बारा । बारामा एक महिना नबित्दै दुई वटा बाघको मृत्यु भएको छ । मंगलबार बिहान डिभिजन वन कार्यालयको कोल्हवी सब डिभिजनअन्तर्गतको क्षेत्रमा पोथी बाघ मृत फेला परेको थियो ।
मंगलबार बिहान स्थानीयले मरेको बाघ देखेपछि वन कार्यालयलाई खबर गरेका थिए । चार–पाँच दिनअघि नै मरेको जस्तो देखिने उक्त पोथी बाघ करिब दुई वर्षको रहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।
बाघको टाउकोमा ठूलो प्वाल भएको कारण बाघलाई कसैले गोली हानेर मारेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यता डिभिजन वन कार्यालय बाराले बाघको मृत्यु के कसरी भएको हो भन्ने बारे पोस्टमार्टम रिपोर्ट आएपछि मात्र जानकारी हुने बताएको छ ।
फागुनमा बाराको निजगढ–४ स्थित कछडिया सामुदायिक वनमा एक वयस्क पोथी बाघ मृत भेटिएको थियो । वयस्क पोथी बाघको शरीरमा कुनै घाउ चोट नभएकोले स्थानीयले मासुमा विष हालेर छाडेको हुनसक्ने डिभिजन वन कार्यालय बाराले जनाएको थियो । बारा र पर्सामा १ महिनामा ७ वटा बाघ मरेको छ । पर्सा राष्ट्रिय निकुञ्जले जनावरको राम्रोसँग हेरचाह नगरेको कारण यहाँ बाघ मर्नेको संख्या बढेको छ ।
बारा
प्रतिक्रिया