मेलम्चीको हेडवर्क्स सार्ने तयारी

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी बाह्रै महिना वितरण गर्ने गरी अध्ययन सुरु गरेको छ । जसअनुसार सिन्धुपाल्चोकको हेलम्बुस्थित आयोजनाको ‘हेडवर्क्स’ सार्ने तयारीमा सरकार जुटेको छ ।

वर्षायाममा आउने बाढीबाट आयोजनाको हेडवक्र्स जोगाउन मुस्किल हुने भएपछि आयोजना नै बन्द हुने अहिलेको समस्या समाधानका लागि हेडवक्र्स स्थानान्तरण आवश्यक भएको मेलम्ची खानेपानी विकास समितिको भनाइ छ । हाल सोही समस्याका कारण आयोजना हिउँदमा सञ्चालन हुने र वर्षामा बन्द गर्नुपर्ने अवस्था छ ।

समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना उपत्यकाबासीको धारामा पानी वितरण गर्न हेडवक्र्स नै स्थानान्तरणको विकल्प नभएको बताए । उनले आयोजना निर्माणका क्रममा विगतमा भएका गल्ती–कमजोरीलाई सच्याउँदै आयोजनालाई स्थायित्व दिन छलफल चलिरहेको बताए ।

मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले विभिन्न अध्ययनबाट अब हेडवक्र्सको संरचना निर्माणस्थल नै सारेर त्यसभन्दा माथि सुरक्षित स्थानमा लैजान आवश्यक देखिएको बताए ।

गत साउन २८ र २९ गते आएको बाढीका कारण पहिलेको अस्थायी संरचनामा क्षति हुँदा मेलम्चीको पानी नै बन्द गर्नुपरेको थियो । ‘हेडवक्र्स बनाउन २१० मिटरको सानो सुरुङ बनाएका थियौँ, २ वर्षअघिको बाढीपछि त्यही सानो सुरुङ प्रयोग गरेर अस्थायी संरचनामार्फत् पानी मुख्य सुरुङमा पठाउने गरिएको थियो,’ पन्तले भने, ‘तर, गत साउनको बाढीका कारण अस्थायी संरचनामा फेरि समस्या आयो, अनि आयोजना स्थायी बनाउन हेडवक्र्स अन्यत्रै बनाउनुको विकल्प छैन ।’

उनले हेडवक्र्स स्थानान्तरण नगर्ने हो भने पटक–पटक आयोजनामा समस्या आउन सक्ने र उपभोक्ता खानेपानीको पहुँचबाट टाढा रहनुपने बताए । उपत्यकामा बढ्दो जनसंख्याको चापसँगै खानेपानीको मागअनुसार आपूर्ति व्यवस्थापन सहज हुन सकिरहेको छैन । हाल मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति भइरहेको छ । आयोजनाले आगामी दिनमा दैनिक ३४ करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्य लिएको छ ।
भूगर्भविद्ले मेलम्चीको भौगर्भिक अवस्थाबारे राम्रो अध्ययन नहुँदा मेलम्ची आयोजनामा समस्या भएको बताउँदै आएका छन् । भूगर्भविद् डा. सुबोध ढकालले आयोजना निर्माणअघि भूगर्भको अध्ययन राम्रो नहुँदा आयोजनामा समस्या आइरहेको बताए ।

प्रतिक्रिया