एकै परिवारका ७ जना सरकारी सेवामा

कालिकोट । खाँडाचक्र नगरपालिका वडा नं ६ सेरामा एउटै घरका ७ जना सरकारी सेवामा छन् । दुर्गम जिल्ला कालिकोटमा भिरपाखा तथा खेती किसानी गरि बालबालिका हुर्काइ, पढाइ, एकै घरका ७ जना जागिरे भएको देख्न पाए लक्ष्मीचन्द्र उपाध्यायले ।

गाउँमै खेती गरेर बालबालिका हुर्काउने, पढाउने समयममा जनयुद्ध सुरु भएपछि लक्ष्मीचन्द्र भारत गएका थिए । राज्यपक्षको सेना र माओवादीले दुख दिएपछि १२ वर्ष भारतमा विताए ।

भारतबाट आईसकेपछी लक्ष्मीचन्द्रलाई आफ्ना बालबालिका अरु भन्दा केही फरक भएको र सरकारी जागिरे भएको हेर्ने ठुलो रहर जाग्यो । लक्ष्मीचन्द्र उपाध्यायको रहर मात्र भएर पनि भएन, छोराछोरीको मिहिनेत पनि उत्तिकै हुनु आवश्यक थियो ।

छोराछोरीको लागी दिनरातको मिहिनेतले लक्ष्मीचन्द्रको सपना पूरा भएको छ । एउटै घरमा ७ जना सरकारी जागिरे बने । १७ महिनामा बुवा, ८ वर्षको उमेरमा आमा गुमाएका लक्ष्मीचन्द्र उपाध्याय र उनकी धर्मपत्नी शिवकन्या उपाध्यायका दुखका दिन सकिएका छन् । उनीहरुको मुहारमा खुसी छाएको छ ।

जनयुद्धकालमा छोराछोरीकै लागि दुख कष्ट भोगेका लक्ष्मीचन्द्र र शिवकन्याको त्यो बेलाको पीडा कुनै फिल्मी कहानी भन्दा कम छैन । एउटै घरमा ७ जना सरकारी जागिरे हुनु पनि सामान्य कुरा नभएको होइन् ।

लक्ष्मीप्रसादका जेठो छोरा दुर्गप्रसाद उपाध्याय प्रावि शिक्षक छन्, माईलो छोराहरु खड्कप्रसाद उपाध्याय र पूर्णप्रसाद उपाध्याय – शाखा अधिकृत, छोरी रमिता उपाध्याय प्रावि शिक्षक, बुहारीहरु मालती पौडेल र रिता वाग्ले नायब सुब्बा र कान्छो छोरा रोसन उपाध्याय पनि नायब सुब्बा छन् ।

जेठो छोरा दुर्गप्रसाद उपाध्यायले पर्सा जिल्लाबाट प्रावि शिक्षकमा सिफारिस भएसँगै लक्ष्मीचन्द्र उपाध्यायले सामाजिक संजालमा पोस्ट गर्दै खसी व्यक्त गरेका छन् ।

लक्ष्मीचन्द्रले भनेका छन्, ‘म १७ महिनाको हुँदा बाबा गुमाए अनि ८ बर्षको हुँदा आमा, त्यसकारण म पढ्न पाइन, अनि मैले पढ्न नपाए पनि मेरो छोरा छोरीलाई राम्रो सँग पढाउने र सरकारी जागिरे बनाउने ठुलो सपना थियो । आज त्यो सपना पूरा भएको छ । धेरै धेरै खुसी छु सपना पूरा गर्न म एक्लैले सम्भावना थिएन । मेरो सपना पूरा गर्न हरपल साथ दिने मेरो जीवन साथी शिवकन्या उपाध्यायलाई धेरै धेरै विशेष धन्यवाद । मैले देखेको सपना लाई छोरा छोरी ले बुझेर गलत बाटो नलागी मेरो सपना पुरा गर्ने तर्फ लागेको मा छोरा छोरी लाई नि धन्यवाद । आज विशेष गरेर जेठो छोरा दुर्ग प्रसाद उपाध्याय लाई बधाई छ ।’

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया