‘बस एक्कासि बजारियो, उठेर चिच्याउँदै काखको छोरी खोज्न थालेँ’

कास्की । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ की २८ वर्षीया सरिता ढकाल खड्का पोखराको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेकी छन् ।

रुकुमबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सोमबार साँझ बागलुङको निसीखोला–६ मा दुर्घटना भएको थियो । सरिताको ढाड र टाउकामा चोट लागेको छ ।

सरिता तीन महिनाको छोरी ज्ञानु, ससुरा ६२ वर्षीय हर्कबहादुर केसी र सासू ५५ वर्षीया लिलासहित काठमाडौं जाँदै थिइन् । घरबाट खाना खाएर सोमबार बिहान ९ः३० बजेतिर चारै जना बसमा चढेका थिए ।

मङ्सिरमा शिक्षक पेसाबाट सेवानिवृत्त सरिताका ससुरा हर्कबहादुरको काठमाडौंमा पेन्सन पट्टाको काम मिलाउनुपर्ने थियो। सासूले भनेपछि सरिता पनि छोरी लिएर जान तयार भइन् । सरितालाई पेटको समस्या भएकाले यही मेसोमा राजधानीमा राम्रो उपचार गर्ने योजना थियो ।

बस मध्यपहाडी राजमार्गमा आफ्नै गतिमा हिँडिरहेको थियो । साँझ पर्दै थियो। रुकुम र बाग्लुङको सीमा पातीहाल्नेमा खाजा खान बस रोक्ने यात्रुहरुको अनुमान विपरीत बस नरोकिईकन अघि बढ्यो ।

यात्रुहरु आफ्नै तालमा कोही निदाइरहेका थिए भने कोही मोबाइल हेरिरहेका थिए । सरिता पनि छोरीलाई काखमा सुताएर निदाइरहेकी थिइन्। निसीखोलाको जाउलेपानीमा आइपुगेपछि बसका केही यात्रु गाडी गयो, गयो भनेर एक्कासि चिच्याउन थाले ।

सरिता पनि झल्याँस्स भइन् र काखको छोरीलाई च्याप्प समाइन् । बस एक बल्डङ खाएको सरितालाई याद छ । उनी त्यहीँ अड्किएकी थिइन् ।

मणिपाल अस्पतालको आकस्मिक कक्षबाट खड्काले भनिन्, ‘एक्कासि बस गयो गयो भनेर सबै चिच्याए, मलाई बोल्न आएन, छोरीलाई च्याप्प समाएँ, बस एक्कासि बजारियो, त्यही बेला म बीचमा अड्किएको रहेछु, होसमा आउँदा छोरी काखमा थिइन, बस तल थियो, उठेर छोरी–छोरी भनेर चिच्याएँ’, उनले भनिन् ।

काखमा छोरी नदेखेपछि सरिता चिच्याइन् । भान्जाले माथि छन् भनेपछि सरिता सकी नसकी उठेर छोरी भएको ठाउँमा पुगिन्। छोरी रोइरहेकी थिइन् । उनी भाञ्जाको सहयोगले माथि सडकमा निस्किइन् ।

बुर्तिबाङमा सामान्य उपचारपछि बाग्लुङ जिल्ला अस्पताल पठाएकामा अहिले सरिता, छोरी, सासूरससुरासहित पाँच जनाको मणिपालमा उपचार भइरहेको छ । दुर्घटना कसरी भयो भन्ने उनलाई केही जानकारी छैन । बस एक्कासि सडकबाट तल खसेको मात्र उनलाई थाहा छ । पछि घाइतेहरूले बस तीव्र गतिमा भएको बताएको सरिताले बताइन् ।

अहिले सरितालाई काठमाडौं जान नहिँडेको भए हुने रहेछ भन्ने लागिरहेको छ । ‘किन काठमाडौं जान लागेँ हुँला जस्तो भइरहेको छ’, उनले भनिन्, ‘ठूलो भाग्यले बाँचियो, जिन्दगीमा यस्तो पनि भोग्नुपर्ने रहेछ ।’ दुर्घटनामा परेका सरिता र छोरीको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।

उनका ससुरा हर्कबहादुर, सासू लिला र सिन्धुपाल्चोकका देवेन्द्र रिजालको अवस्था गम्भीर रहेको अस्पतालका चिकित्सक डा नवराज बस्ताकोटीले जानकारी दिए । उनका अनुसार मणिपालमा पाँच जनाको उपचार भइरहेकामा गम्भीर घाइतेको मेरुदण्ड र कम्मरको हड्डी भाँचिएको छ ।

बाग्लुङको निसीखोला बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने घटनामा २८ जना घाइते छन् । घाइतेहरूको पोखरासहित बागलुङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।– रासस

प्रतिक्रिया