उमेर पुगी बिहे गर्नेलाई ५० हजार दिँदै बर्दिबास

महोत्तरी । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन् । सोमबार बर्दिबास–१४ स्थित नमुना मुसहर बस्तीमा १ सय ८ जनाको लघुजीवन बिमा गराएपछि बर्दिबास नगरपालिका प्रमुख प्रह्लादकुमार क्षेत्रीले सो प्रोत्साहन रकम घोषणा गरेका हुन् ।

‘छोराछोरीको उमेर २० वर्ष पुगेपछि मात्र उनीहरूको विवाह गर्नुहोस्, नगरपालिका कार्यालयले ५० हजार नगद प्रोत्साहन रकम दिनेछ’, नगरप्रमुख क्षत्रीले भने, ‘यसले तपाईंहरूको स्वास्थ्य र परिवार राम्रो बन्ने छ ।’ यो कार्यक्रम नगरक्षेत्रका सबै मुसहर समुदायमा लागू हुने क्षेत्रीले स्पष्ट पारे ।

नगरक्षेत्रभित्रका स्थायीबासी मुसहर पुरुष महिला दुवैलाई यो रकम उपलब्ध गराइने क्षत्रीको भनाइ छ । सानै उमेरमा विवाह गरी बच्चा जन्माउँदा मुसहर महिलाको स्वास्थ्यमा समस्या बढ्दै गएको क्षेत्रीले बताए । २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था भए पनि मुसहर बस्तीमा बालविवाह भने यथावत नै छ ।
१८ देखि ६९ वर्ष उमेर समूहका मुसहरहरूको तीन वर्षे लघुजीवन बिमाबापत् रकम बर्दिबास नगरपालिकाले एकमुष्ठ १ लाख १९ हजार ३ सय ४५ जम्मा गरेको हो । बिमा ‘लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स’ लिमिटेड बर्दिबास शाखामा गरिएको छ ।

नगरप्रमुख क्षेत्रीसहित बिमा कम्पनीका अधिकृत बस्तीमै पुगेर लघुजीवन बिमा गराइएको हो । गरिबी, अशिक्षा र सबैखाले अवसरबाट वञ्चित मुसहरलाई भैपरी आउने दुर्घटनामा राहत होस् भन्ने उद्देश्यले लघुजीवन बिमा गराइएको जनाइएको छ । बिमितले तीन वर्षपछि भवितव्य पर्दा एक लाख नगद पाउने लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका शाखा प्रमुख रवीन्द्रकुमार मिश्रले जानकारी दिए ।
नगरपालिकाले बिमा गरिदिँदा स्थानीय सरकारबाट सहयोग पाइने आशा जागेको बस्तीकी ५८ वर्षीया मानकी सदाले बताइन् । सोही बस्तीका ६६ वर्षीय सुकेश्वर सदा र २२ वर्षीया निशा सदाले लघुजीवन बिमा गरिदिएकोमा खुसी व्यक्त गरे ।
मुसहर बस्तीकी ५७ वर्षीया रजिया सदाले आफ्ना नातिनातिनालाई २० वर्ष उमेर कटाएर मात्र बिहे गर्न सल्लाह दिने बताइन् । बर्दिबास–१४ को नमुना मुसहर बस्ती धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएर ५२ मुसहर परिवारलाई २०७४ वैशाख १ गते हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया