सर्लाहीमा बस र मिनिट्रक ठोक्किँदा ट्रक चालकको मृत्यु

लालबन्दी । सर्लाहीको लालबन्दी– १ नवलपुरमा यात्रुवाहक बस र मिनिट्रक एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका ट्रक चालकको मृत्यु भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ३ घर भएका ४३ वर्षीय तोङश्री बहादुर गोलेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका गोलेलाई उपचारको लागि राति नै वीरगन्ज लगिएको थियो । राति १० बजेतिर वीरगञ्जस्थित नारायण अस्पतालमा उनको मृत्यु भएको डीएसपी दिपेन्द्र पञ्जियारले जानकारी दिए । दुर्घटनामा बसमा सवार १० यात्रु घाइते भएका थिए ।

घाइतेमध्ये आठ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन् । सिन्धुलीका २५ वर्षीय जीवनप्रसाद गौतम र महोत्तरी बर्दिबासकी अम्बिका कार्कीको भने नवलपुरमा रहेको वीएण्डआर अस्पतालमा उपचार भइरहेको डीएसपी पञ्जियारले बताए ।

बुधबार साँझ पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपुर बजारमा जनकपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ४ ख ३२४ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख ४३३ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् । दुर्घटनापछि बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया