करोडौँ लगानीमा बनेको जडीबुटी प्रशोधन केन्द्र प्रयोगविहीन

रुकुमपश्चिम । जाजरकोटमा करोडौँ लगानी गरेर बनाइएको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रको भवन अलपत्र अवस्थामा रहेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले औषधिजन्य जडीबुटीको उत्पादन, संकलन तथा प्रशोधन गर्नुको साथै बजारीकरणका लागि २०७८ जेठमा भवनको निर्माण कार्य सुरु गरेको थियो । जाजरकोटको भेरी नगरपालिका–१ कालिगाउँको धल्दामा निर्माण भएको लामो समयदेखि प्रशोधन केन्द्र प्रयोगविहीन भएको हो ।

भवन बनेको लामो समयदेखि पनि उक्त प्रशोधन केन्द्र प्रयोगमा आउन सकेको छैन । सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको भवन प्रयोगविहीन हुँदा गाउँघरमै उत्पादित जडीबुटी बिक्री गर्नबाट स्थानीयसमेत वञ्चित बनेका छन् । तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवन दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । भेरीकरिडोरको छेउमै रहेको उक्त केन्द्र जाजरकोट, डोल्पा र रुकुमपश्चिममा उत्पादित जडीबुटी जिल्लाभित्र नै प्रशोधन भएर बाहिर पठाउने उद्देश्यले निर्माण भएको भवन प्रयोगमै आउन सकेको छैन ।

राज्यले करोडौँ लगानी गरेर बनाएको प्रशोधन केन्द्र प्रयोगमा ल्याउन सरकारको ध्यान नजाँदा यहाँका किसानले आफूले उत्पादन, संकलन गरेको जडीबुटी नेपालगन्ज गएर सस्तो मूल्यमै बेच्न बाध्य छन् । भवन निर्माण बनेको लामो समयदेखि सञ्चालनमा नआउँदा अलपत्र अवस्थामै सीमित हुन्छ कि भन्ने आशंका बढेको छ । करोडौँ लगानीमा बनेका उद्योगहरू सञ्चालनमा आउन नसक्दा नागरिकहरूमा निराशा छाएको छ ।

सार्वजनिक जंगल मासेर स्थापना भएको सो केन्द्र तत्कालीन वन मन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेका थिए । बस्नेत वन तथा वातावरण मन्त्री भएकै बेला जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्ने नीतिगत निर्णय भएको थियो । सोहीअनुसार ३ करोड २९ लाखको लागतमा ज्ञान ज्योती बिल्डर्स प्रालि कोटेश्वरले भवन निर्माणको जिम्मा लिएको थियो । दुई वर्षसम्म केन्द्रको सञ्चालन नहुँदा शिलान्यासका क्रममा मन्त्री बस्नेतले भनेका कुरा झुटो सावित भएका छन् । बस्नेतले केन्द्रले समग्र कर्णाली प्रदेशकै आर्थिक समृद्धीमा टेवा पु¥याउने र जिराको भाउमा बिक्री हुँदै आएका जडीबुटीलाई कर्णाली प्रदेशमै प्रशोधन गरेर हिराको भाउमा बिक्री गर्न प्रशोधन केन्द्र स्थापना गर्न लागिएको बताएका बस्नेत भाषणमै सीमित भए । न त केन्द्र सञ्चालनमा आयो न जडीबुटी प्रशोधन नै भयो ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका सूचना अधिकारी रेवतिराज अधिकारीका अनुसार प्रशोधन केन्द्रमा अहिले टिमुर मौजात रहेको र केही उपकरण जडान गर्न बाँकीरहेको उक्त उपकरण जडानपछि सञ्चालनमा आउने बताए । वार्षिक १० करोडको कारोबार गर्ने लक्ष्य रहेको उक्त केन्द्रले रुकुम, जाजरकोट र डोल्पालाई लक्षित गरी यहाँ पाइने औषधिजन्य जडीबुटीको उत्पादन गर्नुको साथै प्रशोधन गरेर बजारीकरण गर्ने महाप्रबन्धक संगीता यादवले जानकारी दिइन् ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया