होलीको प्राचीन स्पेसल पेय : ‘कुसमा’

आरके श्रीवास्तव

मधेस प्रदेशमा प्राचीन कालदेखि होलीको समयमा पेय पदार्थ पिउने चलन रहेको छ । होलीको दिन मात्र बनाइने र पिउने प्राचीन पेय पदार्थ हो – ‘कुसमा’ । होलीको दिन मुख्य गरी दिउँसो बाजा बजाएर परम्परागत गीतहरू गाउँदै नाच्दै अधिकांश घरमा नै बनाएर पिउने पदार्थ ‘कुसमा’ आजभोलि लोप हुन थालेको छ । शाकाहारीले हल्का पेय पदार्थ वा चिसो पिउने तथा अरूले विभिन्न ब्रान्डका मदिराको सेवन गर्ने चलन अत्यधिक बढेकोले ‘कुसमा’ को चलन लोप हुन थालेको छ । आजभोलि गाउँघरमा पनि बडो मुस्किलले ‘कुसमा’ बनाउने गरिएको उमेरले पाका भइसकेका नागरिकहरू बताउँछन् ।

आफ्नो आवश्यकता र रुचिअनुसार गुलियो वा झम्मिने गरी नशा दिन बनाउन सकिने ‘कुसमा’का प्रेमीहरू भने गाउँघरमा अझै पनि नभएका होइनन् । अन्य पेय पदार्थ वर्षभरि जुनसुकै दिन पनि पिउन पाइने तर ‘कुसमा’ वर्षमा एक दिन होलीको दिन मात्र बनाएर पिउन पाउने भएकोले अझै पनि गाउँघरमा कतै कतै ‘कुसमा’ बनाएर पिउने चलन रहेकै छ । ‘कुसमा’ बनाउन सबैभन्दा पहिले र बढी चाहिने दूध हो । सम्भव भएसम्म भैँसीको दूधलाई राम्रो मानिन्छ । भैँसीको दूधमा बनाइएको ‘कुसमा’ले नसा बढी दिने गरेको बुझाइ रहेको छ । उमालेर सेलाएको दूधबाट सबै तर झिकेपछि त्यसमा सख्खर हालिन्छ । सख्खरले गुलियो बनाउनुका साथै नशा दिएर उत्तेजना बढाउने काम गर्ने बताइन्छ । आजभोलि सख्खरको ठाउँमा चिनीको प्रयोग गरिन थालिएको छ तर चिनीभन्दा सख्खरको ‘कुसमा’ राम्रो मानिन्छ । सख्खरले खानेकुरा पचाउने विश्वास रहेको छ ।

त्यसपछि ल्वाङ र सुकुमेलको धुलो हालिन्छ । होलिका दहनमा पोलिएको गहुँको आठ–१० दाना पनि ‘कुसमा’मा हालिने अनिवार्य पदार्थ हो । स्वादअनुसार हालिने भए पनि एक लिटर दूधमा एक पाउ सख्खर तथा १०–१० ग्राम ल्वाङ र सुकुमेलको धुलो हालेर करिब ५० ग्राम जति गरम मसालाको धुलो पाउडर मिसाइन्छ । यति हालेर निकै बेर मिलाउनुपर्छ । यत्ति भएपछि ‘कुसमा’ तयार हुन्छ तर यसले हल्का मात्र मात लगाउँछ । मात लगाउनका लागि कतिपयले भाङको बिउको धुलो पनि मिसाउने चलन रहेको छ । दुई–चार दाना बिउको धुलो नै काफी हुन्छ एक लिटर दूधको ‘कुसमा’ को लागि । पहिलेदेखि नै नशालु पदार्थ सेवन गर्नेहरूले आफ्नो लागि छुट्टै बनाउने ‘कुसमा’मा एक–दुई दाना धतुरोको बिउ पनि हाल्छन् रे तर धतुरोचाहिँ निकै खतरनाक हुने चेतावनी कटहरिया नगरपालिका–८ का बिगन राय यादव दिन्छन् । सबै पदार्थ हाले पनि धतुरो नहाल्न र सम्भव भएसम्म भाङ पनि ‘कुसमा’मा नहाल्न यादव अनुरोध गर्दछन् ।

होलीजस्तो पवित्र पर्वलाई अत्यधिक नशालु पदार्थ सेवनको पर्वको रूपमा नमनाउन र सर्वाधिक प्राचीन पेय पदार्थ हो भन्दैमा त्यसलाई शरीर र स्वास्थ्यका लागि खराब नबनाउन यादव आग्रह गर्दछन् । पहिले धतुरो र भाङबिनै ‘कुसमा’ बनाइन्थ्यो तर बिस्तार नशालु पदार्थको सेवन गर्नेहरूले बढी नशालु बनाउने खराब तत्वहरू मिसाउन थालेको र प्राचीन पेय पदार्थको लागि विकृति नै भएको यादवको दाबी छ । प्राचीन संस्कृति होलीलाई विशिष्ट बनाउने ‘कुसमा’ जस्तो पवित्र पेयलाई दूषित नबनाई स्वच्छतासित बनाएर पिउने हो भने ‘कुसमा’ले दिने स्वाद र आनन्द नै अलौकिक हुने ग्रामीण क्षेत्रमा विश्वास रहेको छ ।

अहिलेका नवयुवाहरूमा ‘कुसमा’को बारेमा खासै जानकारी रहेको छैन । सहर बजार क्षेत्रका मानिसहरूले त ‘कुसमा’लाई पुरै बिर्सिइसकेका छन् । ‘कुसमा’ को सम्झना गाउँघरमा केही सीमित मानिसले मात्र गर्ने गरेका छन् । वर्षभरिमा कहिल्यै कुनै नशालु पदार्थ सेवन नगर्नेले र कहिल्यै कुनै अन्य पेय पदार्थ नपिउने मानिसहरू भने होलीको दिन स्वच्छ ‘कुसमा’को खोजी गर्ने गर्दछन् ।

अन्य कुनै दिन तथा कहिल्यै नबनाइने तर होलीको दिन मात्र बनाइने भएकोले ‘कुसमा’लाई होलीको प्राचीन स्पेसल पेय पदार्थ भनिएको हो ।

गाउँघरबाट पनि हराउँदै गएको र प्राचीन पेय पदार्थको संस्कृति नै खत्तम हुँदै गएको अवस्थामा यसलाई लोप हुनबाट बचाउनुपर्छ भन्ने आवाज उठ्न थालेको छ । यसलाई नशालु पदार्थको रूपमा नबनाई स्वच्छ रूपमा यसको संस्कृतिलाई जोगाएर राख्नुपर्ने विचार ज्येष्ठ नागरिकहरूको रहेको छ । संस्कृतिप्रति जागरुक तथा प्राचीन संस्कृतिको मौलिकतालाई जोेगाएर राख्न चाहनेहरूले ‘कुसमा’लाई एकदिनको लागि भए पनि सम्मान दिइनुपर्ने र होलीको दिनको पेय पदार्थको रूपमा प्रचारप्रसार गर्नुपर्ने धारणा राख्छन् ।

‘कुसमा’को बारेमा खासै कतै कसैले नबोलेको तथा नलेखेको पाइने हुँदा होलीको स्पेसल पदार्थ नै बिरानो बन्दै गएको छ । होलीको विशिष्ट पेय पदार्थ ‘कुसमा’ लाई विशिष्ट पहिचान दिलाउन स्थानीय सरकारहरूले विशिष्ट भूमिका खेल्नुपर्ने बुद्धिजीवीहरूको राय रहेको छ । कटहरियाका एक उपप्राध्यापक भन्छन् – यदि ‘कुसमा’मा कुनै विकृति छ भने त्यसलाई न्यून गरेर वा हटाएर भए पनि यसलाई स्थानीय सरकारहरूले बचाउनु जरुरी छ । ‘कुसमा’को प्रचारप्रसार हुनसके मदिरामा बाहिरिने पैसाको केही भाग रोक्न सकिने र स्थानीय सामग्रीको खपतमा वृद्धि हुने देखिएको छ । स्थानीय सरकारले ‘कुसमा’लाई प्रवद्र्धन गर्दा कृषकलाई बढी फाइदा हुने विश्वास रहेको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया