भगवान खुसी बनाउन अनुहारमा जाँडको छोक्रा र मोसो !

काठमाडौं । जम्मा भएका सबैको अनुहारमा जाँड र मोसो दलिएको छ । यो मोसो कुनै कारबाही वा दण्ड पाएर दलिएको नभएर उत्सवमा दलिएको हो ।
म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा मंगलबार स्थानीयले सयौँ वर्ष पुरानो संस्कृतिलाई निरन्तरता दिएर मौलिक रूपमा भूमे पूजा गरेका छन् ।
भूमे देवतालाई खुसी बनाउन यहाँ भूमे पूजामा आपसमा मोसो, छ्याङका छोक्रा दलेर नाचगान गर्ने प्रचलन छ । चिमखोलाको सेवाङमा रहेको भूमेथानमा स्थानीयबासी, देश विदेशबाट आएका चिमखोलाबासीसँगै छिमेकी गाउँबाट पुगेका मगर समुदायले भूमे पूजा गरेका हुन् ।

चैत महिनाको उजेली मंगलबारका दिन जिल्लाको विभिन्न ठाउँका मगर समुदायले भूमे पूजा गरे पनि चिमखोलाको भूमे पूजाको संस्कार र संस्कृति अन्य ठाउँको भन्दा पृथक रहेको स्थानीय गम पुनले बताए । उनका अनुसार यहाँ भूमे थानमा पूजा गरेपछि मोसो दलेर बाजागाजासँगै नाचगान गर्दै खुसियाली मनाउने चलन छ ।

‘खेतीकिसानी गर्ने पुख्र्यौली पेसा बोकेका मगर समुदायले भूमि देवतालाई खुसी बनाउन भूमे पूजा गर्दछन्’, पुनले भने, ‘भूमेलाई साँडको बलि दिएर पूजा गरेपछि छेमाहरू र पुजारीले राखेको जाँड चढाउने गरिन्छ । त्यसपछि जाँडको छ्याङ खाने र आपसमा मोसो लगाएर नाचगानसहित रमाइलो गर्ने प्रचलन छ ।’
वनजंगल छेउछाउ बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपद् नहोस्, खेतीबाली राम्रो होस् भन्ने कामनाले भूमे पूजा गर्ने प्रचलन रहेको उनको भनाइ छ । उनका अनुसार भूमे थानमा पुन जातिलाई पुजारीको रूपमा राख्ने गरिन्छ ।

पुजारीले पूजाको ३ दिनअघि नै सागरे छहरा थानमा पूजा गर्ने र सोही दिन बनाउने छ्याङलाई भूमे पूजामा मुख्य प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन रहेको स्थानीय चिनिमायाँ पुनले बताइन् ।

गाउँभेलाबाट भूमे पूजाका लागि १ महिनाअघि नै छ्याङ बनाउने जाँड राख्न छेमा (महिला) छनोट गरेपछि उनीहरूले विभिन्न टोलमा छुट्टाछुट्टै समूह बनाएर प्रत्येक घरबाट कोदो, चामल र नगद संकलन गरी कोदोको छ्याङ बनाउन जाँड राख्ने चलन रहेको उनको भनाइ छ ।

छेमाहरूले १ महिनाअघि राखेको जाँडलाई भूमेथानमा विधिपूर्वक चढाएर खाने, सोही छ्याङ र खाना पकाउँदा अँगेनामा आउने अंगार एकअर्कालाई दलेर नाचगान गर्ने गरिएको चिनीमायाले बताइन् । ‘छेमाहरूलाई हरेक टोलका घरधुरीबाट कोदो, चामल र नगदसमेत दिने गरिन्छ’, उनीले भनिन्, ‘हरेक टोलका छेमाहरूको टोलीले भूमे थान परिसरमा छुट्टाछुट्टै भान्सा चलाएर जाँडको छ्याङ छानेर खुवाउने गर्दछन् । बाजागाजा बजाएर नाचगान गरेर भूमे देवताको नाममा खुसियाली मनाउने गरिन्छ ।’

भूमेथानमा मौलिक संस्कृतिअनुसार पूजा गरेपछि लोपोन्मुख अवस्थामा रहेको पुख्र्यौली सेदो गीत गाउँदै थान परिसरमा भान्सा चलाएका सबै चुला फन्को मारेर चुला उठाउने गरिन्छ भने भूमेथानबाट गाउँ फर्कने क्रममा भैच मायाले (साइलो भाका) मा दोहोरी गाउँदै नाचगान गरिन्छ । यसरी गाउँ फर्कँदा स्थानीय मण्डली युवा क्लबले ज्येष्ठ नागरिक, समाजसेवी, जनप्रतिनिधि र अगुवालाई काँधमा बोकेर सम्मानसहित गाउँमा पु¥याउने गर्दछन् ।

पूजाको भोलिपल्ट गाउँमा सांस्कृतिक उत्सव गरिन्छ । यस दिनमा छेमाहरूले टोपा नाच प्रदर्शन गर्दछन् भने सरमाजाले जुरेचल्ला, दुलहादुलहीको कलस जुँधाउने नाचसँगै थाली नाचलगायत मौलिक कला र संस्कृति देखाउने चलन रहेको चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजाले बताए ।

वडाध्यक्ष पाइजाका अनुसार भूमे पूजाको दिनमा चिमखोलाको मण्डली र ताप्केभेरा थानमासमेत विशेष पूजा गरिएको छ । भाकल र मनोकांक्षा पूरा हुने जनविश्वासले मण्डली थानमा विभिन्न ठाउँबाट भाकल गरेर पूजा गर्न आउने भक्तजन बढ्दै गएका उनले जानकारी दिए । –रासस

प्रतिक्रिया