जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यसमितिको बैठक महोत्तरीको बर्दिवासमा सुरु भएको छ । पार्टी अध्यक्ष महन्थ ठाकुर, मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनल, वरिष्ठ नेता सरत सिंह भण्डारी सहितको उपस्थितिमा सुरु भएको बैठकमा विभिन्न एजेन्डाहरूमा छलफल हुने बताइएको छ ।
राजनीतिक कार्यदिशा, संगठनात्मक सुदृढीकरण, पार्टीको विधान, भ्रातृ तथा शुभेच्छुक संगठनहरूको पुनर्गठन तथा बिस्तार र पार्टीको आर्थिक गतिविधिसहित विविध विषयमा विमर्श हुने पार्टी मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बताए ।
पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छोडेपछि उत्पन्न परिस्थिति, त्यसले संगठनमा पारेको प्रभाव र त्यसको संरक्षणका लागि के कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ । बैठक दुई दिनसम्म चल्ने लोसपाले जनाएको छ ।
स्रोतका अनुसार पार्टी केन्द्रीय सत्ताबाट बाहिरए पनि मधेस प्रदेश सरकारमा यथावत रहेको र मधेसमा पनि मन्त्रीमण्डल पुनर्गठन प्रक्रिया सुरु भइसकेकाले कसरी अगाडि बढ्ने भन्ने बारेमा पनि छलफल हुँदै छ ।
प्रतिक्रिया