हत्यालाइ दुर्घटनामा परिवर्तन गर्न खोज्दै प्रहरी

गौर । जिल्लाको गरुडा नगरपालिका–५ मुहम्मदपुर निवासी कुवर भन्ने सटाही पण्डितले छोरालाई कर्तव्य गरी हत्या गरिएको घटनालाई प्रहरीले दुर्घटनातर्फ परिणत गर्न खोजेको बताएका छन् । निष्पक्ष रूपमा छानविन गर्नुको साटो प्रहरीले राजनीतिक दबाबमा हत्या भएको घटनालाई सवारी दुर्घटनाको तर्फ मोड्न खोजेको उनले आरोप लगाएका छन् ।

मृतक परिवारले मंगलबार गरुडामा पत्रकार सम्मलेन गरी गएको फागुन १७ गते गाउँबाट देवाही गोनाही जयन्ती जानका लागि घरमा लिन आएका स्थानीय राम बालक पण्डित, राम नथुनी साह भन्ने राजकिशोर साहले बलजफ्ती मोटरसाइकलमा लगी रक्सी खुवाएर माधव नारायण नगरपालिका–१ र २ को बीच चौरमा छोरा रामजीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोप लगाएका छन् ।

मुख, नाक, घाँटी र निधारमा गम्भीर चोट लागेको कारण अचेत भएको छोरालाई तत्काल एम्बुलेन्सबाट ग्रान्डी हस्पिटल लगिएकोमा थप उपचारका लागि न्युरो अस्पताल वीरगञ्ज लागेकोमा उपचारको क्रममा फागुन १९ गते बिहान ६ बजे चिकित्सकले मृत घोषणा गरेको सुनाए ।

रामबालक पण्डितले प्र २–०२–००१ प ४०७७ सँगै बीचमा बसेर गएको छोरालाई कसरी चोटपटक लाग्यो, दुर्घटना हुँदा तिनै जनालाई चोटपटक लाग्नुपर्नेमा दुई जनालाई केही नभएको मेरो छोराको अन्य भागमा चोट नलागी घाँटी, नाक, मुख निधारमा कसरी गहिरो चोट लागेको भनी प्रश्न गरेका छन् । मृतकका बुबा पण्डितले छोरा बेहोस हुँदा परालमा सुताइएको अवस्थामा एम्बुलेन्स गएकोमा चालकसँग दुई जना ग्रान्डी हस्पिटल आएर फरार भएको बताए ।

पहिलादेखि हत्या गर्ने धम्की दिँदै आएका राम बालक पण्डितले योजनाअनुसार नै छोराको हत्या गरेकोले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कारबाही हुनुपर्ने पीडित परिवारको माग रहेको छ । मृतकको श्रीमती सविता देवीले जीवनको सहारा नै समाप्त भएकोले दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गर्दै राजनीतिक रूपमा घटनालाई दुर्घटनातर्फ लान खोज्ने इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख माथि छानविन गर्नुपर्ने मागसमेत गरिन् । मुद्दा मिलापत्र गर्न पैसाको प्रलोभन दिएकोमा लिन नमान्दा स्थानीय केही नेताले प्रहरीलाई आर्थिक रूपमा प्रलोभनमा पारेर हत्याको घटनालाई सवारी दुर्घटनाको संज्ञा दिएर मुद्दा कमजोर पर्ने षड्यन्त्र गरेको उनले बताइन् ।

मृतकका श्रीमतीले फरार रहेका गढीमाई नगरपालिका–६ धर्मपुर निवासी लालबाबु पण्डितलाई पक्राउ गर्न मागसमेत गरेको छ । उपचारमा गएका मृतकका मामाको छोरा गौरीशंकर पण्डितले प्रहरीले बलपूर्वक धम्की दिएर मोटरसाइकल दुर्घटनामा पारी घाइते भएको भनी मुचुल्कामा हस्ताक्षर गराएको दावी गरेका छन् । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले घटना सवारी दुर्घटना नै रहेको बताउँदै तीन जनालाई अनुसन्धानको क्रममा हिरासतमा राखेर थप अनुसन्धानको कार्य भइरहेको जानकारी दिएका छन् । अनुसन्धानको क्रममा हिरासतमा गरुडा नपा–५ निवासी रामबालक पण्डित, नथुनी साह भन्ने राजकिशोर साह र देवाही गोनाही–९ धरहरि निवासी परमात्मा पण्डित रहेका छन् ।

प्रतिक्रिया