बाघको आक्रमणबाट एक महिलाको मृत्यु

पर्सा । जिल्लाको ठोरी गाउँपालिकामा बाघले आक्रमण गर्दा एक महिलाको मृत्युु भएको छ । बाघको अक्रमणबाट ठोरी गाउँपालिका–४ मालीबस्तीकी ४० वर्षीया कलावती सुवेदीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार, मालबस्ती गाउँ नजिकैको जंगल छेउमा घाँस काट्न गएका बेला सोमबार साँझ ५ बजेतिर बाघले आक्रमण गर्दा मृत्युु भएको हो । महिलालाई आक्रमण गर्ने बाघ पुनः जंगलतिर भागेको स्थानीयले बताएका छन् ।

मृतक महिलाको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक राईले जानकारी दिए ।

एक महिनाभित्रै पर्सामा बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । यसअघि पटेर्वा सुगौली गाउँपालिकामा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको थियो ।

पर्साको ठोरी, पटेर्वा सुगौली र सखुवा प्रसौनी गाउँपालिकाका विभिन्न गाउँमा विगत एक महिनादेखि बाघले आतंक मच्चाउँदै आएको छ । आतंक मच्चाउने दुई बाघमध्ये भाले पाटे बाघलाई गत बिहीबार मात्रै तीन वटा हात्तीको सहयोगमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त प्राविधिक टोलीले सखुवा प्रसौनी गाउँपालिकास्थित उखुबारीबाट डाट हानेर नियन्त्रणमा लिएको थियो । पोथी बाघ भने अझै नियन्त्रणमा आएको छैन ।

प्रतिक्रिया