्नमै हामी केन्द्रित हुन थाल्यौँ ।

नयाँ शिक्षाले त पूरै यही काम गरिरहेछ । राजनीतिको मूल आय स्रोत नै मानिसको बेचबिखन रहेको छ । भाषा सभ्य बनाउँदैमा सत्यतथ्य लुक्दैन । यो देशले विगत लामो समयदेखि विदेशीका लागि सित्तैमा मानव–शक्ति तयार पारिरहेछ । लगानी नेपालीको हुन्छ तर योग्य भएपछि ऊ विदेशीका लागि मात्र योग्य हुने गर्दछ ।

बेलायती उपनिवेशकालीन भारतले विरासतमा पाएको शैक्षिक उपनिवेशको प्रत्यक्ष प्रभाव नेपालमा परेको छ । जुन देशले राम मन्दिर उद्घाटन गर्न ई.सं.अनुसारको साइत हेर्दछ त्यो देश सनातन धर्मको वकालत गर्दछ ।

जर्मन, फ्रान्स आदि देश शैक्षिक उपनिवेशबाट जोगिन पहिलो योजना बनाउँदछन्, त्यसैले ती बेग्लै किसिमको अस्तित्व लिएर बाँचिरहेका छन् । हामी हाम्रा रोजमर्राका कुरा किन्न कसले कति पैसा दिन्छ त्यसैको नीतिअनुसार चल्ने गर्दछौँ । अब अरूथोक बाँकी नै पो केछ र ? त्यसैले सभ्य मानव–तस्करी देशको प्रमुख आयस्रोत बनिरहेछ । हरेक परिवारदेखि देशका कार्यकारी प्रमुखसम्मले अप्रत्यक्षरूपमा मानव तस्करी नै गरिरहेका छन् ।
अब कुनै पनि क्षेत्रमा दक्ष मानिस पाउन नसक्ने अवस्था आयो रे ! शिक्षकको लागि विज्ञापन पनि चार–पाँचपटक गर्ने अवस्था भयो रे ! आदि आदि । पूरै देश मानव तस्करीमा लागेपछि देशभित्र जनशक्ति भए पो पाउनु । करोडौँ खर्च गरेर पढाएका सन्तान देशभित्र राख्न सक्दैनौँ भने हामी के आधारमा मानव–तस्करभन्दा भिन्न भयौँ त ?

हामीले दिएको शिक्षा, हामीले गरेको पालनपोषण, हामीले सिकाएको रहनसहन गतिलो भइदिएको भए बिरामी हुँदा पानी खुवाउन बाटामा हिँड्ने मानिसलाई गुहार्नुपर्ने अवस्था आउँदैनथ्यो, वरिपरि आफ्नै परिवार बसिरहेका हुन्थे । ‘म’ मभित्र सीमित भएपछि मेराले ‘हाम्रो’ भन्न जान्दा रहेनछन् ।
एक थरी भन्छन् देशमा रोजगारी नभएर मानिस विदेश गएका हुन् । देशको वातावरण अनुकूल नभएर मानिसहरू विदेश पलायन भएका हुन् । रोजगारी दिने र अनुकूल वातावरण बनाउनेचाहिँ कसले ? सस्तो र सिँत्तैमा म्यानपावर पाउने विदेशीले यो देशमा रोजगार र अनुकूल वातावरण बनाइदिन्छ ? ठेलागाडामा साग बेच्नेको सन्तान हुन् वा देशको कार्यकारी प्रमुखका सन्तान हुन् सबैको चाहना विदेश छ । गरिब होस् वा धनी सबैका सन्तान विदेशतिरै आकर्षित छन् ।

यी सबैको कारण आयको क्षेत्र समयअनुसार हुन नसक्नु, कामको मूल्यांकन नहुनु, दास मानसिकता र चाकडीले काम गरिरहनु, परिवारवाद हावी हुनु, गलत शिक्षा दिइनु, बिनामिहिनेत धनी हुने वातावरण फस्टाउनु, कानुनी राज नहुनु, पद्धति नबस्नु वा बस्न नदिइनु, गलत गर्ने व्यक्ति दण्डित नहुनु वा तिनलाई दिइने सजाय कम हुनु आदि हुन् ।

चाहेर पनि कसैले केही गर्न नसक्नुको मूल कारण यहाँ काम गर्ने तथाकथित विद्वान व्यक्ति पनि विदेशीका एजेन्ट हुनु, धनप्रति बफादार हुनु, आयातीत राजनीतिको बाहुल्यता हुनु, आयातीत संस्कृतिको स्वतन्त्र घुसपैठ हुनु, बेरोजगारीले गर्दा अनियन्त्रित सामाजिक सञ्जालका गलत पक्षलाई समाजले बढी स्वीकार्न थाल्नु, सबै पक्षमा अन्धभक्ति हुनु आदि हुन् ।

यो सामाजिक विखण्डनको पीडा बेलैमा नियन्त्रण गर्न नसकिए सधैँ चलिरहनेछ । अर्को पुस्ता अलि अलि कमाउन थालेपछि यसरी नै विदेशतिर आकर्षित भइरहनेछ र त्यो पुस्ताले पनि यही समस्या झेल्नुपर्नेछ । शिक्षाले सन्तोष लिन र दायित्वबोध गर्न सिकाएन भने देशभित्र कोही पनि बस्न रुचाउने छैन ।

गरिबको रगत चुसेर बस्न पल्केका सामन्तले गाउँमा बाटोघाटो, स्कुल आदि विकास तिनै गरिबलाई उचालेर हुन नदिए जस्तै धनी देशले यो देशको वास्तविक विकास हुन दिने छैनन् । पुस्तौँ पुस्तासम्म घरमा थच्चिन विवश बुढाबूढी सामाजिक सञ्जालमा आफ्ना परिवार सदस्यका अगाडि नक्कली हाँसो हाँस्दै यसरी नै कुना बसेर रुन बाध्य भइरहनेछन् । अलि कमजोर मन हुनेको लास मरेको धेरै दिनपछि मात्र थाहापाई उसको घरबाट अरूले निकालेर लगी जलाउनुपर्ने अवस्था आउनेछ । कुकुर र मानिसको जिन्दगीमा फरक हुने छैन ।

प्रतिक्रिया