मधेसमा साना हतियारको बिगबिगी

मधेसब्युरो । मधेस प्रदेशका जिल्लाहरूमा साना हतियारको बिगबिगी हुने गरेको पाइएको छ । केही महिनाको अवधिमा विभिन्न ठाउँबाट प्रहरीले साना हतियार र गोलीसमेत बरामद गरेबाट यहाँ साना हतियारको बिगबिगी रहेको पुष्टि भएको हो ।

सर्लाही प्रहरीले चैत २ गते दुई भारतीय नागरिकलाई हतियारसहित नियन्त्रणमा लिएको छ । भारतको बिहार प्रान्तको सीतामढी जिल्ला सैहारा ग्राम पञ्चायतका २८ वर्षीय सन्नीकुमार सिंह र मोतिहारी जिल्ला पिपराकोठीका २४ वर्षीय जितेन्द्रकुमार राउतलाई हतियार र गोलीसहित प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूबाट इटाली पेस्तोल, म्याग्जिन र ६ राउन्ड गोलीका साथै एक राउन्ड खोका पनि प्रहरीले बरामद गरेको छ ।

गत फागुन २६ गते सर्लाही सदरमुकाम मलंगवा–१ भेडरहियाका २१ वर्षीय पोसनकुमार राम र बागमती–८ का २४ वर्षीय रन्जित रामलाई चार राउन्ड गोलीसहित प्रहरीले पक्राउ गरेको थियो । गत फागुनकै १८ गते नेपाल–भारत सीमाक्षेत्रको ब्रह्मपुरीस्थित इनरवा नाकाबाट मेड इन युएस लेखिएको अटोमेटिक पेस्तोल, मैग्जिन र पाँच राउन्ड गोली प्रहरीले बरामद गरेको थियो । मोटरसाइकल चेकजाँच गर्न थालेपछि मोटरसाइकलमा सवार उनीहरू मोटरसाइकल छाडेर भारततर्फ भागेका कारण प्रहरीले पक्राउ गर्न सकेन ।

रौतहट प्रहरीले चैत २ गते परोहा–९ मा नितेश साहले सञ्चालन गरेको शिव मनि ट्रान्स्फरमा लुटन आएका बिहारको मोतिहारी जिल्लाका मुनिस भन्ने मुनिफकुमार यादव, चिरैयाका राजकुमार पासवान र चुनुकुमार सिंह भन्ने चन्द्रभान सिंहलाई कटुवा पेस्तोल एक थान, अर्धस्वचालित पेस्तोल एक थान, गोली तथा म्याग्जिनसहित प्रहरीले पक्राउ गरेको छ ।

यसै गरी गत माघ १९ मा चन्द्रपुर नगरपालिका–६ बाट १२ बोरको एक नाल बन्दुकसहित स्थानीय प्रेमबहादुर ठोक्कर र विनोद वाइवालाई प्रहरीले पक्राउ गरेको थियो । गत मंसिर ८ मा यमुनामाई ४ मल्हनियाबाट एअर गन एक थान, पेस्तोल ३ थानका साथै १३ राउन्ड गोली र पेस्तोलमा लाग्ने ६ थान म्याग्जिन पनि प्रहरीले बरामद गरेको थियो ।

खुल्ला सिमाना भएकोले भारतबाट साना हतियारसहित अपराधीहरू सर्लाही र रौतहटमा प्रवेश गर्ने गरेको पाइएको छ । सर्लाही प्रहरीले यस प्रकारको सूचना संकलन गरी अपराधीलाई नियन्त्रणमा लिन विशेष टोली नै गठन गरी परिचालन गरेको छ । सर्लाही र रौतहटमा प्रहरीले अवैध हतियार नियन्त्रण गर्न निकै सक्रियतापूर्वक लागेकाले भए पनि अपराधका घटना रोकिएको छैन ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया