गाउँमात्रै होइन, रित्तिँदै छ सहर पनि !

काठमाडौं । बसाइँसराइको चपेटामा परेर नेपालका अधिकांश गाउँ उजाड र बन्जर बन्दै गएका छन् । सुख र सुविधाको खोजी गर्दै गाउँ छाडेर सहर पस्नेको लहर चलेपछि गाउँका घर–गोठ खण्डहर बनेका छन् । खेतीयोग्य हजारौँ बिघा÷रोपनी जग्गा झाडीले छोपिएका छन् ।

गाउँ रित्तिँदै गर्दा सहरमा जनसंख्या बढ्दो छ । गाउँका घर बस्ने मान्छे नभएर भूतबंगला बनेका छन् भने सहरमा मान्छेले बस्ने घर पाएका छैनन् । गाउँको सफा सुन्दर वातावरण, खानेपानीको सुविधा, खेतीयोग्य जमिन हुँदाहुँदै पनि यातायात, शिक्षा, स्वास्थ्य र रोजगारीको खोजीमा सहर पस्दा गाउँ रित्तो बन्दै गएको हो । गाउँमा भएकाहरू पनि वृद्धवृद्धा, महिला र बालबालिका मात्रै छन् ।
गाउँ रित्तिने क्रम अहिलेको भने होइन । माओवादी युद्ध सुरु भएपछि सुरु भएको यो क्रम पछिल्लो समय झन् तीव्र बन्दै गयो । तर, अब गाउँमात्रै होइन, सहर पनि रित्तिने क्रम सुरु भइसकेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेका विभिन्न ४ वटा प्रतिवेदनले यसैतर्फ संकेत गरेको छ । तथ्यांक कार्यालयले नेपालको जनसंख्या, घर तथा परिवारको अवस्था, अपांगता र राष्ट्रिय जनगणना २०७८ र सञ्चारमाध्यम प्रतिवेदन सार्वजनिक गरेको हो ।
सार्वजनिक तथ्यांकअनुसार नेपालमा ६६ लाख ६० हजार ८४९ परिवार बसोबास गर्ने उल्लेछ छ । जसमध्ये १३ दशमलव ४ प्रतिशत परिवारको कम्तीमा १ सदस्य देशभित्रै अन्य कुनै ठाउँमा रोजगारी वा व्यवसायमा संलग्न रही बसोबास गरिरहेका छन् । यो भनेको ८ लाख ९२ लाख परिवारका कुनै न कुनै सदस्य घरबाहिर छन् ।

त्यसको तुलनामा देश छाडेर बिदेसिनेको संख्या अझ डरलाग्दो छ । नेपालमा परिवार संख्याको २३ दशमलव ४ प्रतिशत अर्थात् १५ लाख ५८ हजार परिवारबाट कम्तीमा एक जना रोजगारी, शिक्षा वा व्यवसायका लागि देशबाहिर पुगेका छन् । यसले पनि नेपालको रोजगारी र शिक्षाको दुरवस्था कस्तो छ भन्ने देखाउँछ ।

आर्थिक सक्रियतामा अब्बल कर्णाली !
देशका ७ प्रदेशमध्ये आर्थिक रूपमा सक्रिय जनसंख्याको तुलना गर्दा सबैले उपेक्षा गर्ने गरेको कर्णाली प्रदेश अब्बल देखिएको छ । विकटता र पछि पारिएको क्षेत्रका रूपमा चर्चा गर्ने गरिएको कर्णालीको ७२ प्रतिशत जनसंख्या आर्थिक रूपमा सक्रिय देखिएको हो ।
देशको कुल जनसंख्याको १० वर्षभन्दा माथिको उमेर समूहको करिब दुई तिहाइ अर्थात् ६५ दशमलव ६ प्रतिशत आर्थिक रूपमा सक्रिय रहँदा पुरुषको अनुपात ७१ प्रतिशत र महिलाको अनुपात ६० दशमलव ४ प्रतिशत देखिएको छ ।
कर्णालीपछि दोस्रो स्थानमा रहेको कोसी प्रदेशको जनसंख्याको ७१ दशमलव १ प्रतिशत आर्थिक रूपमा सक्रिय छन् । आर्थिक रूपमा सबैभन्दा कम सक्रिय मधेस प्रदेश देखिएको छ । यहाँको ५७ दशमलव ३ प्रतिशत जनसंख्या मात्रै सक्रिय रहेको पाइएको छ ।

८६ प्रतिशतको आफ्नै घर

सार्वजनिक प्रतिवेदनअनुसार देशका ८६ प्रतिशत परिवार आफ्नै घरमा बसोबास गरिरहेका छन् । १२ दशमलव ८ प्रतिशत परिवार भाडाको घरमा बस्दा करिब १ प्रतिशत सरकारी भवन, संस्थागत कार्यालय वा अन्य आवासीय एकाइमा बसिरहेको तथ्यांकले देखाउँछ ।

सहरी क्षेत्रमा बसोबास गर्नेमध्ये ८९ दशमलव ५ प्रतिशत परिवार पक्की घरमा बस्छन् भने करिब ८ प्रतिशत अर्धपक्की घरमा बसोबास गर्छन् । पक्की घरमा बस्ने परिवार पनि सहरोन्मुख क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी देखिएका छन् । सहरोन्मुख क्षेत्रमा ६२ दशमलव ९ प्रतिशत र ग्रामीण क्षेत्रमा ७९ दशमलव ८ प्रतिशत रहेको तथ्यांक छ ।

महिलाका नाममा घरजग्गा बढ्यो

विगतका ३ वटा जनगणना विश्लेषण गर्दा हरेक १० वर्षमा महिलाको नाममा घरजग्गा दर्ता गर्ने क्रम बढेको पाइएको छ । यस्तै, महिला घरमूली भएका परिवारको संख्या पनि हरेक जनगणनामा बढ्दै गएको पाइएको छ । २०५८ सालको जनगणनाअनुसार करिब १५ प्रतिशत परिवारको मूली महिला रहेकामा २०६८ सालमा एक चौथाइभन्दा माथि अर्थात् २५ दशमलव ७ र २०७८ सालमा करिब १ तिहाइ अर्थात् ३१ दशमलव ५ प्रतिशत घरमूली महिला छन् ।
यस्तै, २०५८ सालमा आफ्नो नाममा घरको स्वामित्व भएका महिलाको संख्या १ प्रतिशतभन्दा पनि कम अर्थात शून्य दशमलव ९ प्रतिशत रहेकामा २०७८ सालमा आइपुग्दा २ दशमलव ३ प्रतिशत महिलाको स्वामित्वमा घरजग्गा रहेको देखिएको छ । करिब ३ चौथाइ अर्थात् ७४ दशमलव ६ प्रतिशत परिवारमा महिलाको नाममा घरजग्गा छैन ।

६१ प्रतिशत परिवार बैंकवित्तको पहुँचमा

नेपालका कुल परिवार संख्यामध्ये ६१ दशमलव ४ प्रतिशत परिवारमा कम्तीमा एक जनाको नाममा बैंक खाता रहेको तथ्यांक छ भने २५ दशमलव ६ प्रतिशत जनसंख्याको भने कुनै बैंक वा वित्तीय संस्थामा खाता छैन । कुल जनसंख्याको २५ दशमलव ६ प्रतिशत परिवारले बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएका छन् ।

दाउराकै भरमा ५१ प्रतिशत जनसंख्या

सार्वजनिक विवरणअनुसार नेपालमा अझै पनि खाना पकाउन जंगलकै भर पर्नुपर्नेको संख्या धेरै बढी छ । अर्थात् अहिले पनि ५१ प्रतिशत परिवारले खाना पकाउने मुख्य इन्धनका रूपमा दाउराकै प्रयोग गरिरहेको तथ्यांक छ । ४४ दशमलव ३ प्रतिशत परिवारले एलपी ग्यासमा खाना पकाउने गरेका छन् ।

दाउरामा खाना पकाउनेमा कर्णाली प्रदेशको जनसंख्या अत्यधिक छ । यहाँका ८२ दशमलव २ प्रतिशत परिवार अहिले पनि दाउराकै भरमा छन् । यस्तै, सुदूरपश्चिम प्रदेशमा ७० दशमलव ३ प्रतिशत र मधेस प्रदेशमा ५८ दशमलव ६ प्रतिशत दाउरा वा गुइँठा प्रयोग गरी खाना बनाउने गरेको देखिन्छ । मधेसका १० प्रतिशतभन्दा बढी परिवार अहिले पनि गुइँठा (गाईभैँसीको गोबरबाट बनाइने दाउरा) कै भरमा रहेको पाइएको हो ।

प्रतिक्रिया