जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले मधेस कृषि विश्वविद्यालयका पदाधिकारीहरूलाई वैज्ञानिक खेतीका लागि उन्नत बाली एवं प्रविधिको विकासमा जोड दिन निर्देशन दिएका छन् । मधेस कृषि विश्वविद्यालयको तेस्रो विश्वविद्यालय सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले कृषिको मुख्य आधार क्षेत्र मधेस प्रदेशमा स्थापित कृषि विद्यालयले यस प्रदेशका किसानहरूलाई जीविकोपार्जनमुखी कृषिबाट व्यावसायिक एवं वैज्ञानिक कृषिमा रूपान्तरण गर्नका लागि प्रविधिको विकासमा जोड दिन निर्देशन दिए ।
उनले भने, ‘हाम्रो मुलुक नै कृषिप्रदान हो, त्यसमा पनि मधेस प्रदेशको मूल अर्थव्यवस्था नै कृषिमा आधारित छ । तसर्थ हाम्रो गौरवको योजनाको रूपमा रहेको मधेस कृषि विश्वविद्यालयले माटो सुहाउँदो प्रविधिको विकास गर्नुको विकल्प छैन ।’ उनले कृषि क्षेत्रमा भइरहेको ह्रासलाई नियन्त्रण गर्दैै वैज्ञानिक कृषिका लागि विश्वविद्यालयले गर्ने अनुसन्धान लगायतको कार्यमा प्रदेश सरकार हरसम्भव तैयार रहेको उल्लेख गरे ।
कृषिको विकासविना मधेस प्रदेशको विकास सम्भव नरहेको यथार्थलाई स्वीकार्य गर्दै मधेस प्रदेश सरकारले कृषि विश्वविद्यालयको स्थापना गरेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले भने, ‘यसले दक्ष प्राविधिक उत्पादन गर्छ नै साथै उन्नत बालीको विकास र प्रविधिमा समेत उल्लेख भूमिका निर्वाह गर्नुपर्दछ ।’ जनकपुरधाममा शुक्रबार सम्पन्न तेस्रो विश्वविद्यालय सभाले विश्वविद्यालयले पछिल्ला दिनमा गरेका कार्यहरूको अनुमोदन गर्नुको साथै अगामी दिनमा विश्वविद्यालय सञ्चालन लगायतका कार्यमा आवश्यक पर्ने निति नियमहरू पारित गरेको छ ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका मुख्यमन्त्री यादवको अध्यक्षतामा भएको सभामा मुख्यन्यायधिवक्ता वीरेन्द्र ठाकुर, सभाका सदस्यहरू नीति तथा योजना आयोगका उपाध्यक्ष नाथुराम चौधरी, जागेश्वर यादव, डा. प्रकाशकुमार यादव, कृषि वैज्ञानिक उर्मिला साह, शिक्षा तथा संस्कृति मन्त्रालयका नि.सचिव महेन्द्र महतो, प्राडा कन्हैयाप्रसाद सिंह, उपकुलपति डा.वैद्यनाथ महतो, रजिस्ट्रार भगवान ठाकुर सहितका सदस्यहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया