होलीलाई सभ्यरूपमा मनाउन सर्लाही प्रशासनको आग्रह

लालबन्दी । जिल्ला प्रशासन कार्यालय सर्लाहीले अर्कालाई मर्का नपर्नेगरी होली पर्व मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एक सूचना जारी गरी कोही कसैलाई बाधा र अवरोध नपुग्ने गरी शिष्ट ढंगबाट होली मनाउन आग्रह गरेका हुन् । जारी सूचनामा चाडपर्व मनाउने नाममा कसैको इच्छा विपरीत रंग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रंग लगाउने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने एवं मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने, जिस्काउने, सार्वजनिक स्थानमा हो–हल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउने जस्ता अवाञ्छित क्रियाकलाप नगर्न आग्रह गरिएको छ ।

साथै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई पर्व मनाउन पनि आग्रह गरिएको छ । कोही कसैले अवाञ्छित गतिविधि र क्रियाकलापहरू गरे÷गराइएको पाइएमा त्यस्ता व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी धमलाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । होलीलाई शान्तिपूर्ण बनाउन सर्लाही प्रहरीले सुरक्षा योजना लागू गरी अघि बढेको बताएको छ । यस वर्ष पहाडमा चैत ११ गते र तराईमा १२ गते होली पर्व मनाइँदै छ ।

प्रतिक्रिया